माओवादी बैठकमा प्रश्न- टाउकोमा कफन बाँधेर मृत्यु रोज्न अघि बढेका हामीले कसरी आफ्नो धरातल बिर्सियौं?

काठमाडौं : सुन तस्करी प्रकरणमा माओवादीका शीर्ष नेताहरूको नाम मुछिन थालेपछि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रश्न उठेको छ।
माओवादीका युवा नेता अमनलाल मोदीले टाउकोमा कफन बाँधेर आएका नेताहरू कसरी सुन कान्डमा मुछिए भन्दै आश्चर्य जनाए। उनले यसखाले प्रश्न नेताहरूमाथि उठ्नु गम्भीर रहेको भन्दै छानविनको माग गरे।
'हाम्रा नेताहरूमाथि पनि आरोप र प्रश्न उठेको छ। उहाँहरूमाथि पनि छानविन गरिनुपर्छ। हामी कसैको पक्षपाती बन्नु हुँदैन,' उनले बैठकमा भने।
उनले टाउकोमा कफन बाँधेर मृत्यु रोज्न अघि बढेका माओवादी नेताहरूले आफ्नो धरातल बिर्सिएको बताए। 'हाम्रा साथीहरू टाउकोमा कफन बाँधेर मृत्यु रोज्न अघि बढेको स्मरण गर्दैनन्। कति छिट्टै हामीले आफ्नो धरातल बिर्सियौं,' उनले भने।
सबै कुरा त्यागेर आएका राता मान्छेहरू रातारात गलत काम गरिहाल्छ भन्ने नलागे पनि उनले पार्टी नेतृत्वप्रति संशय व्यक्त गरे। 'तर माओवादी पार्टी कुनै धातु र यन्त्रले बनेको छैन। अन्तरिक्षबाट निर्माण भएको पार्टीमा अहिले माओवादी नै छैन। या कुनै उद्योगबाट माओवादी निर्माण भएको छैन। पार्टीमा केही समस्या छ। त्यस कुरामा रूपान्तरण हुनुपर्छ। माओवादीप्रति जनताको ठूलो चाहाना छ,' उनले भने।
उनले माओवादी नेताहरू रूपान्तरण नभएसम्म पार्टी नबन्ने बताए। 'केन्द्रीय कमिटी बैठकबाट हामी सबै नेताहरू रुपान्तरण हुनुपर्छ। यो अभियानमा हामी जानुपर्छ,' उनले भने। त्यस्तै केन्द्रीय सदस्य रामकुमार शर्माले सरकारले चलाएको भ्रष्टचारविरुद्धको अभियानालाई निरन्तरता दिनुपर्ने भन्दै ठूला फाइलहरू अझै खोल्नुपर्ने बताए।
त्यस्तै नेता नारायण दाहालले गठबन्धन सरकारले गरेको कामलाई लिएर एकथरी मान्छेहरू आतंकित भएको बताए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूप्रति इंगित गर्दै उनले भने, 'कहिले सदनमा राजीनामा माग्छन्, कहिले सदन अवरुद्ध पार्छन्। त्यसलाई परास्त पार्नका लागि गम्भीर ढंगले राष्ट्र र जनताले खोजेको विषयवस्तुमा काम गर्न जरुरी छ।'
उनले सुन तस्करी प्रकरणमा माओवादी नेता र पार्टीमाथि आक्रमण भएको बताए। 'त्यसबाट पार्टी र राजनीतिलाई बचाउँदै देशलाई विकासको गतिमा अघि बढाउनका लागि सम्भव भएसम्म राष्ट्रवादी र देशभक्तलाई एकता गर्दै अघि बढ्नुपर्छ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !
