नौमुरे जलविद्युत्को ८३% रकम फ्रिज

नौमुरे जलविद्युत्को ८३% रकम फ्रिज
सुन्नुहोस्

सन्धिखर्क : अर्घाखाँचीको शीतगंगा  नगरपालिका– ८, सातमाराको ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत् आयोजनाकोे गत आर्थिक वर्ष २०७९/८० मा बजेटको कुल ८३ प्रतिशत रकम फ्रिज भएको छ। विभिन्न सरकारले यस आयोजनाको चर्चा र तयारी गरेको लामै समय भए पनि निर्माण प्रक्रियामा चाँसो नदिँदा आयोजनाले गति लिन नसकेको हो।

लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने आयोजनाको कामको गति शून्य जस्तै छ। आयोजनाले १७ प्रतिशत रकम मात्र खर्च गरेको छ। आयोजनाको काम अघि बढ्न नसक्दा बजेट फ्रिज गएको हो। चालू र पुँजीगत गरेर ६ करोड ७९ लाख ५३ हजार विनियोजन भएकोमा जम्मा १ करोड १८ लाख ७६ हजार रुपैयाँ खर्च भएको आयोजना अर्घाखाँचीका प्रमुख जयराम प्रजापतिले बताए।

 चालू खर्चतर्फ १ करोड ८५ लाख ५३ हजार विनियोजन भएकोमा ४२ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ। दरबन्दीअनुसारको कर्मचारी नहुँदा चालू खर्चको रकम फ्रिज भएको छ। पुँजीगततर्फ ४ करोड ९४ लाख विनियोजन भएकामा ७६ लाख ७ हजार रुपैयाँ मात्र खर्च भएको देखिन्छ। कार्यालयको ५ करोड ६० लाख ७७ हजार रुपैयाँ फ्रिज गएको हो। जुन कुल बजेटको ८३ प्रतिशत रकम हो।

सम्भाव्यता अध्ययनअनुसार सात वर्षभित्र आयोजना सम्पन्न हुने लक्ष्य लिए पनि उद्देश्य अनुरूप काम भने हुन सकेको छैन। कार्यालयका प्रमुखदेखि अन्य कर्मचारीले तलब भत्ता खानुबाहेक अन्य प्रगति शून्य जस्तै छ। बजेट हुँदाहुँदै काम गर्न नसक्नु कार्यालयको कमजोरी रहेको स्थानीयले बताएका छन्। 

आयोजनाको मुख्य काम बाँकी नै रहे पनि अन्य कार्यहरू अगाडि बढेको कार्यालय प्रमुख प्रजापतिले जानकारी दिए। रिभर ट्रेनिङ वर्कको डिजाइन तयार पार्ने, आयोजना क्षेत्रको जग्गा अधिग्रहणसम्बन्धी, जलाधार क्षेत्र संरक्षणसम्बन्धी, जलाशयको परिधि छुट्ट्याउने, शीतखोला पुलको डिजाइन तयार पार्ने कार्य भइरहेको उनको भनाइ छ। तत्कालीन पञ्चायत सरकारले सस्तो लगानीमा आयोजना निर्माण गर्ने भन्दै २०४३ सालमै भैगोलिक परीक्षण, पानीको बहाव परीक्षण तथा सर्वेक्षणसमेत गरेको थियो। २०४६ सालमा बहुदल आएपछि पटक–पटक चर्चा भए पनि आयोजनाको कामले गति लिएन। 

विद्युत् विकास विभागले प्रस्ताव गरेको आयोजनामा तीन खण्डमा गरेर २ सय ८१ मेगावाट विद्युत् उत्पादन गरिनेछ। राप्ती नदीमा १ सय ६९ मिटर अग्लो बाँध बनाइने बहुउद्देश्यीय आयोजनाअन्तर्गत तीन आयोजना निर्माण गर्न लागिएको हो। 

अर्घाखाँचीको शीतगंगा–७ र ८ को सिमानामा बाँध निर्माण गर्ने तथा प्यूठानको सरुमारानी–३ मा विद्युत्गृह निर्माण गरी २१८ मेगावाट क्षमताको नौमुरे जलविद्युत् आयोजना निर्माण गरिने छ। यस्तै, शीतगंगा–७ को लामातालमा रि–रेगुलेटिंङ बाँध बनाई ८ मेगावाटको लामाताल जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव विद्युत् विकास विभागले तयार गरेको छ।

आयोजनाबाट विद्युत् उत्पादन साथै दाङ र कपिलवस्तुमा सिँचाइ सुविधा उपलब्ध गराउने योजना रहेको छ। नौमुरे बहुउद्देश्यीय आयोजनामार्फत वितरण हुने पानीले देउखुरी, बाँके, कपिलवस्तुमा गरी ८३ हजार ३ सय २ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने योजनाले लक्ष्य लिएको छ। देउखुरीको १० हजार ८ सय हेक्टर, बाँकेको ४२ हजार ७ सय ६६ हेक्टर र कपिलवस्तुको २९ हजार ७ सय ३६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ। बहुउद्देश्यीय आयोजना निर्माणका लागि १ खर्ब २८ अर्ब रुपैयाँ बजेट अनुमान गरिएको छ।

बहुद्देश्यीय आयोजनाले प्यूठानको सरुमारानी, माण्डवी, ऐरावती, मल्लरानी गाउँपालिका, अर्घाखाँचीको शीतगंगा, भूमिकास्थान नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका प्रत्यक्ष प्रभावित स्थानीय तहको सूचीमा छन्। दाङको राप्ती, बंगलाचुली, गढवा गाउँपालिका अप्रत्यक्ष प्रभावित स्थानीय तहको सूचीमा रहेका छन्। कुल ३ हजार ४ सय १४ वर्ग किलोमिटर क्षेत्र आयोजनाले प्रभावित हुनेछ।

३४ वर्षअघि सर्भे थालेर बीचमै रोकिएको यो जैविक विविधता, पर्यावरण र पर्यटनका हिसाबले नमुना जलविद्युत् परियोजनाअन्तर्गत पर्दछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.