माओवादी केन्द्रमा नेतृत्व फेर्न दबाब

माओवादी केन्द्रमा नेतृत्व फेर्न दबाब
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : माओवादीका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको वर्तमान संरचना र नेतृत्व फेर्न दबाब दिएका छन्। शनिबार बालुवाटारमा भएको पार्टीको पदाधिकारी बैठकमा नेताहरूले विधान सम्मेलन गरेर समय अनुकूलको पार्टी संरचना निर्माण गर्न पार्टी अध्यक्ष दाहालसँग माग गरेका हुन्। एक वर्षपछि साउन १७ गते बोलाइएको केन्द्रीय समितिको बैठकको तयारीका लागि पार्टी अध्यक्ष दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक बोलाएका थिए।

वर्तमान राजनीतिक कोर्ष, पार्टी र बैठकमा पेस गरिने संगठनको राजनीतिक दस्तावेज, विधानबारे अध्यक्ष दाहालले नेताहरूसँग सल्लाह मागेका थिए। पार्टी विधान स्पष्ट नहुँदा पार्टी सञ्चालनमा समस्या भएकाबारे नेताहरूले बैठकमा कुरो उठाएको माओवादी सचिव गणेश साहले बताए। ‘पार्टीको विधान गोलमाल र अस्पष्ट छ। त्यसलाई स्पष्ट पार्न पार्टी अध्यक्षलाई सल्लाह दिइएको छ। त्यसका लागि विधान सम्मेलन गर्न माग उठेको छ’, सचिव साहले भने, ‘त्यसपछि पहिलो विशेष महाधिवेशन गर्न कुरो उठेको छ। पार्टीको संरचना र नेतृत्व फेरिनु पर्ने पनि कुरा उठेको छ। कुन रूपमा विधान सम्मेलन हुन्छ। पारित विधान कार्यान्वयन हुन्छ कि हँुदैन ? त्योबारे प्रश्न उठाइएको छ।’ 

ठूलो केन्द्रीय समिति हुँदा पार्टी भद्रगोल भएको बताउँदै उनले थपे, ‘जम्बो केन्द्रीय समिति छ। त्यसले काम गर्न र पार्टीको निर्णय कार्यान्वनमै समस्या आयो।’ पार्टीको भद्दा समितिलाई चुस्त दुरुस्त, कामकाजी बनाउनुपर्ने नेताहरूले कुरो उठाएको बताउँदै सचिव साहले थपे, ‘पहिले चार हजारको थियो। घटाउने भनिएको थियो तर, फेरि थपिँदा थपिँदै झन्डै एक हजारको पुग्यो।’

राजनीतिक र संगठनात्मक दस्तावेज धेरै ठूलो नबनाउन नेताहरूले अध्यक्षलाई सल्लाह दिएका छन्। बुँदागत रूपमा प्रस्तुत गर्न भनिएको बैठकमा सहभागी एक नेताले बताए। बैठकले केन्द्रीय समितिलाई उत्साह भरेर कार्यविभाजनसहित जिल्लामा पठाउन पार्टी अध्यक्षसँग नेताहरूले प्रस्ताव राखेका छन्। माओवादीका अर्का सचिव डिलाराम आचार्यका अनुुसार पार्टी अध्यक्ष दाहाललाई  कसैले लिखित र कसैले मौखिक सल्लाह पेस गरेका छन्। 

उनले भने, ‘खास गरेर संगठनलाई पुरानो ढाँचामा चलाउनु हुँदैन भन्ने कुरो जोडदार उठेको छ। नयाँ परिस्थितअनुसार संगठन चलाउनुपर्छ। जनताको जीवन बदलिने दिसामा जोडेर संगठन निर्माण, सञ्चालन र व्यवस्थान गर्नुपर्छ अध्यक्षजीलाई दिइएको छ।’ माओवादी नेतृत्वको सरकारले मूलभूत रूपमा राम्रै काम गरेको बैठकमा कुरो उठेको छ। सचिव आचार्यले भने, ‘बरु पार्टी पंक्तिबाट त्यसको पक्षमा उत्साहपूर्ण रूपमा प्रचार–प्रसार भएको छैन। यसलाई सरकारले गरेको काम जनतामा लिएर पार्टी पंक्ति जान सुस्ताएको निष्कर्ष आंशका प्रकट भयो। ठोस कुरा आएको छैन।’

सत्ता गठबन्धनलाई पाँच वर्षसम्म चलाइने छलफल भएको उनले बताए। ‘सत्ता गठबन्धन पाँच वर्षसम्म चल्छ। कांग्रेसको तर्फबाट गठबन्ध पाँचै वर्ष लानुपर्छ भनेर रिपोर्टिङ आएको छ’, बैठकमा भएको कुरा बताउँदै उनले भने, ‘एकीकृत समाजवादी र जसपा पनि गठबन्धन टिकाउने पक्षमा किलिएर नै छ। गबन्धन पाँचै वर्ष जान्छन्, यसमा कुनै आशंका छैन।’ पछिल्ला घटनाका क्रम प्रधानमन्त्रीको अभिव्यक्ति र सुन काण्डामा एमालेहरू बढी उत्तेजित भएको बैठकमा चर्चा भएको थियो।

शरणार्थी काण्ड, ललिता निवास, सुन काण्डजस्ता भ्रष्टचारको विरुद्धमा जरोसम्म सरकार पुगेर छानबिन गर्न माओवादी बैठकमा नेताहरूले कुरो उठाएका छन्। मिटरब्याजको विषयमा पीडितहरूको असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले छलफल गर्नुपर्ने नेताहरूले प्रधानमन्त्री वा पार्टी अध्यक्ष दाहाललाई सल्लाह दिएको छ। बैठक आइतबार पनि बालुवाटारमा बस्ने छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.