पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु
तानसेन : पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ छहरागैरामा गए राति भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–३ सिसुवाका ३५ वर्षीय हेमबहादुर लम्तरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बुटवलबाट पाल्पा सदरमुकाम तानसेनतर्फ आउँदै गरेको लु २ ख १७१९ नम्बरको खाली टिपर गए राति करिब ११ बजे छहरागैरामा आफैं अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खोल्सामा खसेको थियो ।
दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले घाइते चालक लम्तरीको उद्धार गरी उपचारका लागि बुटवल पठाएको थियो । उनको बुटवलस्थित मर्सी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !