तल धर्ती नाया, पुर सर्ग नाया. . .

तल धर्ती नाया, पुर सर्ग नाया. . .

नाचले मनलाई मनोरञ्जन दिन्छ भने तनलाई स्वास्थ्य हुने सूत्र प्रदान गर्छ। वाद्य, गीत र अभिनय क्रमश: नेवार र दमाईंमा नाचगान र गीत–संगीत प्रचलनमा छन्।

गाउँघरमा खेतीपातीमा अर्मपर्म चल्थ्यो। त्यहाँ दोहोरी गीत गाउन तँछाडमछाड हुन्थ्यो। सोलुखुम्बुमा केही क्लब थिए। त्यहाँ पनि दोहोरीको मजा लिने काम हुन्थ्यो। लालीगुराँस युवा क्लबको सचिव थिएँ। बेलाबेलामा गीत, नाचगानको आयोजना गर्ने जिम्मा सचिवका नाताले हुन्थ्यो। कहिले कुन कहिले कुन समूहले जित्थ्यो। घरभन्दा माथि क्षेत्री र घरभन्दा मुनि राईहरूको बस्ती थियो। हाम्रो र राईको समुदाय नाचगान र मनोरञ्जनमा अगाडि थियो। तर क्षेत्री समुदाय भने अक्सर नाचगानमा सक्रिय नहुने र अरूले नाचगान गरेकोसमेत खासै मन पराउँदैनथे, कुरा काट्थे।

एक छिमेकी त यस्ता कट्टर थिए कि उनको घरको आँगनमा मादल बज्नु त परै जाओस्, मादल बोकेको मानिस उभिनसमेत हुँदैनथ्यो। क्लबकै नेतृत्वमा रहँदा देउसीभैलो आयोजना गर्‍यौं। तीन रात चार दिन देउसीभैलो खेल्यौं। त्यसबेला मैले रचना गरेको आशिष गीतले सर्वाधिक चर्चा बटुल्यो। नगद र खाद्यान्न गरी लगभग ३० हजार संकलन गर्न सफल भयौं। कार्यक्रममा क्षेत्री, राई भाइबैनी थिए।

पल्लो गाउँका एक क्षेत्री दाइले छिमेकीलाई भन्दै हिँडेछन्– ‘हेर ठूले अब तेरी छोरीलाई कसैले बिहे गर्दैन है। जाबो दमाईंको छोरासँग कम्मर मर्काउँदै नाचेर हिँडेकी छ।’ सम्भवत: मलाई त्यस घटनाले पनि आज कलासंस्कृति र नाचगानकै बारेमा गहिरिएर अध्ययन गर्ने ठाउँमा पुर्‍याएजस्तो लाग्छ। त्यसबेलाका गाउँलेको बुझाइ जेजस्तो भए पनि अहिले बुझेर ल्याउँदा गीत–संगीत, नाचगान, मनोरञ्जन आदि केवल मनोरञ्जनमात्र नभई मानव शरीर र मन स्वस्थ राख्ने अचुक औषधि रहेछ भन्ने लाग्छ। त्यतिमात्र होइन, यसले त नेपाली संस्कृतिलाई जोगाउँदै संरक्षण र प्रवद्र्धन गर्दै समाजलाई संस्कारयुक्त बनाउँदो रहेछ। विज्ञानले समेत यसको महŒव र वैज्ञानिकतालाई पुष्टि गरेको छ। लोकसंस्कृतिका धरोहर हाम्रा पुर्खाहरू जन्मजात वैज्ञानिक पो रहेछन् !

