कालीगण्डकीमा गाडी खसालेर भागेका चालक र उनकी श्रीमतीविरुद्ध उजुरी

कालीगण्डकीमा गाडी खसालेर भागेका चालक र उनकी श्रीमतीविरुद्ध उजुरी
कालीगण्डकीमा गाडी खसालेर नियोजित दुर्घटना गराएको घटनासँग सम्बन्धित प्रहरीले बरामद गरेका सामान र नगद । तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

बेनी : नियोजित रुपमा कालीगण्डकी नदीमा गाडी खसालेको भन्दै चालक र उनकी श्रीमतीविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ भिरकाटे स्थित बेनी–जोमसोम सडकबाट ग २ च १०३१ नम्बरको बोलेरो जीप कालीगण्डकीमा खसालेका चालक कमलेस परियार र उनकी श्रीमती सीता लौडारी परियारविरुद्ध म्याग्दी जिल्ला अदालतमा आपराधिक विश्वासघात सम्बन्धी मुद्दा दर्ता भएको हो । 

मंगलबार मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरेर हिरासतमा राखिएको बुधबार प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरी नायव उपरीक्षक मदन कुँवरले साउन १० गते दानाबाट बेनी फर्कने क्रममा गाडी कालीगण्डकीमा फालेर भागेका म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका २६ वर्षीय कमलेसलाई काठमाडौमा पक्राउ गरिएको जानकारी दिए ।  

‘बेनीको सुमन किराना स्टोर्सको चालक र पैसा उठाउने काम गर्दै आएका कमलेसले साहुलाई हिसाब बुझाउन नसकेपछि नियोजित रुपमा गाडी खोलामा खसालेर भागेको अवस्थामा पक्राउ गरी मुद्दा चलाएका छौ,’ उनले भने ‘यो घटनामा संलग्न भएकी कमलेसकी श्रीमति सिताका विरुद्ध पनि सँगै मुद्दा दर्ता भएको छ ।’ आरोप पुष्टि भएमा जनही पाँच वर्ष कैद र रु. पचास हजार जरिवाना हुने कानुन छ । 

साउन १० गते दिउँसो देखि सम्पर्क बिहिन भएका कमलेस र गाडीको खोजी गरिदिन सुमन किराना स्टोर्सका सञ्चालक सुमन श्रेष्ठले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । उजुरीपछि प्रनाउ कुँवरको नेतृत्वमा ६ जनाको टोलीले घटनास्थलमा पुग्नुका साथै खोजीका लागि कालीगण्डकी किनारमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

रघुगंगा गाउँपालिका–३ घाडेढुंगास्थित कालीगण्डकी किनारमा हराएको जीपको टायर र भिरकाटेस्थित कालीगण्डकी किनारमा जीपको अगाडिको सिसा, पैसा उठाउन दिइएको नगदी रसिद, बिल, चलानी लगायत सामग्री फेला परेको थियो । किनारमा टायर र सिसा भेटिएपछि धेरैले गाडीसँगै चालक पनि उर्लेको कालीगण्डकीमा वेपत्ता भएको अनुमान गरेका थिए । 

गाडी खसालेर ११ गते बिहान बेनीमा रहेकी श्रीमती सीतालाई लिएर पर्वतको कुश्मा पुगेका कमलेस श्रीमतीलाई पोखराबाट बेनी फर्काएर कास्कीको घान्द्रुक घुमेर काठमाडौं पुगेका थिए । प्रहरी निरीक्षक कुमार गुरुङका अनुसार श्रीमानको खोजी गरिदिन उजुरी गरेकी र आफन्तसँगै रुवाबासी गरिरहेकी सीतालाई कमलेसले फरक फरक नम्बरबाट सम्पर्क गरेका थिए।

‘आफन्त ल्याएर श्रीमानको अवस्था पत्ता लगाउन भनेर रुवाबासीको नाटकसहित दबाब दिइरहेकी सीताको निगरानी गरिरहेका थियौं,’प्रहरी निरीक्षक गुरुङले भने, ‘सिता र कमलेस कुश्मामा भेट भएर पोखरा पुगेको,मोबाइलमा सम्पर्क भइरहेको तथ्यका आधारमा काठमाडौंबाट पक्राउ गर्न सफल भयौं ।’

काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा रहेको एक गेष्ट हाउसबाट पक्राउ परेका कमलेसको साथबाट नगद  १९ हजार रुपैयाँ र बेनी नगरपालिका–७ मंगलाघाटको महारानी चोकमा रहेको डेरामा सीताले लुकाएर राखेको दुई लाख पाँच हजार ३८० रुपैयाँ बरामद भएको छ । 

कमलेसले गाडी खसाल्नुअघि दानाबाट बेनी तर्फ आउने बाटोमा पर्ने भुरुङ तातोपानीको मोवाइल पसलबाट सिम कार्ड निकालेर नयाँ नम्बर प्रयोग गरेको, घटना पश्चात कुश्माहुँदै पोखरा आफन्तकहाँ गएर बसेको तथ्यहरूले घटना नियोजित रहेको पुष्टि हुने प्रहरी नायव उपरीक्षक कुँवरले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.