कोसी प्रदेशको सीमा क्षेत्रमा लागूऔषधको अवस्था भयावह
विराटनगर : नेपाल–भारत सीमा क्षेत्रबाट हुने गरेको लागूऔषध ओसारपसार एवं कारोबारको धन्दा बढेर गएको छ। कानुनले लागूऔषधको ओसारपसार, कारोबार तथा सेवनलाई बर्जित गरेको छ।
तर, कारोबार र ओसारपसार बढेर अवस्था झन् भयावह बन्दै गइरहेको हो। तथ्यांकले पनि लागूऔषधसँग सम्बन्धित मुद्दा बर्सेनि बढ्दै गइरहेको पुष्टि गर्छ। विशेष गरेर सीमा क्षेत्रका प्रहरी युनिटबाट सबैभन्दा धेरै लागूऔषधसँग सम्बन्धित मुद्दाहरू चल्ने गरेका छन्।
अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएका सिमावर्ती प्रहरी युनिटको तथ्यांकले लागूऔषधको अवस्था भयावह बनिरहेको देखाउँछ। पछिल्लो ३ वर्षको तथ्यांक विश्लेषण गर्दा लागूऔषधसँग सम्बन्धित मुद्दा बढेको पाइएको हो। लागूऔषधका मुद्दा बढ्नुले यसको कारोबार र ओसारपसारसँगै सेवनकर्तासमेत बढेको निष्कर्षमा प्रहरी पुगेको छ।
भारतसँग सीमा जोडिएको विराटनगरको रानीस्थित इलाका प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७९/०८० मा विभिन्न अपराधसँग सम्बन्धित ३ सय २२ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये लागूऔषधसँग सम्बन्धित मात्रै २ सय ७ वटा छन्। एक वर्षमा इलाका प्रहरी रानीले चलाएकोमध्ये ६४ प्रतिशत मुद्दा लागूऔषधका रहेका हुन्। प्रहरी हिरासत सधैँजसो लागूऔषध सम्बन्धी मुद्दाका थुनुवाले नै भरिने गरेको छ।
रानीबाट आर्थिक वर्ष २०७८/०७९ मा लागूऔषधसँग सम्बन्धित १ सय ९३ वटा मुद्दा दर्ता भएको थियो। २०७७/०७८ मा १ सय १ वटा मुद्दा दर्ता भएका थिए। सीमा क्षेत्रमा लागूऔषधको तुलनामा अन्य अपराधसँग सम्बन्धित मुद्दा कम छन्।
इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप बेलबासेले भारतसँगको खुला सीमाका कारण लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बनिरहेको बताए।
शुक्रबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले भयावह अवस्थामा रहेको लागूऔषध नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको जानकारी दिए। ‘सबै पक्षसँग समन्वय गर्दै लागूऔषधलगायतका अपराध नियन्त्रणका लागि प्रहरी निर्मम रूपमा प्रस्तुत हुन्छ,’ इन्सपेक्टर बेलबासेले भने, ‘अपराधरहित समाज निर्माणमा सबै सरोकारवालाको सहयोग प्रहरीलाई आवश्यक छ।’
विराटनगरको रानीमा मात्रै हैन, लागूऔषधसँग सम्बन्धित मुद्दा कोसी प्रदेशमै धेरै छ। विशेष गरेर भारतसँग खुला सीमा रहेका मोरङ, सुनसरी, झापा, इलामलगायतका जिल्लामा लागूऔषधसँग सम्बन्धित घटना अत्यधिक रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। लागूऔषध बरामद हुने र मानिस पक्राउ पर्ने क्रम बढिरहँदा नेपाली समाज लागूऔषधको दलदलमा फस्दै गइरहेको पुष्टि हुन्छ।