रैथाने शिल्पी समुदाय स्पन्दन

नेपाली समाजको सांस्कृतिक विकासमा रैथाने शिल्पी समुदाय स्पन्दन रहेको पाएको छु। आधुनिकताको विकासपूर्व जन्मदेखि मृत्युसम्म, बिहानदेखि बेलुकीसम्म चाहिने आवश्यक सम्पूर्ण चीजवस्तुको सिर्जनाकार, आविष्कार र रचनामा यिनै सीमान्तकृत समुदायको योगदान पो उल्लेख्य देखिन्छ। उनीहरूको शिल्प (मानव) सभ्यताको विकासमा ठूलो देन पाइन्छ। आदिम सभ्यता पनि यही रहेछ। कृषिकर्म, प्रस्तरकला, संगीतकला, कपास र पोसाक उत्पादन, गरगहना, वाद्यवादन, नाचगान, मनोरञ्जन, घरमहल, दरबारनिर्माण आदि शिल्पकलाका मूल शिल्पी समुदाय नै थिए। रैथाने शिल्पी समुदायभित्रको दमाईं जातिको विभिन्न लोकसंस्कृतिमध्ये विशिष्ट लोकनाच सम्पदा यस आलेखमा ल्याएको छु।

नाचले मनलाई मनोरञ्जन दिन्छ भने तनलाई स्वास्थ्य हुने सूत्र प्रदान गर्छ। वाद्य, गीत र अभिनय गरी नृत्यमा तीन पक्ष सशक्त हुन्छन्। नेपालका जातिमा सबैभन्दा बढी नेवार र त्यसपछि दमाईंमा नाचगान र गीत–संगीत प्रचलनमा छन्। शिल्पकौशलका साथै मौलिक कलासंस्कृतिको पर्याय मानिने पञ्चैबाजा–नौमतीबाजा, हुड्को, कर्नाल र भेरीलगायत दर्जनौं लोकबाजाको महŒव नेपाली समाजमा अझै उत्तिकै छ। दमाईं जातिले विभिन्न मौलिक नाचलाई निरन्तरता दिएर संरक्षण र प्रवद्र्धन गर्दै आइरहेका छन्। विशिष्ट महŒव बोकेका दमाईं जातिका दर्जनभन्दा बढी लोकनाच प्रचलनमा छन्।

हुड्के नाच : दमाईं जातिको नाचमध्ये हुड्के नाच विशिष्ट र मौलिक छ। अरू नाचजस्तै यसमा दमाईं कलाकारहरूले बागिना अर्थात् बाजा बजाउने, गीत गाउने र नाच्ने गर्छन्। यो तीनैवटा कलाको संयोजन भएको नाच विश्वमा विरलै पाइन्छ। जसलाई प्रदर्शनकारी कला भनिन्छ। प्राचीन समयमा वीरहरूको गाथाको वर्णन गरी नाचिने नाच हो हुड्के। जुनबाह्रै महिना र मेलापर्व आदि विशेषमा नाचिन्छ। स्थानीय जनबोलीमा हुड्केली नाच पनि भन्ने गरिन्छ।

हुड्केली गाथा लामो वा छोटो तुल्याउने काम हुड्केमै भर पर्छ। यो नाचको नर्तक चतुरो, गीतमा निपुण, प्रखर वाकपटुता र अभिव्यक्तिमा बुद्धिमान्/कुशलता प्राप्त गरेको हुन्छ। यो नाच सुरु गर्दा सुरुमा ईश्वर स्तुति वा मंगलगान गाइन्छ। मंगलगान सकिएपछि त्यसबेला भने कुनै राजाको वंशावली वा कर्खाहरू गाएर नृत्याभिनय गरिन्थ्यो। जसमा वीर र शृंगार रस हुन्छ। प्राचीनकालमा युद्धको समयमा सैनिकहरूको मनोबल बढाउन हुड्केली लोकनाचको प्रतियोगिता गराउने गरेको पनि पाइन्छ।

विशेषगरी पश्चिम नेपालका दमाईं जातिको मौलिक संस्कृतिको रूपमा रहेको हुड्के नाचमा दमाईं जाति संलग्न हुन्छन्। अरू जातिले यो गीत गाउँदैनन्। यस गीतमा सम्मोहन गर्ने शक्ति वा मोहिनी विद्या आबद्घ हुन्छ भन्ने कुरामा दमाईं जाति विश्वास गर्छन्। ‘आजभोलि हुड्केलीमा वीरगाथाका साथमा केही विकृति–विसंगतिविरुद्घका आवाजहरू पनि सुनिने गरिएको छ। हुड्केली नाचको कर्खा गायनको समाप्तिमा आशीर्वचन वा आशीर्वाद गायन गरी समापन गरिन्छ (रामशरण दर्नाल, २०४५ : १–७, तेजप्रकाश श्रेष्ठ, २०४४ : ६४–६५)।

