जिल्ला अस्पताल स्याङ्जामा मेसु नहुँदा समस्या
स्याङ्जा : जिल्ला अस्पताल स्याङ्जामा मेडिकल सुपरिटेन्डेन्ट (मेसु)नहुँदा समस्या सिर्जना भएको छ।
अस्पताल मेसुविहीन भएको १० महिना भयो। गएको कात्तिकमै मेडिकल सुपरिटेन्डेन्ट डा.रमेश आचार्यको लमजुङ सरुवा भएपछि अस्पताल प्रमुखविहीन बनेको हो। अहिले वरिष्ठ स्टाफ नर्स कृष्ण कार्कीले निमित्त प्रमुखका रूपमा काम गरिरहेकी छन्। ‘वर्ष दिन पुग्न लाग्दासम्म अस्पतालले प्रमुख नपठाउँदा यहाँबाट उपलब्ध सेवा सुविधा र अस्पताल व्यवस्थापनमा समेत नराम्ररी प्रभाव परेको छ’अस्पताल विकास समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले भने।
अस्पताल प्रमुख र ३ जना मेडिकल अफिसरसहित २५ जनाको स्थायी दरबन्दी हो। प्रदेश र अस्पताल व्यवस्थापन समितिसहित गरी यहाँ ७८ जना कार्यरत रहेकोमा असार मसान्तसँगै प्रदेश अन्तर्गतका १६ जना करारमा सेवारत कर्मचारीको समेत म्याद सकिएको छ। अहिले अस्पताल प्रमुखसहित १७ जना स्वास्थ्यकर्मीविहीन बनेको छ।
पुतलीबजार नगरपालिका ३ अर्थात जिल्ला सदरमुकाम नजिक रहेको अस्पतालले पछिल्लो समय गुणस्तरीय सेवा उपलब्ध गराएको छ। बहिरंग, शल्यक्रिया, मृर्गौला डायलायसिस, मातृशिशु तथा प्रसूति सेवा, आँखा, दाँत, भिडियो एक्सरे अर्थात् रेडियोलोजी, स्वास्थ्य बिमा, अपांगता सहायता कक्ष र एकद्वार संकट व्यवस्थापन र चौविसै घण्टा आकस्मिक सुविधा लगायतका सेवा उपलब्ध गराउँदै आएको निमित्त प्रमुख कृष्ण कार्कीले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस !