नेपाल महिला संघमा विवाद

नेपाल महिला संघमा विवाद

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघमा यतिबेला संस्थापन र इतर समूह एकअर्कालाई विधानविपरीत काम गरेको भन्दै आरोप प्रत्यारोपमा उत्रिएका छन्। 

महिला संघ अध्यक्षले १२ जिल्ला अध्यक्ष हटाएको भन्दै संघको विधानको धारा ३८ मा भएको स्पष्टीकरणको मौकासमेत नदिई निगाहका भरमा जिल्लाहरूमा नयाँ अध्यक्ष तोकिएको आरोप इतर समूहको छ। महिला संघका इतर समूहका २० केन्द्रीय सदस्यले अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग गरे। महिला संघमा गत जेठ ३० गते ५२ सदस्य थपिए। कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उषा राउत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ५२ जना सदस्यलाई मनोनयन गरेका थिए। 

त्यसो त सभापति देउवाले संघको अध्यक्षमा राउतलाई मनोनीत गरेको करिब एक वर्षपछि तदर्थ समिति बनाएका थिए। राउत महिला संघकै निवर्तमान सचिव पनि हुन्। मंगलादेवी सिंह संस्थापक अध्यक्ष रहेको महिला संघमा यसअघि उमा रेग्मी अध्यक्ष थिइन्। उनलाई देउवाले महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी दिएका थिए। 

सोही संघको इतर समूहका केही महिलाले अध्यक्ष राउतलाई विधानविपरीत काम गरेको भन्दै बर्खास्तको माग गरेका छन्। संघकी अध्यक्षले विधानविपरीत १२ जिल्लाको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई बर्खास्त गरेको भन्दै पत्रकार सम्मेलनमार्फत पनि विरोध जनाएका छन्। महिला संघभित्रको विवाद मिलाउन पार्टी सभापति, उपसभापति, दुवै महामन्त्री, सहमहामन्त्री केन्द्रीय कार्यालय सानेपामा पनि ध्यानाकर्षण पत्र बुझाइसकेको संघको केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य रीता शाहीले बताइन्। शाहीले महिला संघको विधान महाधिवेशन गर्ने जिम्मा पाएको नेतृत्वले धमाधम जिल्ला नेतृत्वलाई हटाउनु दुःखद् भएको बताइन्। 

‘पार्टीलाई एक ढिक्का बनाएर संगठन सुदृढीकरण अभियान सञ्चालन भइरहेको बेलामा पार्टीभित्र बिग्रह निम्याउन खोज्ने वर्तमान अध्यक्षलाई तत्काल बर्खास्त गर्नुपर्छ।’ उनले भनिन्। 

अध्यक्ष राउतले सोलुखुम्बुका अध्यक्ष छिल्हामु शेर्पा, बारा अध्यक्ष सीता मैनाली, पर्साका अध्यक्ष विद्या श्रेष्ठ, सिरहा सभापति विमला निरौला, ताप्लेजुङ अध्यक्ष मीना गुरुङ, इलाम अध्यक्ष निर्मला सञ्जेल, महोत्तरी अध्यक्ष वीना तिवारी, रौतहट अध्यक्ष भुवनी गिरी, कास्की अध्यक्ष कोपिला रानाभाट, झापा सभापति सुशीला ढकाल र हुम्ला सभापति विजया बुढालाई हटाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

महिला संघकी केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले विधानविपरीत हटाइएका जिल्ला अध्यक्षलाई पुनर्बहाली नगरे देशभर समानान्तर समिति गठन गर्ने बताइन्। ‘अध्यक्षज्यूलाई सच्चिने मौका दिएका छौं, नसच्चिए सबै जिल्लामा समानान्तर समिति गठन गरेर अगाडि बढ्छौं।’ 
केन्द्रीय सदस्य छाया सुनारले महिला संघको केन्द्रीय समितिको बैठक नै नबसी एकलौटी ढंगले आफ्नो गतिविधि अगाडि बढाएको बताइन्। महिला संघकै केन्द्रीय सदस्य उमा शिवाकोटीले केही जिल्लामा क्षमतावान् महिलाहरू मनोनीत गरिए पनि कतिपय जिल्लामा वर्षौंदेखि महिला संघ भनेर झोला बोकेर हिँडेका दिदीबहिनीलाई निकालिनु भनेको खेदजनक रहेको बताइन्। 