हुड्केले भडा प्रारम्भ गर्नुभन्दा पहिले जुन योद्घाको भडा हाल्नुपर्ने हो, उसको वंशावली गीत गाउँछ। जस्तै, सकराम (सगराम) कार्कीको गाथा (भडा) गाउनु छ भने हुड्को बजाई अभिनयका साथ गीत गाउँछ :

डीबी नेपाली ‘दमु’ 

हुड्को : हुड्को मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा प्रचलित दमाईं जातिको एक प्रमुख वाद्ययन्त्र हो। विभिन्न नाट्यशास्त्रमा हुड्काको वर्णन पाइन्छ। हुड्कोको प्रयोग प्राय: अधिकांश गीत, नृत्य, गीत, जागर, स्फुट र मुक्तक गीतहरूमा गरिन्छ। यो काठको डमरुजस्तै अलि ठूलो आकारको दुवैपट्टि छालाले मोडिएको ठाडो र तेस्रो पारी बजाउन सकिने गरी फित्तामा बाँधिएको हुन्छ। हुड्को एकापट्टि मात्र बजाइन्छ। यो एक्लै र अन्य बाजासित पनि बजाइन्छ। भडा गाउँदा हुड्काका साथमा अन्य सहयोगी वाद्ययन्त्र बाँसुरी, मादल, थाल आदि पनि बजाइन्छ।

हुड्का दुई प्रकारका हुन्छन्– ठूलो हुड्को र साइत्या हुड्को। हुड्काका १० तोड (ताल-बोल) हुन्छन्। ती १० प्रकारका ताल वा बोल तल दिइएको छ : भम्पा पभम् भम्पा पभम्, भम पम भम पम, पभम भम भम पभम भम भम, भम पप्पा भमभम, भम पप्पा भम पप्पा, भम भम भम भम, भम्प भम पम्भम, प्वाङ प्वाङ प्वाङ, पम्प पपा भम्म भा, भम्भम भम्पभ र भम्र पप्पा भम्पप्पा।

आदिवंश गाथा : भडा वा भारत गाउँदा रैथाने दमाईं (हुड्के) जातिले सभा बसाल्ने कार्य सम्पन्न भएपछि विशिष्ट अतिथिहरू भएको सभामा आदिवंश अर्थात् मानव उत्पत्तिदेखि वर्तमानसम्मको वंशावली गाथा गायन गर्छन्। यसलाई आदिवंश श्रुति लोककाव्य गाथा गीत पनि भनिन्छ। गीतको एक अंश यस प्रकार छ–

तल धर्ती नाया, पुर सर्ग नाया
पूर्ण नाया पुराण नाया, जल नाया थल नाया
तारा नाया चन्द्रमा नाया, मुईले बाइस तीर्थ नाया
सत्य युगका राजा कौन कौन, को को बोली...।
(कौन–कुन सर्ग–स्वर्ग नाया–नुहाए, वथ्थी–अवस्थी)
(वासुदेव भाइसाब, २०६५ : ५७–५७, ३–४)।

