कुन विश्वासले लिने स्वास्थ्य सेवा !

कुन विश्वासले लिने स्वास्थ्य सेवा !

काठमाडौं :

डा. अमित चौधरी
ठेगाना  :  बारा

आबद्ध  :  इन्टर्न, त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
अभियोग  :  शैक्षिक प्रमाणपत्र किर्ते

ooo

डा.रञ्जितकुमार यादव
ठेगाना  :  महोत्तरी 
आबद्ध  :  इन्टर्न, त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ।
अभियोग  :  शैक्षिक प्रमाणपत्र किर्ते

ooo

डा. श्रद्धा शिल्पकार
ठेगाना  :  ललितपुर
आबद्ध  :  ईशान बाल अस्पताल 
अभियोग  :  शैक्षिक प्रमाणपत्र किर्ते

ooo

नाम अघि डाक्टर झुन्ड्याउने रहर पूरा गर्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा प्रहरीले पक्राउ गरेका ८ जनामध्ये सुनीलकुमार शर्मा हिरासत बाहिरै छन्। जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका सांसदसमेत रहेका सांसद शर्मालाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। प्रहरीले अमृत चौधरी, रञ्जित यादव, श्रद्धा शिल्पकार, पुनम थापा चौधरी, रामबाबु यादव र एरिना शाहलाई भने पक्राउ गरी हिरासतमा लिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल मेडिकल काउन्सिलको समन्वयमा प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर डाक्टरी उपाधि लिनेहरूलाई दुई दिनयता ७ जनालाई पक्राउ गरिसकेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख किरण बज्राचार्यका अनुसार, भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको पाइएको छ। काउन्सिलद्वारा सञ्चालित दर्ता प्रमाणपत्र परीक्षामा सहभागीसमेत भएको पाइएको छ। नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारीका अनुसार पक्राउ परेकाहरू दोषी ठहर नभइसकेकोले लाइसेन्स खारेज नहुने बताउँछन्। ‘अहिले पक्राउ परेकाहरूको लाइसेन्स खारेज गर्न हतारिँदैनौं। अदालतबाट पुष्टि हुनै बाँकी छ,’ उनले भने। काउन्सिलले केही वर्षअघि योग्यताबिना नै चिकित्सा सेवामा संलग्न दुई जनालाई कारबाहीस्वरूप लाइसेन्स खारेज गरेको डा. अधिकारीले जानकारी दिए।

भारतबाट किर्ते प्रमाणपत्र 

नेपाली कांग्रेसका सांसदसमेत रहेका काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्माले प्रवीणता प्रमाणपत्र तह (आईएस्सी) को शैक्षिक प्रमाणपत्र किर्ते गरेको पाइएको छ। बिहारस्थित बीडीबीकेएस कलेजबाट फारबिसगन्जबाट आईएस्सी शैक्षिक प्रमाणपत्र ल्याएको प्रहरी दाबी छ। सोही शैक्षिक प्रमाणपत्र पेस गरेर उनले चीनबाट एमबीबीएस गरेका थिए। उनलाई फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरेको प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले जानकारी दिइन् ।

शर्माका स्वकीय सचिव विवेक लिम्बूले प्रेस विज्ञप्ति जारी गर्दै शर्माको निवास गोल्फुटारबाट पक्राउ गरिएको जनाएका छन्। संसद् अधिवेशन चालू रहेको अवस्थामा बहालवाला सांसदलाई पक्राउ गरेको उल्लेख गर्दै लिम्बूले पक्राउ पुर्जीसमेत जारी नगरिएको जानकारी दिए ।

प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा इन्टर्न डाक्टरको रूपमा कार्यरत दुई जनालाई समेत पक्राउ गरेको छ। उनीहरूले पनि आईएस्सीको शैक्षिक प्रमाणपत्र किर्ते गरेको जनाइएको छ। त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेशकुमार काफ्लेले महाराज मेडिकल क्याम्पसबाट प्राक्टिकल गर्न आएका दुई जना विद्यार्थी पक्राउ परेको जानकारी दिए।

प्रहरीले किर्तेमा हो वा ठगीमा हो आफूले केही थाहा नपाएको उनले बताए। ‘ठगेको हो भने कुन बिरामीलाई ठगेको हो ? बिरामीको उजुरी देखिनु पर्‍यो। किर्ते हो भने शैक्षिक प्रमाणपत्रबाट पुष्टि हुनुपर्ने होला,’ उनले भने। प्रहरीले किर्ते शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ गरेको यो पहिलो पटक होइन। यस अघि २०७२ र २०७३ सालमा पनि सीआईबीले पक्राउ गरेको थियो। तर, अभियोग भने किर्तेमा नभई ठगीमा लगाएर मुद्दा दायर गर्‍यो। जुन मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले अधिकांशले सफाइ पाए। केही धरौटीमा रिहा भए। मेडिकल काउन्सिल र सीआईबीले शैक्षिक प्रमाणपत्रको अनुसन्धान गर्न तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् (एचएसईबी) सँग सहयोगसमेत लिएको थियो।

  •     नक्कली प्रमाणपत्रधारी काउन्सिलद्वारा सञ्चालित दर्ता प्रमाणपत्र परीक्षामा समेत सहभागी
  •     अधिकांशले ल्याएका छन् भारतबाट प्रमाणपत्र

मेडिकल काउन्सिलका कानुनी सल्लाहकार नारायण खनाल बिरामीको जाँचै नगरे पनि किर्ते गरेर शैक्षिक प्रमाणपत्र बनाउन नमिल्ने बताउँछन्। अधिवक्ता खनाल भन्छन्, ‘नक्कली नोट बनाएर घरमा राख्न पाइन्छ र ?’ नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा. कृष्ण अधिकारी किर्ते शैक्षिक प्रमाणपत्र बनाएकाहरूको छानबिन अघि बढाएको कार्य नौलो नभएको बताउँछन्। ‘सांसदसमेत पक्राउ परेका कारण चर्चा भएको हो। यस्तो छानबिन र अनुसन्धान त पहिले पनि भइरहेको नै थियो,’ उनले भने ।

पक्राउ शैलीप्रति आपत्ति

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी एमबीबीएस उत्तीर्ण गरेकाहरूमध्ये कतिपयले एनएमसी नम्बर (नेपाल मेडिकल काउन्सिलले दिने चिकित्सा पेसा अनुमतिपत्र नम्बर) प्रयोग गरेर चिकित्सा पेसा गरिरहेका छन्।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले प्रहरीले गरेको पक्राउ शैलीप्रति असन्तुष्टि व्यक्त गरे। ‘एमबीबीएसको शैक्षिक प्रमाणपत्र किर्ते गरेर एनएमसी नम्बर लिएको भए मात्र नक्कली चिकित्सक हो,’ डा. कार्कीले भने, ‘उच्च माध्यमिक शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिलले नै आवश्यक छानबिनपश्चात् दोषी पाइएमा कारबाही गरे भइहाल्यो नि । ’ 

शिक्षण अस्पताल महाराजगन्जका निर्देशक डा. काफ्लेले पनि पक्राउ शैलीप्रति असन्तुष्टि जनाए। डा. काफ्लेले प्रश्न गर्दै भने, ‘अनुसन्धानका पनि प्रक्रिया पूरा गर्नुपर्छ होला। एक्कासि पक्राउ गरिएको छ। यसरी ह्युमिलियट  किन गर्नु पर्‍यो ? शैक्षिक प्रमाणपत्र कहाँ छ ? त्यो हेरेर उपचार गर्ने अनुमतिपत्र (लाइसेन्स) खारेज गरेर भइहाल्यो नि । ’ 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.