सात समुद्र पारी मिथिला महोत्सव

सात समुद्र पारी मिथिला महोत्सव

मिथिलाको चित्र सबै तान्त्रिक प्रतीकसित परिपूर्ण छ। ती सबै जीवनको तान्त्रिक धारणाको प्रतिनिधित्व गर्छ। मिथिला लोकचित्रहरू सबैमा चित्रण गरिएको सर्वाधिक जनप्रिय तीनवटा वस्तु छन्– कोबर, अरिपन र पौराणिक कथा।

अमेरिकाको न्युयोर्क सिटीका मेयरले अप्रिल १५ लाई मिथिला संस्कृति तथा पर्व दिवस घोषणा गर्नु मिथिलाको भाषा संस्कृतिको ठूलो उपलब्धि हो। मिथिला सम्पदा मूल नारासहित १५ अप्रिलमा मिथिला महोत्सवको उद्घाटनको अवसरमा न्युयोर्क सिटीका मेयर एरिक आडम्सले १५ लाई मिथिला संस्कृति तथा पर्व दिवस घोषणा गर्नु धेरै महत्त्वपूर्ण मानिएको छ। मिथिला सेन्टर अमेरिकाले ज्याक्सन हाइटसमा वार्षिकोत्सव उत्सव आयोजना गर्दा नेपाली र भारतीय न्युयोर्कवासीसँग सामेल हुन पाउँदा खुसी लागेको उनको भनाइ छ।

हिमालयको यस क्षेत्रले प्राचीन नेपाली र भारतीय परम्परालाई महाकाव्य रामायण र अन्य हिन्दू साहित्यको ज्ञान र कथाहरूसँग जोडेको तथा विशेषगरी कला र चित्रकलाको शताब्दी पुरानो परम्पराका लागि परिचित रहेको घोषणामा जनाइएको छ। यो वर्षको महोत्सवले संयुक्त राष्ट्रसंघको १७ दिगो विकास लक्ष्यमध्येको पाँचौ लैंगिक समानताको मर्ममा केन्द्रित रहेको र यसमा मिथिला महिलाका कलाकृति प्रस्तुत हुने मेयरको घोषणामा उल्लेख छ। महोत्सवका क्रममा अप्रिल १५ शनिबार ९ कलाकारको कला प्रदर्शनी गरिने भएको छ। जसमा भगवती सिंह, पूजा सिंह, शैलो यादव, शैली झा शिभंगी सिंह, श्यामसुन्दर यादव, सुमित्रा यादव, सुनैना कर्ण र उषा कर्ण छन्।

प्रदर्शनीका लागि नेपाल, भारत र अमेरिकामा रहेका कलाकारको कलाकृति छनोट गरिएको थियो। मिथिला सेन्टर अमेरिकाको संस्थापक अध्यक्ष र मिथिला महोत्सव अमेरिकाका आयोजक अमितप्रसाद शाहले जानकारी दिए। अधिकांश महिला सहभागी कलाकार दुर्गम ग्रामीण क्षेत्रबाट रहेको र यस वर्ष महिला उद्यमशीलतालाई प्रवद्र्धन र आर्थिक सहयोग गर्नु उद्देश्य रहेको छ। मिथिला सेन्टर र अप्पन फाउन्डेसन यूएसएबाट आयोजित मिथिला महोत्सव अमेरिका २०२३ मा मिथिला कला र संस्कृतिको प्रवद्र्धन र प्रदर्शन गर्नुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यको कार्यान्वयन गर्ने निरन्तर प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

प्रथम मिथिला महोत्सव सन् २०१९ न्युयोर्र्कमा चित्रकला प्रदर्शनी भयो। जुन राष्ट्रसंघको दिगो विकास हासिल गर्ने सन्दर्भमा समेत मिथिला सम्पदाबाट हुन सक्ने योगदानबारे सामुदायिक चेतना बढाउन सहयोग पुग्ने आयोजकको विश्वास छ। दक्षिण एसियामा मिथिला संस्कृतिले विशेष संस्कृतिको पहिचान बनाएको छ। रामायण र अन्य हिन्दू साहित्यमा वर्णन गरिएझैं प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो। देवी सीता र भगवान् रामको जीवनगाथाले यस संस्कृतिमा विशेष महत्त्व बोकेको छ। हजारौं वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीताको विवाह अयोध्याका राजकुमार भगवान् रामका साथ भएको थियो। मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो किनकि नेपाल र भारत एवं अन्य देशमा बस्ने मिथिला समुदायका व्यक्तिले संस्कृतिको मूल्य र मान्यतालाई दैनिक जीवन र व्यवहारमा अँगालेका छन्। यस प्रकारले यस समुदायले धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्धशाली बनाउन योगदान गर्दै आएको र मानवता, मित्रता, शान्ति र समृद्धिको मूल्य मान्यताको सम्बद्र्धन गरेको छ। अमेरिकाको न्युयोर्क र न्युजर्सीलगायत विभिन्न राज्यमा समेत हजारौंको संख्यामा मिथिला समुदायका व्यक्ति दशकौंदेखि बस्दै आएका छन्।

