कालिकोट कांग्रेसले दुई वर्ष संगठन सुदृढीकरण अभियान चलाउने
वीरेन्द्रनगर : नेपाली कांग्रेस कालिकोटले दुई वर्ष संगठन सुदृढीकरण अभियान चलाउने भएको छ।
शनिबार कांग्रेसको सातौँ जिल्ला अधिवेशन पछिको प्रथम जिल्ला सम्मेलन गर्दै २०८० देखि २०८२ सालसम्म दुई वर्षे संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो।
कालिकोटमा कांग्रेसले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादीको धम्की, २०७० मा पार्टी भित्रको कलह, २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका कारण निरन्तर संसदीय निर्वाचनमा पराजय भोग्दै आएको भन्दै आगामी २०८४ सालको आम निर्वाचनमा कुनै दलसँग पनि गठबन्धन नगर्ने र एक्लै जनताको विश्वास जित्ने अभियान चलाउने नेपाली कांग्रेस कालिकोटका सभापति अम्मबहादुर शाहीले बताए।
उनले भने, 'नेपाली कांग्रेस प्रति जनताको विश्वास धेरै भए पनि पार्टी भित्रकै गुटउपगुट र अन्य कलहका कारण निर्वाचनमा नतिजा हासिल नहुने गरेको अवस्था छ। यसलाई अब बृहत् एकता र बलियो पार्टी निर्माणको अभियान चलाउछौँ।'
नेपाली कांग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री उपेन्द्र थापाले पार्टी बलियो नबनाई जनताका सवाल सम्बोधन गर्ने स्थानमा पुग्न नसकिने भन्दै एकताबद्ध भएर पार्टीको संगठन निर्माण अभियान चलाइनुपर्ने बताए। उनले भने, 'कांग्रेस नेपालको जिम्मेवार र दरिलो शक्ति हो। यसलाई कमजोर बनाउन अरू कसैले पनि सक्दैनन्। पार्टी भित्रका सबै पक्षहरू एक भएर अगाडी बढ्नुपर्छ। हरेक निर्वाचनमा हामी विजय हासिल गर्छौँ।'
उनले कर्णाली प्रदेश कार्यसमितिले जनतासँग कांग्रेसलाई जोड्ने विभिन्न अभियानहरू चलाइरहेको बताउँदै त्यो अभियानलाई तत्लो तहका पार्टीका संरचनाहरूले पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !