'यस वर्ष धेरै स्थानमा डेंगु देखियो'
काठमाडौं : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत वर्ष डेंगु संक्रमण नदेखिएका स्थानहरूमा यस वर्ष संक्रमण धेरै देखिएको जनाएको छ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेंगु संक्रमणको महामारी निश्चित स्थानमा दुई–तीन वर्षमा दोहरिने देखिएको बताए।
७७ वटै जिल्लामा डेंगुको भाइरस रहेकाले कुनैपनि बेला कुनै पनि स्थानमा डेंगुले महामारीको रुप लिन सक्ने उनले बताए। गतवर्ष काठमाडौं उपत्यका, हेटौंडा, चितवनमा डेंगुले महामारीको रुप लिएको थियो। यसपटक धरानमा सबैभन्दा धेरै संख्यामा डेंगु संक्रमण देखिएको छ।
साथै उनले वर्षौसम्म डेंगु संक्रमण देखिरहन सक्ने चुनौती रहेको बताए। उनले ‘डेंगु नियन्त्रणः खोज र नष्ट गर अभियान’मा स्थानीय तहको जिम्मेवारी बढी रहेको बताए।
त्यस्तै सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले डेंगु नियन्त्रणमा ‘टायर हटाउ तथा लुकाउ’ अभियान गरी लामखुट्टे बस्ने र विकास हुने ठाउँमा सफाइ गर्नुपर्ने बताए।
२०६१ सालमा पहिलो पटक डेंगुका बिरामी देखा परेपछि प्रत्येक वर्ष क्रमशः यस्ता संक्रमित बढ्दै गएको उनको भनाइ छ। नेपालमा सन् २०२२ मा ५४ हजार सात सय ८४ डेंगु संकमित पुष्टि भएका थिए।
प्रतिक्रिया दिनुहोस !