मिथिला कला संसारभरमा प्रख्यात छ। महिला कलाकारहरूको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्न रूपमा शताब्दीयौंदेखि अस्तित्वमा छ। घरको भित्तामा बनाइने चित्रकलाका लागि महिला कलाकार प्रख्यात छन्। सोसम्बन्धी ज्ञान उनीहरूबाटै नयाँ पिँढीमा हस्तान्तरण हुँदै आएको छ। मिथिला कलाले पौराणिक र धार्मिक विषयहरूका अतिरिक्त सामाजिक टिप्पणी र सजावट सम्बन्धमा पनि प्रस्तुत गर्छ। मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रूपमा हाल मान्यता दिइएको छ। महिला वा पुरुष कलाकारले बनाएका कागजका तैलीय चित्रहरू माटोका भित्तामा बनाइएका चित्रजस्तै छन्। विश्वका विभिन्न आर्ट ग्यालरीमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ। यसबाट ग्रामीण समुदायका महिलाका लागि आयआर्जनको स्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने सम्भावना बढेको छ।

मिथिला लोककलाको उद्गम तथा विकास सर्वविदित तथा सर्वमान्य सिद्धान्तअनुसार सबै लोककला कला हो तर सबै कला लोककला होइन। आंग्ल भाषामा यस्तो भनिएको पाइन्छः ‘अल फल्क आर्टस् आर नट आर्टस् बट अल आर्टस् आर नट फल्क आर्टस्।’ मिथिला लोककला अत्यन्त प्राचीन कलाको रूपमा विशेष परिचय स्थापित गरिसकेको सन्दर्भमा यसको व्यावहारिक प्रयोगको तिथिमिति तोकिएको छैन। यो अति प्राचीन कला मानिन्छ। मिथिलाका लोकप्रिय राजा राजर्षि जनक या याज्ञवल्क्यको समयदेखि नै मिथिलामा अरिपनको परम्परा प्रचलित छ। यसको साथै भित्ती चित्रकला कोहबर पनि उत्तिनै प्राचीनकालीन कलाको रूपमा प्रयुक्त भएको पाइन्छ।

कर्णाटवंशीय शासनकाल (एघारौं शताब्दी)मा मिथिलाका लागि पूर्ण जागरणकाल मानिन्छ। जसमा गृहकला या साजशृंगारका लागि विस्तृतकाल खण्डमा अरिपन र कोहबरको परम्परा तन्त्र साधनामा आधारित भएर पुनर्जीवित भएको कारणले कर्णाटवंशीय शासनकालको अविस्मरणीय अवदानको रूपमा आदृत मनिएको छ। तान्त्रिक लोकपरम्पराबारे महाकवि कालीदासका प्रसिद्ध महान् महाकाव्य मेघदूतमा यक्षको कोबर घरको मूल प्रवेशद्वारको भित्तामा कमल र शंख चित्रहरूको वर्णन पाइन्छ। यस्तै लोककला ग्रह बर्माको कोहबरमा विभिन्न देवीदेवताको अतिरिक्त कामदेवको चित्रांकनको चित्ताकर्षक वर्णनबाट यसको प्रामाणिकता एवं प्राचीनता प्रष्टिन्छ। कोहबरको सम्पूर्ण विधिविधानसित सम्बन्धित पृष्ठभूमि तन्त्रमा आधारित छ।

कोहबरको तान्त्रिक पृष्ठभूमिको भित्री निहितार्थ अर्थ नवविवाहित वर–वधूको दाम्पत्य जीवनका सबै प्रकारको अनिष्टको निवारणार्थ मंगल कामना गरिएको पाइन्छ। सम्पूर्ण मिथिलाञ्चलमा विभिन्न सांस्कृतिक शुभ अवसरहरूमा अरिपन दिने परम्परासित यसको लोकजीवनमा शक्तिपूजाको तान्त्रिक लोकप्रियतालाई प्रतिविम्बित गरिएको पाइन्छ। वैदिककालमा याज्ञिक अनुष्ठानद्वारा धर्मको साथमा यसको अन्तरसम्बन्ध जोडेर तन्त्रको माध्यमसँग मानव, यन्त्र, बम्ह र माया (प्रकृति)को रहस्योद्घाटन गर्ने जीवनको कल्याणकारी प्रयोजनमा उपयोग गरिने आधारमा विकसित भएको पाइन्छ। मिथिलाञ्चलमा विद्यमान परम्पराअनुसार विविध शुभअवसरमा चित्रित गर्ने अरिपनको अदिस्रोत सर्वतोभद्र मुख्यतः वैदिक यज्ञ परम्पराको द्योतक छ। अरिपनमा भूमिपूजाको रूपमा तान्त्रिक सांकेतिक सर्वाधिक महत्त्वपूर्ण चित्र मानिन्छ। यसमा पिठार चामलको पिठो र सिन्दूरको समिश्रणबाट चित्र अंकित गरिन्छ।

