पोखरामा स्थायी फोहोर व्यवस्थापन कहिले ?

पोखरा : अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिँदै आएको क्षेत्रका स्थानीयको अवरोधका कारण पोखरा महानगरपालिकामा फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ। अस्थायी रूपमा फोहोर बिर्सजन हुँदै आएको पोखरा ३२ लामेआहाल स्थित श्यामघाट सेती नदी किनारका स्थानीयले महानगरपालिकाले फोहोरको उचित व्यवस्थापन नगर्दा दुर्गन्ध बढेको भन्दै अवरोध गरेपछि फोहोर व्यवस्थापनमा चुनौती थपिएको हो।
वर्षा र गर्मीको समयमा ९ दिनदेखि पोखरा महानगरपालिकाका घर–घर र मुख्य बजारका सडकमा पनि फोहोर थुप्रिन थालेपछि पोखरा महानगरपालिकाले शनिबार पोखराको मुख्य बजार पृथ्वीचोक नजिकैको दमकल राख्ने परिसरको चौरमा गाडीमा राखिएको फोहोर व्यवस्थापन गरेको छ। पोखराको मुख्य बजार महेन्द्रपुल, सिर्जनाचोक, न्युरोडलगायतका क्षेत्रको सडकमै फोहोर थुप्रिन थालेपछि दकमल परिसरमै अहिलेका लागि व्यवस्थापन गरिएको पोखरा महानगरपालिकका सूचना अधिकारी किरणप्रसाद कोइरालाले बताए।
स्थानीयसँगको वार्ता सकारात्मक भएकाले आइतबारबाट पुनः अस्थायी ल्यान्डफिल्डमा फोहोर व्यवस्थापन हुने उनले विश्वास गरे। ल्यन्डाफिल्ड साइट सञ्चालनमा अएपछि उठाएर लगिने गरी दकमल परिसरको चौरमा शनिबार फोहोर व्यवस्थापन गरिएको सूचना अधिकारी कोइरालाले बताए। राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने निश्चित भएसँगै संघ, प्रदेश र महानगरपालिका तीनै तहकै सरकारले विमानस्थल निर्माणसँगै पोखरा विमानस्थल नजिकैको ल्यान्डफिल्ड साइटको विकल्पमा अन्यत्र फोहोर प्रशोधन केन्द्र बनाउन पहल गर्नुपर्नेमा त्यसो नहुँदा अहिलेको समस्या आएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थलनजिकै रहेको पुरानो ल्यान्डफिलसाइट बन्द भएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन हुनुभन्दा दुई दिनअघि पुस १५ गतेदेखि पोखरा ३२ लामेआहालस्थित श्यामघाट सेती नदी किनारको ४० रोपनी जग्गामा रहेको खाडलमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिँदै आएकोमा स्थानीयको अवरोधको कारण फोहोर नउठेको हो।
पोखरा महानगरपालिकाले सम्झौताअनुसार काम नगरेको र दुर्गन्ध बढेर वरिपरि बस्न नसक्ने अवस्था आएकाले फोहोर फाल्न अवरोध गरेको स्थानीयले बताएका छन्। महानगरपालिकाले गरेको मुख्य सम्झौता गन्ध नआउने गरी नियमित रूपमा फोहोर फालेपछि पुर्नुपर्ने काम नै नगरेकाले स्थानीयले अवरोध गरेको स्थानीय अस्थायी फोहोरमैला व्यवस्थापन समितिका अध्यक्ष शिवजी लामिछानेले सुनाए।
प्रतिक्रिया दिनुहोस !