छलिया नाच : प्राचीनकालका श्रुतिकार–स्मृतिकारहरूले ढाँट, छल वा षड्यन्त्र गरेर विवाह गर्ने चलनचल्ती वा पद्दतिको बारेमा चर्चा गरेका छन्। प्राचीनकालमा कन्यालाई बलपूर्वक जबर्जस्ती अपहरण गरेर विवाह गर्ने चलन थियो। सो अवस्थामा बेहुला पक्षले विशेष खुसीयाली मनाउन छलिया नृत्य गर्ने गरिन्थ्यो। यस प्रकारको नृत्य आयोजना गर्दा दमौं (दमाहा), ढोल, तुरही, मसक बीन, झ्याली, सहनई र नरिसङजस्ता बाजाहरू बजाइन्छन्। छलो खेल्ने नर्तक विविध हाउभाउसहित नृत्य गर्छ। सम्पूर्ण शरीर, हात–खुट्टा, शिर, आँखा, भृकुटी, मुखमुद्राका विविध प्रयोगद्वारा भय, विस्मय, खुसी, रिस, आश्चर्य, आनन्द आदि मनोभाव अभिव्यक्त गर्दै नृत्य प्रस्तुत गरिन्छ। छलिया नाच नाच्ने नर्तकले जामा, सुरुवाल, पगरी पहिरेको हुन्छ र हातमा ढाल, तरबार, खुट्टामा धुँधुँरा पहिरेको हुन्छ। छलिया नाच नाच्दा गाइने गीतलाई ‘ठोक’ भनिन्छ। गीतको उक्त नमुना यस प्रकार छ :

ब्रहम्देव है कुइँयो उड्यो, हरिया रङ्गको
आज मुइ एक्लो भयो, साथीका सङ्ग्को–२
लुकसहर मोती धुँङरु नबजा छुमा छुम–२
(उही, २०६५ : ११–१२)

धुलौटो नाच : बालबालिकाको न्वारन गर्दा घरआँगनमा धुलौटो अर्थात् मण्डपको वरपर यो नाच नाचिन्छ। दमाईं जातिमा नाचिने यसमा दमाईंहरूले दमाहा, झ्याली, सहनाई, ट्याम्को आदि बाजा बजाई मण्डपको परिक्रमा गर्दै धुलौटो नृत्य गर्ने चलन छ। हिजो–आज यो नृत्य लोप हुँदै गएको छ (उही, ३६)।

घमारी (खेल) नाच : १५–२० जना जम्मा भएर दायाँ–बायाँ दमाहा, मजुरा राखी गाउँदै नाच्दै घुमी–घुमी खेल्ने गर्छन्। विशेषगरी यो (खेल) नाच दमाईं जातिको महिलाबाट बच्चाको जन्म भएको दिन दाजुभाइ जम्मा भएर खुसियालीमा घमारी खेल्ने गरिन्छ। जसलाई घमारी नाच पनि भनिन्छ। ६ दिनको दिन छैटी गर्ने र यस दिन एक खसी काटी भोज खाने गरिन्छ। रोटी पुरी आदि बनाई प्रथम दिन घमारी बस्ने र हेर्ने अन्य सबैलाई खुवाउने काम गर्छन्। यस दिन बच्चाको छैटी हेर्ने र नाम राख्ने काम गर्छन्। यस दिन पनि घमारी खेल्छन्, नाच्छन् (श्री ५ को सरकार, २०४४ : १६१)।

घमारी (खेल) नाचमा गाइने गीत–

(बालकको गर्भदेखि जवान वर्णन)
जब सिउट्यो वाला आमाज्यूका कोख
जब सिउट्यो वाला आमाज्यूका कोख।
तब लियो वाला गुडियाको रूप 
तब लियोवाला गुडियाको रूप।
जब भयो वाला आठांै नवौं मास 
जब भयो वाला आठौं नवौं मास...।
(नन्दलाल दमाईं र दमु : २०७९)

ढोली (ढोल) नाच : विशेष पर्व, मेला–जात्रा, चाडपर्व तथा विवाहमा यो नाच नाचिन्छ। दमाईं जातिका प्रमुख नाचमध्ये यो एक हो। यसमा पन्चैबाजा समूहमा पर्ने कर्नाल, दमाहा, सहनाई ट्याम्को र झ्याली बाजाको तालमा गीत गाउँदै खुट्टा चालेर नाच्ने गर्छन्। यो नाच ‘तालनृत्य’ हो। सेतो फेटा, सेतो जामा र रातो कपडाको लर्कन लगाई विभिन्न तालमा नाचिन्छ (प्रदीप रिमाल, २०५३ : ३४)।

