रास्वपाले उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा उम्मेदवारी दिने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ। रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सांसद गणेश पराजुलीलाई सभापतिको उम्मेदवार बनाउने निर्णय भएको अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।
रास्वपाले आफू संसदको चौथो दल भएकाले समितिको सभापतिको नेतृत्व पाउनुपर्ने बताउँदै आएको छ। प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिको दलीय भागबन्डा नमिल्दा लामो समयदेखि संसदीय समिति सभापति विहीन छन्।
सभापति नहुँदा समितिका कामकारबाही पनि प्रभावकारी हुन सकेका छैनन्। केही दिनअघि मात्रै प्रमखु दलहरूबीच सभापतिमा भागबन्डा मिलेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो। जसअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २ र एकीकृत समाजवादी, जसपा र जनमतले एक/एक सभापति पाउनेछन्।
यता एमालेका उपाध्यक्ष एवम् सविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिमा रास्वपा र राप्रपा सभापतिको नेतृत्व दिनुपर्ने बताएका छन्। कुनै पनि दलले आफूलाई बाहिर पारियो भन्ने महसुस गर्न दिन नहुने बताउँदै नेम्वाङले रास्वपा र राप्रपाले पनि समितिको नेतृत्व पाउनुपर्ने बताएका हुन्।
सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार भदौ १० गते बिहान ११ बजेदेखि ४ बजेसम्म प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचन गरियोस् भनी कुनै अर्को एक सदस्यको समर्थनसहित प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७६ को उपनियम (२) बमोजिम प्रस्ताव दर्ता गराउनु पर्नेछ।
निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सोही दिन बेलुका ४:३० बजे सूची प्रकाशित गरिनेछ। यसैगरी भदौ ११ गते दिउँसो ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने,समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने निर्वाचनको कार्यक्रममा उल्लेख छ। समिति सभापति बहुमतका आधारमा निर्वाचित हुनेछन्।
सभापतिमा एकमात्र उम्मेदवारी परे निर्विरोध घोषणा गरिने व्यवस्था नियमावलीमा छ।
प्रतिक्रिया दिनुहोस !