कोसीबाट आर्थिक वर्ष २०७९/०८० मा विभिन्न अपराधसँग सम्बन्धित ८ हजार ७ सय १९ वटा मुद्दा दर्ता भएको छ। लागूऔषधसँग सम्बन्धित ७ सय ८९ वटा छन्। लागूऔषधसहित १ हजार १ सय ४१ जना पक्राउ परेका छन्। २०७८/०७९ मा १ हजार १ सय १८ र २०७७/०७८ मा १ हजार ४५ जना पक्राउ परेका थिए। २०७९/०८० मा गाँजा ५ हजार ८ सय १४ किलोग्राम, ब्राउन सुगर (खैरो हेरोइन) २ किलो ८० ग्राम, विभिन्न प्रकारका लागूऔषध २७ हजार ६ सय १८ ट्याब्लेट तथा १० हजार १ सय ७५ एम्पुल बरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
नेपालको पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारततिर तस्करी हुने गरेको छ। ब्राउन सुगर, अफिम, डाइजापाम, एभिल, फेनारगनलगायतका लागूऔषध भारतबाट नेपाल भित्राइन्छ। गाँजा २०७८/०७९ मा २ हजार २२ किलो र २०७७/०७८ मा १ हजार ७ सय ७९ किलो बरामद भएको थियो। सशस्त्र प्रहरीले पनि गाँजालगायतका लागूऔषध बरामद गरेर आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने गरेको छ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार लागूऔषधको ओसारपसार, कारोबार र सेवनमा विशेष गरेर युवा पुस्ताको संलग्नता बढी पाइन्छ। ‘यसको धन्दामा ४० वर्ष मुनिकाको संलग्नता धेरै छ। सीमा क्षेत्रनजिकका प्रहरी युनिटमा अन्य अपराधभन्दा लागूऔषधका थुनुवा धेरै हुन्छन्,’ पोखरेलले भने, ‘लागूऔषधको अवस्था अत्यासलाग्दो बन्दै गइरहेको छ। जसका कारण समाजमा अपराध पनि बढ्दै गएको छ।’
उनका अनुसार प्रायजसो अपराधिक घटनामा लागूऔषधका दुर्व्यसनीको संलग्नता धेरै पाइन्छ। ‘लागूऔषधको अवस्था भयावह बन्दा यसले व्यक्तिगत स्वास्थ्यसँगै धन सम्पत्तिसमेत सखाप पारिरहेको छ,’ उनले भने, ‘विद्यालय तथा कलेजमा अध्ययनरत युवा पुस्ता यसको कुलतमा फसेको पाइन्छ।’ गलत संगत, पारिवारिक समस्या तथा अभिभावकको बेवास्ता मुख्य कारण देखिएको उनले बताए।
युवा पुस्ता लागूऔषधको दुरुपयोग र दुर्व्यसनमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको एसपी पोखरेल बताउँछन्। ‘भारतसँगको खुला सीमा लागूऔषध नियन्त्रणमा चुनौतीपूर्ण बनिरहेको छ,’ उनले भने, ‘सन्तानलाई लागूऔषधमा फस्न नदिन अभिभावकले महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ।’ सिमावर्ती भारतीय बजारमा डिलर नै सञ्चालन गरेर खुलेआम रूपमा लागूऔषधको कारोबार भइदिँदा त्यसको प्रत्यक्ष असर नेपाली समाजमा परिरहेको प्रहरी अधिकारी बताउँछन्।
सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकाल लागूऔषधका कारण व्यक्तिको धनसम्पत्ति सकिनुका साथै समाजमा अपराध पनि बढिरहेको बताउँछन्। ‘लागूऔषध दुर्व्यसनमा फसेको व्यक्तिले महँगा लागूऔषध खरिद गर्दा सम्पत्ति स्वाहा भइरहेको छ। कुलतमा फसेकाहरू घरबारविहीन बनिरहेका छन्। खरिद गर्दा नेपाली पैसा विदेशिएको छ,’ ढकालले भने, ‘सेवन गर्ने बानी परेको व्यक्ति आवश्यक पैसा जुटाउनलाई विभिन्न अपराधमा संलग्न हुन्छ। लागूऔषधले परिवार र समाजलाई ध्वस्त बनाइरहेको छ। नियन्त्रणका लागि सबै पक्ष सक्रिय हुन आवश्यक छ।’
लागूऔषधले पारिवारिक र सामाजिक संरचनामाथि नकारात्मक प्रभाव परिरहेको र प्राय अपराधिक घटनामा लागूऔषध जोडिने गरेको जानकारी उनले दिए। लागूऔषधको अवैध ओसारपसार, कारोबार र दुर्व्यसनलाई न्यूनीकरण गर्न तथा सेवनकर्तालाई थप जोखिममा पर्न नदिन प्रहरी सक्रियता बढाइएको एसपी ढकाल बताउँछन्।