दमाईं नाच : राप्ती, भेरी र कर्नाली अञ्चलका प्राय: सबै जिल्ला तथा पूर्वका केही जिल्लामा यस नाचको प्रचलन छ। यसमा फूलपाती नाच, हिले नाच, डोला नाच, आशिका नाच र हुड्का नाचहरू पर्छन्। खासमा दमाईं जातिका मानिसले नाच्ने नाचलाई दमाईं नाच भनिन्छ। यो प्राय: विवाह, व्रतबन्ध, शुभकार्य, लक्ष्यव्रतिकाजस्ता मांगलिक अनुष्ठानहरूमा पन्चैबाजाको सुरतालमा प्राय: एकल नृत्यका रूपमा नाचिन्छ। दमाईं नाचमा दमाहा, सहनाई, ट्याम्को, झ्याली र नरसिङ्गा वाद्यका रूपमा बजाइन्छ। राप्ती क्षेत्रमा प्रचलित दमाईं नाचमा बज्ने तालवाद्यहरूमा प्राय: खेमटा र कहरवा गरी दुईवटा ताल बजाइने गरेको पाइन्छ। कर्नाली–भेरी क्षेत्रमा दमाईंहरू विशेष पोशाकमा दमाईं नाच नाच्ने गर्छन्। जसको नाच व्यवस्थित देख्न सकिन्छ (गोविन्द आचार्य, २०६३)।

फूलपाती नाच : बडादसैंमा दुर्गाका मन्दिरमा वा दसैं घरमा फूलपाती पर्खने र भिœयाउने कार्य गर्दा दमाईं जातिका मानिसले पन्चैबाजा–नौमतीबाजा बजाएर फूलपाती नाच नाच्ने गर्छन्। यो नाच नवदुर्गाको सप्तमीका दिनमा नाचिन्छ। यसमा मुक्त नाचहरू नाचिन्छ। सेता पगडी गुथेका, रातो सिँगारिएको जामा लगाई रातो तुल कपडाको लर्कनदार दोपट्टा बाँधी, पाइला चाल्दै, घुमीघुमी, बाजाको तालमा मनोरञ्जनपूर्ण तरिकाले दमाईंहरू नाच्ने गर्छन् (मोतीलाल पराजुली, २०६३ : १५८)।

हिले नाच : उखान नै छ, ‘असारको १५’ अर्थात् समय भनेको ‘मुठी खाएर मुरी उब्जाउने’ दिन। असारको समयमा खेतीपातीको व्यस्तताले थकित किसानलाई दमाईं जातिका मानिसले पन्चैबाजा–नौमतीबाजाको साथमा मनोरञ्जन दिने गर्छन्। खेत रोप्दा रोपाइँ भएको ठाउँमा पन्चैबाजा–नौमतीबाजा तथा अन्य बाजाका साथमा दमाईंहरू नाच्ने नाचलाई हिले नाच भनिन्छ। यो ऋतुकालीन श्रमसापेक्ष नृत्य हो। कर्नाली–भेरी क्षेत्रमा यस नाचलाई हिले नाच भनिन्छ। बाजाको तालमा बाउसे, रोपाहार र थकानको कुनै वास्ता नगरी गीत, गाउँदै, नाच्दै दमाईंहरूकै साथमा धान रोप्ने कामसँगै गर्दै आनन्द लिन्छन्। साँझपख सबैलाई भोज वा मिठो मसिनो खान खुवाई बिदावारी गर्ने चलन छ (उही, १९९)।