अरिपनको शाब्दिक अर्थमा पिठार वीर्यको प्रतीक र सिन्दूर रजको प्रतीक मानिन्छ। डा. शैलेन्द्रनारायण मल्लका अनुसार पारस्पारिक संस्कार गीतमा गुआपानको उल्लेख पाइन्छ। गुआपान शब्द संस्कृतको गुवाक पर्णसित बनेको छ। गुवाकको अर्थ लामो सुपारी हुन्छ। यो पुरुष जननेन्द्रिय (लिंग)को प्रतीक हुन्छ। पर्यापत्र (पानको पात) नारी जननेन्द्रियको प्रतीक हुन्छ। चूर्ण (चून) वीर्यको प्रतीक र कत्था रजको प्रतीक मानिन्छ। शैव, शाक्त र वैष्णव धर्म तन्त्रमा अरिपनको विविध आकार एवं रूप पाइन्छ। अरिपन, धर्म, अर्थ, काम, मोक्ष, कल्याण र शान्ति सिद्धिका लागि देवी देवताको श्रद्धाभावपूर्वक आह्वान गरेर पूजा आराधना गर्न भूमिमा रेखांकित एक प्रकारको तान्त्रिक आसन हुन्छ।

तान्त्रिक अभिप्रायको अभिव्यक्त अर्थ यथा सर्वतोभद्र, स्वस्तिक, अष्टदल र षष्टदल आदिमा पाइन्छ। यो अनेक यन्त्र सममा त्रिकोण, षटकोण, श्रीयन्त्रको अंकन महत्त्वपूर्ण मानिन्छ। यद्यपि अरिपन शास्त्रोक्त क्रियापद्धति एवं घरायसी धार्मिक उत्सवका लागि पवित्र स्थानको प्रतिनिधित्व गर्ने जादुयी वृत्तको प्रतिनिधित्व गर्छ। यसबाट नियमबद्ध संसारको प्रतिनिधित्वमात्र होइन, चित्रसवमा प्रयुक्त प्रतीक तन्त्रको सांसारिक विचारधाराको प्रतिनिधित्व गर्छ।

तान्त्रिक विश्वास, आस्था र मूल्यमान्यताको कारणबाट मिथिलाका प्रचलित अरिपन सबमा गुढ अर्थ निहित हुन्छ। सम्भवतः यसै कारणले ब्राह्मण कायस्थका महिलाहरू अरिपनको अभावमा कुनै अनुष्ठान गर्दैनन्। आफ्नो पुस्तक ‘आर्ट अफ नेपाल’मा लिडिया आरेनले उल्लेख गरेकी छन्। मिथिलाको चित्र सबै तान्त्रिक प्रतीकसित परिपूर्ण छ। ती सबै जीवनको तान्त्रिक धारणाको प्रतिनिधित्व गर्छ। मिथिला लोकचित्रहरू सबैमा चित्रण गरिएको सर्वाधिक जनप्रिय तीनवटा वस्तु छन्। कोबर, अरिपन र पौराणिक कथामा आधारित दृश्यहरू कोहबर अर्थात् योनी अथवा भगमा प्रवेशोन्मुख लिंगमाथि केन्द्रित चित्र दोस्रो अरिपन अर्थात् कर्मकाण्ड तथा घरायसी धार्मिक क्रियाकलापद्वारा सम्पन्न गर्न जादुुबाट पवित्र वा छुट्ट्याइएको स्थल देखाउने जादुमयी वृत्ताकार (मण्डला) जुन ब्रह्माण्डको चित्रण गर्छ।

चित्रहरूमा प्रयुक्त प्रतीक चिह्न शिव तन्त्रशास्त्रअनुसार ब्रह्माण्डको अवधारणा दृष्टिगोचर हुन्छ। तेस्रो पौराणिक सबै दृश्य जसमा प्रायः कालो र लाल रङको प्रयोग हुन्छ। संक्षेपमा धेरै वर्णन गर्ने दृश्य सबको आफ्नो विशिष्ट विषयवस्तु प्रतीकात्मक अर्थ हुन्छ। यी सबै प्रकारका चित्रमा कोहवरको स्थान मिथिला संस्कृतिमा अति विशिष्ट मानिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.