हिमाल चढे लामखुट्टे, कर्णालीमा डेंगु

हिमाल चढे लामखुट्टे, कर्णालीमा डेंगु
फाइल तस्बिर।
सुन्नुहोस्

सुर्खेत : कुनै समय कीटजन्य रोग गर्मी मौसम अर्थात तराईका जिल्लामा बढी देखिन्थ्यो। तर, पछिल्लो समय कीटजन्ज रोगको संक्रमण हिमाली जिल्लामा पनि देखिन थालेको छ। लामखुट्टेको टोकाइबाट सर्ने र संक्रमण हुने रोगहरू हिमालमा पनि देखिन थालेका छन्। चिसो मौसमका कारण विगतमा हिमाली क्षेत्रमा नदेखिने रोगहरू हिजोआज देखिन थालेका हुन्।

यसको एउटा उदारण मात्रै हो डेंगु संक्रमणको। तराइ र भित्री मधेसका जिल्लामा महामारीको रूपमा देखिने गरेको डेंगुको संक्रमण पछिल्लो समय कर्णालीका हिमाली जिल्लामा पनि देखिन थालेको छ। केहीवर्ष अघिसम्म सुर्खेत र वीरेन्द्रनगरमा मात्र छिटफुट देखिने डेंगुको संक्रमण विस्तारै कर्णालीका पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेको हो। तापक्रम वृद्धि भएसँगै हिमालमा पनि कीटजन्य रोगहरू देखिन थालेपछि स्वास्थ्यकर्मीहरू चिन्तित बनेका छन्।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार हिमाली जिल्ला जुम्लामासमेत लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमण देखिएको छ। यस्तै पहाडी जिल्लाहरूमा पनि यसको संक्रमण बढ्दो क्रममा रहेको छ। 

निर्देशनालयका अनुसार चालू आर्थिक वर्षको सुरुवातसँगै कर्णालीमा हालसम्म २२ जनामा डेंगुको संक्रमण भएको छ। जसमा प्रदेश राजधानी सुर्खेतमा मात्र १३ जनामा डेंगुको संक्रमण देखिएको छ। यस्तै हिमाली जिल्ला जुम्लामासमेत ४ जनामा डेंगु संक्रमण भएको छ। त्यसैगरी पहाडी जिल्ला रुकुम पश्चिममा २ जना, दैलेख, सल्यान र कालीकोटमा एक÷एक जनामा संक्रमण देखिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

हिमालमा बढ्दै गएको तापक्रम र विकास भएको सडक सञ्जालका कारण सवारी साधनसँगै हिमालमा पनि कीटजन्य रोग देखिन थालेको स्वास्थ्यकर्मीको भनाइ छ। ‘हिमालमा गाडीको आवतजावत भएसँगै लामखुट्टे पनि पुगे’ स्वास्थ्य शिक्षा अधिकृत कँडेल भन्छन्, ‘विस्तारै कीटजन्य रोगहरू पनि हिमाल चढ्न थाले, हिमाली जिल्लाहरूमा पनि डेंगु फैलिन थाल्यो।’ बदलिँदो मौसमका कारण कर्णालीका प्रायः जिल्लाहरूमा डेंगुको संक्रमण्   फैलिंदो क्रममा रहेको उनको भनाइ छ। हिमालमा पनि कीटजन्य रोगको संक्रमण हुन थालेपछि स्वास्थ्यमा नयाँ चुनौती थपिएको स्वास्थ्यकर्मीहरू बताउँछन्। समयमै यसको नियन्त्रणमा लाग्नुपर्ने उनीहरूको सुझाव छ। 

कर्णालीमा हालसम्म डेंगुको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। तर, संक्रमणको जोखिम भने धेरै रहेको निर्देशनालयले जनाएको छ। भदौ र असोजसम्म यसको जोखिम धेरै हुने भएकाले पनि संक्रमितको संख्या धेरै बढ्न सक्ने अनुमान गरिएको छ। डेंगुको संक्रमण महामारीको रूपमा फैलिने जोखिम बढेपछि स्वास्थ्य सेवा निर्देशनालयले स्थानीय तह र जिल्लामा रहेका स्वास्थ्य कार्यालयहरूसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरिएको जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.