डोला नाच : ‘डोला नाच’ दमाईं जातिको एक प्रमुख नाच हो। नेपालमा डोलीप्रथाको अन्त्य भइसकेको छ। पहिला–पहिला बेहुला लाँदा र बेहुली ल्याउँदा घरको केही वरपरसम्म बेहुला–बेहुलीलाई डोलीमा बोक्ने चलन थियो। यसैबाट नै यो नाचको नामकरण र प्रचलनमा आएको पाइन्छ। विवाहमा दुलहीलाई दुलाहाका घरमा भित्र्याएपछि दुलाहाका घरमा खुसीयाली र मनोरञ्जन प्रकट गर्न नाचिने नाचलाई डोला नाच भनिन्छ। यो नाचमा दमाईंहरूले पन्चैबाजा–नौमतीबाजाको विभिन्न ताल र लयमा विभिन्न किसिमका मुक्त नृत्यहरू नाच्ने गर्छन्। दमाईं नाच, ख्याली नाच, भोटेसेलो नाच, झ्याउरे नाच आदि विविध एकल वा समूह नृत्यहरू यस समयमा नाच्ने गरिन्छ (उही, १३२)। डोला नाचमा गाइने गीत–

तिनै सहर नेपालमा बाजा बज्यो धुन्न नि लै लै
यस्तै रैछ लेखन्तमा सोचे जस्तो हुन्न नि लै लै
सुर्जेजस्तो दुलाहा राजा चन्द्रजस्ती दुलै नि लै लै
जुनी बितोस् सुखैसँग मनविचार ठुलै नि लै लै
जन्मघर बाबु र आमा आफन्तलाई छाडी नि लै लै
जानुपर्‍यो पराई घर डोलीमाथि चढी नि लै लै 
(दिलेन्द्र मुकारुङ राई, २०७८ : १४०)।

आशिका नाच : आधुनिकताको प्रभावसँगै यो नाच लोपोन्मुख अवस्थामा छ। यो विशेषगरी बालबालिकाको छैटीका दिने नाचिने नाच हो। बालक जन्मेको छैटौं दिनमा छैटी देवीको आराधना गर्ने र नवजात शिशुको सुस्वास्थ्य, दीर्घायूका साथै भाग्य राम्रो होस् भनी आशीर्वाद÷शुभकामना दिन नाचिन्छ। पन्चैबाजा–नौमतीबाजाको मनोरञ्जनपूर्ण ताल र लयमा दमाईंहरू नाच्ने गर्छन्। यसलाई जातिगत रूपमा दमाईं नाच भन्ने गरिन्छ। यो नाच अन्य विभिन्न शुभकार्यमा पनि नाच्ने प्रचलन छ (उही, १०४)।

आशिका गीत : विवाह, व्रतबन्ध, पास्नी, छेवरजस्ता सामाजिक संस्कारहरूमा भडा हाल्नुपर्ने घर वा स्थान हुन्छन्। त्यहाँ पुग्नेबित्तिकै भडा (वीरगाथा) गाउने कलाकार दमाईं (हुड्के) द्धारा शुभ होस्, असल होस्, कार्य सफल होस् भनी मंगल गीतका रूपमा सर्वप्रथम आशिका गीत गाउँछन्। आशिका गायनपछि पृथ्वीको श्लोक (मंगल) र त्यसपछि पञ्चसभाको आशिका अर्थात् भद्रभलाद्मी वा सज्जनहरूलाई व्यवस्थित भई बस्न आग्रह गर्दै गीत गायन गरिन्छ। विशिष्ट अतिथिहरू भएको सभामा आदिवंश काव्यगाथ (मानवको उत्पत्तिदेखि हालसम्मको वंशावली) समेत गायन गर्ने परम्परा रहेको छ। भडा हाल्नुअघि हुड्केद्वारा गाइने आशिका गीत यस्तो छ–

परभात, मध्याह्न, मतकर्णी
भो ऋषि वस्तु बनारसी
हेर क्षेत्रम गुरु क्षेत्रम
भइ पूत जलान्तर
कालिका मालिका चैपत्रम्
सगुन सगुन जदौ सगुन
सोफल खाण जीतौ दै माछो
इति दरबारकी आशिका...।

