माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकले पार्टी कार्यालयमा साउन १७ गते बस्ने केन्द्रीय कमिटीको बैठक सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको सचिव डिलाराम आचार्यले अन्नपूर्णलाई जानकारी दिए।
उनले भने,‘नेताहरुले पार्टीको बैठकमा एउटा कुरा बोल्ने र बाहिर मिडियामा गएर अर्को कुरा बोल्ने प्रवृत्ति बढेको छ। त्यसलाई निरुत्साहित बनाउन र बैठकमा जे बोलिएको हो, सत्यतथ्य मिडियामा पनि आओस् भनेर बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेका छौं। ’
उनले आजको बैठकमा केन्द्रीय कमिटीका बैठकमा पेश गर्ने एजेण्डाबारे पनि छलफल भएको बताए।अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले केन्द्रीय समितिको बैठकमा पेश गर्ने राजनीतिक दस्तावेज, सांगठनिक प्रतिवेदनबारे छलफल भएको उनले बताए। उनका अनुसार बालुवाटारमा नेताहरु केन्द्रीय कमिटी बैठकबारे छलफल गरिरहेका छन्। केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनबारे निर्णय गर्नेछ।
यस अगाडि कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
