सशस्त्रका पूर्वएसएसपी नै ठगी धन्दामा

सशस्त्रका पूर्वएसएसपी नै ठगी धन्दामा
सुन्नुहोस्

काठमाडौं :‘७७ लाख रुपैयाँ दिए हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिन्छौं’ भन्दै बार्गेनिङ गर्ने सशस्त्र प्रहरीका पूर्वएसएसपी गोपालकुमार गुरुङसहित ३ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई गत साउन ४ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्ने अन्य दुई जनामा कलाकार नारदप्रसाद खतिवडा र बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त विक्रमबहादुर थापा छन्। ललितपुरको सानेपा र धोबीघाटबाट गत असार १२ गते शंकास्पद गतिविधि र भिसा दुरुपयोगको आरोपमा अध्यागमन विभागले ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। तिनै चिनियाँ नागरिकलाई हिरासतबाट छुटाउने र विभागले जफत गरेका १५ थान राहदानी फिर्ता गराइदिने आश्वासन दिँदै यो गिरोहले चिनियाँ पक्षसँग रकम असुलेको प्रहरीले जनाएको छ।

  •     सशस्त्र प्रहरीका पूर्वएसएसपी गोपालकुमार गुरुङसहित ३ जना ठगी आरोपमा पक्राउ।
  •     चिनियाँ नागरिकलाई हिरासतबाट छुटाइदिने र राहदानी फिर्ता गराइदिने भन्दै रकम मागिएको आरोप।

अनुसन्धानका अनुसार पवन लामाद्वारा सञ्चालित ‘ड्रागन ब्रिज इन्टरनेसनल’ले नेपाल घुम्न आएका ती चिनियाँहरूलाई घर भाडामा खोजेर राखिदिएको थियो। उनीहरू पक्राउ परेपछि छुटाउने बहानामा यो गिरोह पीडित पक्षको सम्पर्कमा पुगेको थियो।

गिरोहका सदस्यहरूले अध्यागमन विभागका महानिर्देशक (डीजी) सँग आफ्नो राम्रो सम्बन्ध रहेको र कमिसन दिए तत्कालै छुटाइदिने भन्दै प्रलोभन देखाएका थिए। यसबापत पीडित पक्षबाट उनीहरूले ९ लाख रुपैयाँ बुझिलिएका थिए। रकम पाएपछि भने उनीहरू सम्पर्कविहीन बनेका थिए।

कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार गिरोहमा उदयपुरको कटारी घर भई ललितपुर बस्ने ३८ वर्षीय थापा, पश्चिम नवलपरासी घर भई हाल ललितपुर बस्ने ५९ वर्षीय पूर्वएसएसपी गुरुङ र सर्लाही घर भई काठमाडौं बस्ने ५२ वर्षीय कलाकार खतिवडा छन्।

गिरोहभित्र कामको स्पष्ट विभाजन रहेको पाइएको छ। पूर्वएसएसपी गुरुङले चिनियाँ पक्ष खोज्ने र कुराकानी गर्ने, थापाले रकम असुल गर्ने र खतिवडाले अध्यागमनका डीजीसँग ‘सेटिङ’ मिलाउने जिम्मा लिएका थिए। उनीहरूको मोबाइल तथा च्याट विवरणबाट कसुर पुष्टि हुने प्रमाण फेला परेको प्रहरीले जनाएको छ।

ठगीमा पक्राउ परेका पूर्वएसएसपी गुरुङ २०५८ सालमा नेपाल प्रहरीको नायब निरीक्षक (सई) बाट स्थानान्तरण भई सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए। अर्का आरोपी थापा १२ लाख २५ हजार रुपैयाँको बैंकिङ कसुर मुद्दामा पहिलेदेखि नै फरार अभियुक्त रहेको खुलेको छ। यो समूहले अन्य मुद्दाहरू पनि मिलाइदिने बहानामा प्रलोभनमा पारी रकम असुल गरेको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.