चोपाउँदाको नाच : हिले नाच र चोपाउँदाको नाच उस्तै प्रकृतिको हुन्छ। यसमा भने केही भिन्नता छ। हिले नाच विशुद्घ मनोरञ्जन प्राप्तिका लागि आयोजना गरिन्छ भने चोपाउँदाको नाचमा नवविवाहित बेहुला–बेहुलीलाई असारमा खेत रोप्दा पन्चैबाजा–नौमतीबाजा बजाउँदै हिलामा चोपल्ने र हिलो खेली रमाइलो गर्ने प्रचलन छ। बेहुला–बेहुलीलाई हिलोमा चोपल्ने भएकाले नै नाचको नाम चोपाउँदाको नाच राखिएको हो। बाजाको तालमा रोपाहार, बाउसे (जोतार÷लाठे) हरू पनि रमाइलोसँग हिलो छ्यापाछ्याप गरी खेल्ने गर्छन् (मोतीलाल पराजुली, २०६३ : ११९)।

रोपाइँ नाच : भूगोल र क्षेत्र परिवेशअनुसार यो नाचलाई कतै हिले नाच, कतै चोपाउँदाको नाच र कतै रोपाइँ नाच भन्ने गरिन्छ। जेसुकै नाम भए तापनि यो नाच कृषिकर्म र श्रमसँग सम्बन्धित दमाईं नाचभित्र पर्ने एक प्रमुख नाच हो। किसानहरूका निम्ति खेत रोप्नु वा बालीनाली लगाउनु निकै आनन्दको विषय बन्छ। यसै आनन्दमा रसरंग र खुसीयाली प्रकट गर्नु किसानका लागि गौरवको विषय हो। असारमा खेत रोप्दा वा पहिलोपटक शुभसाइतमा डाँक्ली साहार्दा वा असार १५ को विशेष उल्लासका साथ मनाउँदा रोपाइँ नाच नाचिन्छ। यसमा पन्चैबाजा–नौमतीबाजाको विभिन्न सुरतालमा मुक्तनृत्य नाचिन्छ (उही, १८४–१८५)।

रोपाइँको अवसरमा दमाईं जातिले गाउने झाडो गीतको नमुना–
अहो, गोठाला कि प्यारी भैंसी फर्की गयो छ ए
अहो, जन लड्केइ कान्छी साली छाती भड्कन्छ ए।
अहो, गोठाला कि प्यारी भैंसी किन अड्किन्छ ए ?
(जयराज पन्त, २०७१)

बेठी नाच : बेठी नाच हिजोआज लोप भइसकेको छ। नेपाल एकीकरणपूर्व भुरेटाकुरे राज्यकालीन नेपालमा जनताले राजा तथा स्थानीय सामन्तको खेतमा सहयोग गर्न एकदिन श्रमदानको रूपमा नि:शुल्क खेत रोपिदिने चलन थियो। समय बित्दै जाँदा राणाकालमा नेपाली समाजमा गाउँका तालुकदार मुखियाहरूलाई गाउँलेले वर्षको एक दिन बिनाज्याला काम गरिदिनुपर्ने नियम बन्यो। यस्तो कार्यलाई ‘बेठी’ जाने भनिन्थ्यो। त्यसदिन गाउँका सबै व्यक्ति मुखियाको खेतमा जम्मा हुन्थे। खेतमा धान रोप्थे। पन्चैबाजा–नौमतीबाजा बजाएर, गीत गाउँदै, नाच्दै रमाइलो गर्दथे। त्यस अवसरमा मुखियाले पनि ती रैतीहरूलाई विशेष किसिमको भोज खुवाउने चलन थियो। बेठी नाच यसै परम्पराको उपज हो। २०२४ सालमा भूमिसुधार नीति लागू भएपछि मुुखिया प्रथाकै अन्त्य भएकाले बेठी प्रथाको पनि अन्त्य भइसकेको छ। बेठी नाचमा गाइने गीत– 