दुर्व्यसनका कारण विभिन्न अपराध बढ्दै जाँदा परिवार र समाजमा प्रत्यक्ष असर परिरहेको कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला बताउँछन्। ‘लागूऔषधको धन्दा बढ्दै जानु चिन्ताजनक विषय हो। समाज सचेत नभए यसले विकराल समस्या निम्त्याउँछ,’ उनले भने, ‘लागूऔषध नियन्त्रणका लागि विभिन्न अभियान चलाइएको छ। अवैध धन्दामा संलग्नलाई कानुन अनुसार कारबाही गर्ने गरिन्छ।’
बास्तोलाका अनुसार प्रदेशमा लागूऔषध नियन्त्रणका लागि विशेष कार्ययोजना नै बनाएर लागू गरिएको छ। निरन्तर रूपमा मनोसामाजिक परामर्श सेवा दिएर सेवनकर्तालाई समाजमा पुर्नस्थापना र उनीहरूलाई दुर्व्यसनबाट मुक्त गराउन अभियान तीव्र पारिएको बास्तोलाले बताए। ‘लागूऔषधविरुद्ध प्रहरी आक्रामक बनेको छ। कानुनी कारबाही र सचेतनामूलक अभियान तीव्र पारिएको छ,’ उनले भने।
लागूऔषधविरुद्ध शून्य सहनशीलताको नीति लिएर ओसारपसार एवं कारोबारमा संलग्नलाई कानुन अनुसार कारबाही र सेवनकर्तालाई मनोपरामर्शमार्फत दुर्व्यसनमुक्त गरी समाजमा पुर्नस्थापना गराउने अभियानको उदेश्य छ। प्रचलित कानुन बमोजिम कारबाहीसँगै व्यक्ति र समाजलाई सचेत गराउने काम भइरहेको डीआईजी बास्तोला बताउँछन्। उनले प्रहरी एक्लैबाट मात्रै सम्भव नहुने हुँदा अभियानमा सबैले साथ दिनुपर्ने उल्लेख गरे।
पछिल्लो समय प्रदेशमा हुने अपराधिक घटनामा लागूऔषध दुर्व्यसनीको संलग्नता धेरै पाइएको उनको भनाइ छ। उनका अनुसार लागूऔषधको दुर्व्यसन र यसको जालोमा युवा पुस्ताको संलग्नता धेरै हुनु चिन्ताजनक विषय हो। लागूऔषधविरुद्ध प्रहरी आक्रामक बनेपछि कारोबार र ओसारपसारमा संलग्न पक्राउ पर्ने क्रम बढेको बास्तोला बताउँछन्। ‘बढ्दो अपराध नियन्त्रण गर्न तथा पारिवारिक र सामाजिक संरचना जोगाउन लागूऔषधको सञ्जालन तोड्नुपर्छ,’ उनले भने, ‘यसको कारोबार, ओसारपसार र सेवन हुने सम्भावित स्थानमा प्रहरीले २४ घण्टा नै निगरानी बढाइरहेको छ।’
उनका अनुसार लागूऔषधविरुद्धको अभियानलाई प्रभावकारी बनाउन विभिन्न प्रहरी युनिटमा ‘फोकल अफिसर’ तोक्ने, सम्भावित स्थानमा निगरानी बढाउने, लागूऔषधसँग सम्बन्धित व्यक्ति पहिचान र पक्राउ गर्ने, सचेतनामूलक कार्यक्रमलाई तीव्र बनाउने एवं मनोपरामर्शलाई प्राथमिकतामा राख्ने गरिएको छ। पछिल्लो १ वर्षमा मात्रै लागूऔषधविरुद्ध १ हजार ३ सयभन्दा बढी मनोसामाजिक परामर्श कक्ष र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बास्तोलाले बताए।
उनका अनुसार मनोपरामर्शमार्फत लागूऔषध र यसले स्वास्थ्यमा पार्ने सबैखाले असर तथा यसको कारोबार एवं सेवनबाट पर्ने व्यक्तिगत, पारिवारिक तथा सामाजिक प्रभावका बारेमा जानकारी दिने गरिन्छ। साथै प्रयोगकर्तालाई लागूऔषधको सेवनबाट मुक्त भइ समाजमा पुर्नस्थापित हुन अभिप्रेरित गरिने जानकारी बास्तोलाले दिए।
प्रतिक्रिया दिनुहोस !