मनसुनी वर्षा सुस्त : मुलुकभर ६८ प्रतिशत रोपाइँ

मनसुनी वर्षा सुस्त : मुलुकभर ६८ प्रतिशत रोपाइँ
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारीरुपमा भएको छैन ।
     
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार कृषि विभागको यही साउन ५ गतेसम्मको तथ्याङ्कअनुसार मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । विसं २०७९ साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत वर्षको भन्दा यस वर्ष सो अवधिमा २० प्रतिशत कम रोपाइँ भएको देखिन्छ । विशेषगरी मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन ढिला सुरु भएका कारण धान रोपाइँ कम भएको विभागले उल्लेख गरेको छ ।

     
जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । यही कारणले तुलनात्मकरुपमा कम वर्षा भएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बताए। 'अहिले मनसुन ब्रेकको अवस्था छ, वर्षाका क्रममा केही कमी आएको छ, वर्षा नै नहुने भन्ने त हैन तर, विगतका दिनको तुलनामा कम वर्षा हुने देखिन्छ', उनले भने। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकोभन्दा दक्षिणतिर रहेकाले वर्षा कम भएको उनको भनाइ छ । 

महाशाखाकै अर्का मौसमविद् रोजन लामिछानेले पनि मनसुनी वर्षा पर्याप्त नहुँदा धान रोप्न किसानलाई समस्या भएको उल्लेख गरे। 'मनसुन वर्षा सरदर भन्दा केही कमजोर देखिएको छ । हरेक वर्ष मनसुनको एउटै ‘प्याट्रन’ हुदैन । तर, यो वर्ष मनसुन केही कमजोर देखिएको छ, अझै दुई-तीन दिन वर्षा राम्ररी हुने अवस्था देखिँदैन', उनले भने।
     
मनसुन कमजोर रहे पनि खण्डितरुपमा मुलुकभर वर्षा भइरहेको मौसमविद् लामिछानेको भनाइ छ ।  कृषि विभागको विवरणमा कर्णाली प्रदेशमा विशेषगरि लम्पी स्कीन रोगका कारण गोरुको अभाव भई रोपाइँ थोरै प्रभावित भएको जानकारीमा आएको विभागले जनाएको छ ।
     
सुदूरपश्चिम प्रदेशमा रोपाइँ करिब सकिएको छ । विस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा र लम्पी स्कीन रोगको प्रभाव कम हुँदै जाँच्दा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै जाने विभागको अपेक्षा छ । मध्यतराईमा साउन मसान्तसम्म नै रोपाइँ हुने गरेका सन्दर्भमा साउन मसान्तसम्ममा ९० देखि ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको विभागले उल्लेख गरेको छ ।
 
मनसुनी वर्षा ३७ प्रतिशत मात्रै

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार जारी मनसुनमा हालसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ । शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार जुन १ देखि जुलाई २१ तारिखसम्म देशभर सरदर पाँच सय ३८ दशमलव दुई मिलिमिटर वर्षा भएको छ । जुन सरदर वर्षाकै हाराहारीमा छ । पुरै मनसुन अवधिभर अर्थात् चार महिनामा नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुन्छ ।
    
यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपालमा प्रवेश गरेको थियो । नेपालमा सरदर जुन १३ देखि अक्टोबर २ तारिखसम्मको अवधिलाई मनसुन मानिन्छ । 
     
यसैबीच महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
     
आजराति पनि सबै प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा धेरै दिपायलमा ५१ र पोखरामा ४४ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा मात्र चार मिलिमिटर वर्षा मापन गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.