निगमले काठमाडौं ट्रान्जिट पारेर भैरहवाबाट उडान गर्दै
काठमाडौं : नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्ने भएको छ।
निगमले भदौ १२ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको हो।
भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना निगमको छ।
उडान तालिका अनुसार बिहान सवा ८ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ। तत्पश्चात् ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन्।
यात्रुको सुविधाका लागि चेक इन गर्दाकै समयमा गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रूपमा यात्रा गर्न सक्ने बताइएको छ।