नीलकण्ठ र नेत्रावतीले गरे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

नीलकण्ठ र नेत्रावतीले गरे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक
सुन्नुहोस्

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका र नेत्रावती डबजोङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्।

नीलकण्ठ नगरपालिका: १ अर्ब २४ करोडभन्दा बढीको बजेट

नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब २४ करोड ८८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख दीपक विश्वकर्माले चालु खर्चतर्फ ८७ करोड २७ लाख ५३ हजार र पुँजीगत खर्चतर्फ ३६ करोड ७३ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको बजेट प्रस्तुत गरे। यो बजेट चालु आर्थिक वर्षको तुलनामा १ करोड ७ लाख ८३ हजार रुपैयाँले बढी हो।

नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, युवा, पूर्वाधार तथा सुशासनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। शिक्षा क्षेत्रमा कक्षा १२ सम्मको अनिवार्य निःशुल्क शिक्षालाई निरन्तरता दिन ८ करोड २२ लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, युवा तथा खेलकुद क्षेत्रका लागि ५४ लाख ५० हजार, सीप विकास, उद्यमशीलता तथा नेतृत्व विकासका कार्यक्रमका लागि ९ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

रोजगारी सिर्जना तथा प्रवर्द्धनका लागि २५ लाख र वैदेशिक रोजगारीसम्बन्धी परामर्श तथा पुनःएकीकरण कार्यक्रमका लागि १७ लाख रुपैयाँ छुट्याइएको छ। खानेपानी तथा सरसफाइ क्षेत्रअन्तर्गत लिफ्ट खानेपानी योजनाको विद्युत महसुलमा ५० प्रतिशत अनुदान, विपन्न नागरिकको मृत्यु संस्कार सहयोग तथा अन्य सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइएको छ। फोहोरमैला व्यवस्थापन तथा सरसफाइका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको छ।

पूर्वाधार विकासअन्तर्गत सबै वडा कार्यालयसम्म कालोपत्रे सडक पुर्‍याउने लक्ष्यसहित विभिन्न सडक योजनाका लागि १३ करोड २३ लाख रुपैयाँ छुट्याइएको छ। नगर सौन्दर्यीकरण तथा करिडोर निर्माणका लागि ४० लाख, विपद् व्यवस्थापन कोषमा ५० लाख तथा सूचना प्रविधि क्षेत्रअन्तर्गत नेटवर्क विस्तार र सिसी क्यामेरा जडानका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगरप्रमुख भीमप्रसाद ढुङ्गानाका अनुसार नीति तथा कार्यक्रममा सेवा प्रवाहलाई सरल, सहज, छिटो र पारदर्शी बनाउने, डिजिटल तथ्यांक प्रणाली स्थापना गर्ने तथा रोजगार सिर्जनाका लागि आवश्यक नीति निर्माण गर्ने लक्ष्य राखिएको छ। कृषि तथा पशुपालनको आधुनिकीकरण, ‘एक वडा-एक उत्पादन’ कार्यक्रम, प्राविधिक तथा सीपमूलक शिक्षा, स्वास्थ्य सेवा विस्तार, पर्यटन प्रवर्द्धन, स्मार्ट बस्ती विकास र वातावरण संरक्षणलाई समेत प्राथमिकतामा राखिएको छ।

नेत्रावती डबजोङ गाउँपालिका ४० करोड ५० लाखको बजेट

यता नेत्रावती डबजोङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ५० लाख ६७ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष सीता गुरुङले बजेट प्रस्तुत गर्दै पुँजीगत खर्चतर्फ ९ करोड २९ लाख र चालु खर्चतर्फ ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन्।

गाउँपालिकाले शिक्षा क्षेत्रमा ३ करोड १० लाख, स्वास्थ्य क्षेत्रमा १ करोड ५० लाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ ८८ लाख ९५ हजार तथा आर्थिक विकासतर्फ ५६ लाख ४७ हजार रुपैयाँ विनियोजन गरेको छ।

गाउँपालिका अध्यक्ष मेघनाथ रिजालका अनुसार शिक्षा, स्वास्थ्य र स्थानीय उत्पादनको प्रवर्द्धनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको छ। स्थानीय उत्पादनको बजारीकरण तथा ब्रान्डिङ, स्वास्थ्य उपकरण खरिद, होमस्टे सञ्चालन, स्थानीय मदिरा तथा गुन्द्रुकको ब्रान्डिङ, ‘एक घर-एक धारा’ तथा ‘एक पक्की टनेल’ जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।

गाउँसभाकै अवसरमा सबैभन्दा बढी राजस्व संकलन गर्ने वडाका वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता ठाकुर गुरुङ र वडा सचिव राकेश भुललाई सम्मान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.