पाल्पा दुर्घटना : मृतक ३ जनामध्ये २ को सनाखत
![पाल्पा दुर्घटना : मृतक ३ जनामध्ये २ को सनाखत](https://annapurnapost.prixacdn.net/media/albums/palpa-accident_oPVxcvMMC4_Dnp9JtnHTo.jpg)
पाल्पा : पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्य भएको छ भने ८ जना घाइते भएका छन्। तानसेन तम्घास सहायक राजमार्गको पाल्पा जोर्तेमा ढुङ्गासहितको पहिरोले रेसुङ्गा यातायात प्रा.लि.को लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा ३ जनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व शर्माले जानकारी दिए।
मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडा नं ७ की ५० वर्षीया मनाकला चुदारा र जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवलदार यमबहादुर गोदार रहेका र एक जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएपी विरेन्द्र थापाले जानकारी दिए।
तम्घासबाट बुटवलतर्फ जाँदै गरेको जीप बिहान करीव सवा ८ बजेको समयमा पाल्पाको जोर्तेमा पहिरोमा पुरिएको हो। घाइते भएका ८ जनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको चालक सकुसल रहेको सूचना अधिकारी थापाले बताए। घाइतेमध्ये एक जनाको बाहेक अन्य ७ जनाको अवस्था समान्य रहेको पाल्पा प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)