मकवानपुरमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ।
प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले हेटौंडा उपमहानगरपालिका वडा नं.५ निवासी गिरिजाप्रसाद अधिकारीलाई आज राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी वितरण कार्यको सुरुवात गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ३७ हजार ८ सय ९१ थान राष्ट्रिय परिचयपत्र तयार भई आएको र त्यसलाई हरेक दिन ५० देखि १०० थानका दरले वितरण गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी सेढाईंले जानकारी दिए।
कार्यालयले व्यक्तिलाई राष्ट्रिय परिचयपत्रको फोटो खिँचाउँदाका बेला उपलब्ध गराएको सम्पर्क नम्बरमा म्यासेज पठाउने छ। म्यासेज प्राप्त भएका सेवाग्राहीले आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रको फोटो खिचाएपछि दिएको विवरण कागज लिई आउनुपर्ने जनाइएको छ।
प्रजिअ सेढाईंले राष्ट्रिय परिचयपत्रकै आधारमा भोलिका दिनमा सेवाग्राहीको काम सहज हुने बताए। अहिले राहदानी बनाउन, बैंक खाता खोल्न यसको आवश्यकता पर्ने र भोलिका दिनमा यसैगरी सबै काममा यो परिचयपत्र अनिवार्य हुने उनको भनाई छ। विवरणहरु क्रमशः यसैमा समावेश गर्दै लैजाने र पछि सबै सेवा प्राप्त गर्न अनिवार्य हुने अवस्था बन्ने भन्दै उनले सबैलाई राष्ट्रिय परिचयपत्र लिन अनुरोध गरे।