उनले भनिन्, ‘महिला संघले विधानअनुसार संस्था चलाउन, केन्द्रीय समितिको बैठक चाँडो राख्न, विधानसम्मत गठन नगरिएका सम्पूर्ण समिति, उपसमिति खारेज गर्न, विधानअनुसार साधारण सदस्य वितरण गर्न माग गरिएको छ। सहमति माध्यमबाट माग पूरा हुन् भन्ने चाहन्छौं।’

अध्यक्ष राउतले केही दिनअघि कास्कीको महिला संघ अध्यक्षमा मीना पाण्डे, नवलपरासी बर्दघाट पश्चिम अध्यक्षमा तारादेवी भण्डारी, झापा अध्यक्षमा टीका मैनाली सिटौला, हुम्ला अध्यक्षमा सुशीला शाहलाई मनोनीत गरेकी थिइन्।

साथै ताप्लेजुङ अध्यक्षमा गीता चौहान, इलाम अध्यक्षमा भगवती कोइराला, रौतहट अध्यक्षमा अञ्जु झा, महोत्तरी अध्यक्षमा अनिता शर्मा, सोलुखुम्बु अध्यक्ष सरला नाछिरिङ राई, सिरहा अध्यक्ष संगीताकुमारी चौधरी, बारा अध्यक्ष कलावतीदेवी पासवान, पर्सा अध्यक्ष किरणकुमारी शर्मालाई 
मनोनीत गरेकी हुन्। मिश्र भन्छिन्, ‘मिडिया स्टन्ड गरिएको हो। म विधानबाट दायाँ बायाँ छैन।’

उक्त विषयमा अन्नपूर्णसँग कुरा गर्दै अध्यक्ष मिश्रले भने बर्खास्त गर्नुको कारण खुलाउँदै जति पनि बर्खास्त गरिएको छ ती सबै विधानविपरीत काम गरेकोले हटाइएको बताइन्। मिश्रले भनिन्, ‘पत्रकार सम्मेलन गरेर स्टन्ट गर्नु भएको छ। उहाँहरू पहिलादेखि नै फोटो भिडियो खिचेर देखाउन चाहने समूह हो। संगठनको कुरा चित्त नबुझे आएर सोध्ने र बुझ्ने हो बाहिरबाट स्टन्ट गर्ने हैन। मैले भनेको कुरा के हो भने एउटा व्यक्ति एउटै पदमा मात्र बस्नुपर्छ भन्ने हो। एउटै व्यक्ति एउटा पददेखि अर्को पदमा बस्न नपाइने भनेको हो। एउटै व्यक्तिलाई १० तिर पद चाहिने काम भने नगर्ने।’

‘पार्टीमा कमिटीमा बसेर काम गर्नुस् भनेर जिम्मेवारी दिँदा काम नगर्ने। जिल्ला अध्यक्ष खाली भएका ठाउँमा कालीकोट, बझाङ, हुम्लाका साथीहरू वर्ष दिनसम्म जिल्ला जान नसक्ने। संगठन विस्तारमा नलाग्ने।’ मिश्रले अगाडि भनिन्, ‘काठमाडौं बसेर जिल्लामा सधैं भाग खोजेर कस्तो भाग दिन सकिन्छ ? उहाँहरू अनुशासनमा बसेर काम नगर्ने उल्टै ठूला कुरा गर्ने ? सोलुखुम्बुको हकमा भने एमालेलाई सघाएको भन्दै पार्टीले कारबाही गरिसकेको विषय हो। जिल्ला कार्यसमितिले पनि कारबाही गरिसकेको हो।’ हामीलाई केही काम नगरेको भन्दै विभिन्न आरोप लगाइएको छ भन्ने सुन्दैछु। मिश्रले भनिन्, ‘हामी बिहान ८ देखि साँझ ६ बजेसम्म पार्टीका लागि संगठन विस्तारमै खटिएका छौं। योबीचमा उहाँहरूले देख्ने गरी नै ७ ओटै प्रशिक्षण कार्यक्रम गरेका छौं।’ 

मिश्रले भनिन्, ‘महिला संघ कांग्रेसको भ्रातृ संस्था हो, यो छुट्टै पार्टी होइन। २०५८ सालमा बनेको र संशोधित भएर आएको विधान महिला संघसँग छ। म कहीँ चुकेको छैन। म आफैं यसअघिका अध्यक्षको टिममा विधान लेख्ने मानिस हुँ।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.