एमाले उपत्यका विशेष प्रदेश कमिटीको पहिलो अधिवेशन असोजमा
काठमाडौं : नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको पहिलो अधिवेशन आगामी असोज ११ र १२ गते गर्ने भएको छ। उपत्यका विशेष प्रदेश कमिटीको दशौं पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो।
बैठकले अधिवेशन तयारीका लागि अध्यक्ष प्रेम कुमार पराजुलीको संयोजकत्वमा राजनीतिक सांगठनिक प्रतिवेदन लेखन समिति र प्रतिनिधि निर्धारण तथा व्यवस्थापन समिति गठन गरेको छ । उपसचिव चन्द्र रिजालको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, उपसचिव उर्मिला सुनुवारको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति र उपाध्यक्ष विदुर कार्कीको संयोजकत्वमा स्वयंसेवक तथा हल व्यवस्थापन उपसमिति गठन गरेको छ ।
बैठकमा इन्चार्ज सुजिता शाक्यले अन्तरपार्टी निर्देशन– ७ मा उल्लेख भए अनुसार प्रदेशका नेता कार्यकर्ताहरूलाई आ–आफ्नो जिम्मेवारी अनुसार कार्यक्षेत्रमा सक्रियता साथ लाग्न आग्रह गरिन्।
बैठकले पार्टी केन्द्रको निर्देशानुसार मातहत जिल्लाद्वारा प्रस्तुत नवीकृत र नयाँ सदस्यहरूको सूची अनुमोदन गरेको छ।
प्रतिक्रिया दिनुहोस !