बाबा र ज्यूको नि त्यो गैह्री खेत
(सुन चेलीबेटी ढुकुर लुक्ने बीउ)२
कालोमा कालो नि त्यो लामो चुल्ठो
(सुन चेलीबेटी रहरलाग्दो तिम्रो जीउ)२
(संकलक : तुलसी दिवस) 

झ्याउरे नाच : झाम्रे नाचले पनि परिचित झ्याउरे नाच नाच झ्याउरे गीत र यस्ता गीतसित सम्बन्धित तालमा नाचिन्छ। यो नाच पहिले–पहिले गुरुङ, मगर, कामी, दमाईं आदि विभिन्न जातिका विभिन्न उमेर समूहका पुरुष वा स्त्री एकल वा सामूहिक रूपमा नाच्थे। बाह्रैमहिना जुनसुकै समयमा नाच्न सकिने यो नाच ढिलो, मध्यम र छिटो गरी तीनवटै शैली अपनाएर नाचिन्छ। उठबस गरेर, फन्को मारेर, ढल्कँदै नाचिने यो नाच नाच्दा वातावरण निकै रमाइलो हुन्छ। यसमा मुख्य बाजा मादल र पन्चैबाजा–नौमतीबाजा पनि प्रयोग हुने गर्छ। यस्ता बाजाका साथै यो नृत्य गर्दा बाह्रमासे गीत अर्थात् मनोरञ्जनमूलक गीत गाइन्छ। यस नृत्यमा शृंगार, हास्य आदि रसभावमा नृत्याभिनय हुन्छन् (लोकसंस्कृति, २०६८ : ७८)।

लाटो नाच : लाटो देवताको पूजा अर्चना गर्ने क्रममा दमाईं जातिले लाटो नाच नाच्ने गर्छन्। पन्चैबाजा–नौमतीबाजाका विभिन्न लय र तालमा नेपालको पश्चिम क्षेत्रमा यो नाच नाच्ने गरिन्छ। यो वाद्यवादनमा मात्र प्रस्तुत गरिने मुक्त नृत्य हो। भगवती नन्दामा धर्ममाई लाटो देवतामाथि दुव्र्यवहार (जबर्जस्ती जाँड, रक्सी खुवाइएको) पछि नन्दादेवीले दण्डस्वरूप त्यस क्षेत्रका मानिस (दुव्र्यवहार गर्ने मानिसको खलक)लाई लाटो देवताको पूजाअर्चना गर्न लगाएको र सोही पूजामा नृत्योत्सव गर्ने गरेको परम्परा रहेको पाइन्छ। यो नृत्य दमाईं जातिका मानिसले मात्र नाच्ने गर्छन्। परम्परागत वेशभूषामा परम्परागत नृत्याभिनय गरिन्छ (उही, १८६)।

ख्याली नाच : दमाईं जातिले नाच्ने यो नाच अन्य समुदायले पनि नाच्ने गर्छन्। ख्याली शब्दको अर्थ हो– ख्यालठट्टा गर्नु, हाँसी–मजाक गर्नु, मनोरञ्जन गर्नु आदि। यस्तै ख्यालठट्टामूलक गीतहरू गाएर नाचिने भएकाले नै यस नृत्यलाई ख्याली नाच भएको हो। विशेषगरी ख्यालीताल र ख्याली भाकाका गीतसँग नाचिने मुक्त नृत्यलाई ख्याली नाच भनिन्छ। यो नृत्य एकल वा सामूहिक दुवै हुन्छ। बाह्रै महिना विभिन्न मेलापर्व, चाडबाड तथा उत्सवमा नाच्न सकिन्छ। बूढापाका दमाईंहरू ख्याली भाकामा औधी आनन्ददायक सहनाई बजाउने गर्छन्। पन्चैबाजा–नौमतीबाजाका विभिन्न ताल, रागरागिनी र लयमा नाच नाच्ने गरिन्छ (उही, १०८)।

ख्याली नाचमा गाइने गीत–
केको छायाँ केको छायाँ, बहरैको छायाँ नि लै लै
जति जान्छु उति वर, कस्तो तिम्रो माया नि लै लै...


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.