समाजवादको भविष्य उज्वल छ, हाम्रो जीत सुनिश्चित छ : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको भविष्य उज्वल बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियानको आज बिहान उद्घाटन गर्दै प्रचण्डले इतिहासबाट पाठ सिक्दै क्रान्तिकारी र भरोसा योग्य पार्टी बनाउने बताएका हुन्।
उनले भने, ‘सुनौलो भविष्य निर्माणमा केन्द्रित हौं, समाजवादको भविश्य उज्वल छ र हाम्रो जीत सुनिश्चित छ।’
हिजो विद्रोह (क्रान्ति) गरेको क्षण स्मरण गर्दै प्रचण्डले अहिले शान्तिको नेतृत्व पनि आफूले गर्ने दाबी गरे। उनले भने, ‘मेरो जीवन संघर्ष र आन्दोलनभन्दा पर छैन। देश र जनताप्रति समर्पित हुँदै अगाडि बढ्छु। मेरो बाँकी जीवन नेपाली चरित्रअनुरुप देश र जनताको पक्षमा समर्पित गर्नेछु। समाजवादी आन्दोलनको नेतृत्व लिएर अगाडि बढ्नेछु।’
कतिपय गल्ती भए आत्मालोचना गर्दै अगाडि बढ्नुपर्ने बताउँदै उनले जनताले देखेका सपना पूरा गर्न राजनीति र संगठनसँगै रहेको अठोट व्यक्त गरे।
उनले सरकारले चालेको सुशासनको अभियानको सबैतिर प्रशंसा भइरहेको दाबी गरे। प्रधानमन्त्री प्रचण्डले भने, ‘नक्कली शरणार्थी, ललिता निवास प्रकरण, सुन काण्डमा सरकारले चालेको निष्पक्ष कारबाही गरिएकाले सबैतिर प्रशंसा भइरहेको छ।’
सरकारले गरेका राम्रो कामबाट अत्तालिएकाले भ्रम छर्ने काम गरिरहेको बताउँदै उनले त्यसका विरुद्ध एकताबद्ध हुन आग्रहसमेत गरे। उनले सरकारविरुद्ध घेराबन्दी गर्ने काम भइरहेको उल्लेख गरे। प्रचण्डले अभियानको क्रममा आफ्नो कार्यक्षेत्रमा खट्न कार्यकर्तालाई निर्देशन दिए।