नयाँ नेपाल किन बनेन ?

नयाँ नेपाल किन बनेन ?
सुन्नुहोस्

नयाँ नेपालको सूत्रधार भनिएको माओवादी चार पटक सरकारको नेतृत्वमा पुगिसकेको छ। अहिले पनि छ। माओवादीले तत्कालीन समयमा यतिसम्म कि सम्पूर्ण राज्यका संरचना ध्वस्त पारेर नयाँ नेपाल निर्माण गर्नुपर्छ भन्थ्यो। नयाँ नेपाल निर्माणको अभियानमा चाहे त्यो ओखलढुंगा, सोलुखुम्बुको दुर्गम गाउँमा होस् वा रुकुम, रोल्पाको अनकन्टार कुनामा होस् वा सिराहाको गाउँ बस्तीमा होस् वा टीकापुरको थारू गाउँमा होस् वा मेची–महाकाली जताततै जनआन्दोलनको रापताप प्रस्ट देख्न सकिन्थ्यो।

मुलुक संक्रमणकालको अवस्थामा गुज्रिएको बेला माओवादीको के सोच थियो, थाहा छैन, तर नयाँ नेपाल बनाउनु पर्छ भन्ने उसको नारा थियो। तर अहिले नयाँ नेपाल कहाँ पुगेको छ ? उसलाई नै थाहा छैन। शान्ति प्रक्रिया र संविधानसभाबाट संविधान जारी हुँदासम्म नयाँ नेपाल गुमनाम हुन पुग्यो। अहिले नयाँ नेपालको बहस र छलफलसमेत हात्ती आयो हात्ती आयो फुस्साजस्तै भएको छ। त्यसबेला जानेर होस् वा नजानेर भए पनि आम नेपाली जनताको मुखमा ‘नयाँ नेपाल’ भन्ने शब्द झुन्डिएको थियो। यो नाराको प्रयोगले गणतन्त्रको चेतनाको तहलाई भने सशक्त चाहिँ पक्कै पारेको थियो। तर यो नयाँ नेपालले भुइँ मानिसको जीवनमा के कति उन्नति गर्‍यो या गरेन भन्ने महत्त्वपूर्ण कुरा हो।

नयाँ नेपालको जगमा संविधानसभाबाट संविधान जारी भएको आठ वर्ष हुन लागेको छ। जब संविधान जारी भयो तब यसले भएभरका समस्याहरूको समाधान गर्ने पोको बनेर आउँछ भन्ने आशामा थिए जनता। संविधानसभाले जनतामा उत्साह र आकांक्षा भने जगाउन सकेन। नेपाली जनता अहिले पनि संविधान नै रहला कि नरहला भन्ने चिन्तामा छन्। किनभने संविधानको शपथ खाएका राष्ट्रपति, प्रधानमन्त्री र सरोकारवालाका काम, कर्तव्यहरू हेर्दा संविधानविपरीत गतिविधि गरेको देखिन्छ। परिणामस्वरूप जनताको त्याग तपस्या र बलिदानबाट ल्याएको परिवर्तनलाई दूरदर्शिताका साथ संस्थागत गर्न नसक्दा आमनागरिकमा व्यापक असन्तुष्टि बढ्दै गइरहेको छ।

मुलुक गणतन्त्रमा प्रवेश गरेको १७ वर्ष पार गरिसकता पनि सडकमा ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा यत्रतत्र सुनिँदैछ। किन यस्तो भइरहेछ ? मुलुक कतातिर गइरहेको छ ? नेतृत्वकर्ताहरू कहाँ चुके ? कहाँनेर कमजोरी भयो ? आन्दोलनका बेला भनिएको नारा नयाँ नेपाल कहाँ पुग्यो ? के नयाँ नेपालमा केही सीमित व्यक्तिमात्र अट्न सक्ने थियो ?

के जनताले आफ्नो जीवनको सम्पूर्ण ऊर्जाशील समय यहीँ परिवर्तन ल्याउनका लागि लडेका थिए ? पक्कै पनि थिएन। नयाँ नेपालले महिला, दलित, आदिवासी जनजाति, लोपोन्मुख, पिछडिएको वर्ग, सीमान्तकृत समुदाय, गरिब, बेरोजगारी अशिक्षालगायतका मुद्दालाई सम्पन्न बनाउनु नै थियो। यस्तै नयाँ नेपालमार्फत गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलगायतका एजेन्डालाई संस्थागत गर्नु थियो। पूरै नयाँ नेपालले उठाएका माग सम्बोधन नगरेता पनि आंशिक मागहरू भने सम्बोधन गरेको देखिन्छ। यी एजेन्डाहरूलाई संस्थागत, संरचनागत एवं प्रक्रिया अनुरूप मजबुत बनाउनु अहिलेको आवश्यकता हो।

खासगरी आन्दोलन र क्रान्तिले शासक र जनताबीच विद्यमान असमानता भत्काउनु पर्ने हो। तर नेपालमा क्रान्तिपछि नेता कार्यकर्ताहरूले आफूलाई सम्भ्रान्त वर्गमा परिणत गर्न सफल भए। नेतृत्व वर्गले असमानताको प्रत्याभूतिलाई सत्तामा पुगेपछि भत्काउने आट नै गरेनन्। नयाँ नेपालको नारा लिइएर अग्रस्थानमा रहेका नेता कार्यकर्ता सबै सुकिलामुकिला भएका छन्। उनीहरूको जीवनशैली अकासिएको छ। राज्यसत्ताको दुरुपयोग गरी राज्यको स्रोतसाधानको निर्लज्ज दोहन गरेको जनगुनासो सुनिन्छ। पात्रको रूप परिवर्तन भए पनि प्रवृत्ति र चरित्रमा खासै परिवर्तन ल्याउन सकेका छैनन्। उनीहरू सामान्य बिरामी पर्दा पनि विदेशका महँगामहँगा अस्पतालमा उपचार गर्छन्। छोराछोरीलाई नेपालभित्र र नेपाल बाहिर महँगामहँगा स्कुलकलेजमा पढाउँछन्।

यता हिजो सत्तामा पुर्‍याउनका लागि आन्दोलनमा होमिएका जनताका छोराछोरी सिटामोल वा जीवनजलसम्म नपाएर अकालमा ज्यान गुमाउनु परेको छ। जीर्ण अवस्थामा गुज्रिरहेका सामुदायिक विद्यालय र कलेजलाई राजनीति प्रयोगशाला बनाएका छन्। युवाहरू देशमा अवसर नपाएर पलायन भइरहेका छन्। देश वयोवृद्ध, बालबालिका, नेता, कार्यकर्ता मात्र रहने अवस्थामा पुगेको छ। एक राजा हटाइयो, धेरै छोटे भित्त्याइयो। नयाँ नेपाल उस्तै तिमी पनि उस्तै हामी पनि उस्तै अवस्था रहिरह्यो। अर्थात्, सबै चिज छ, तर केही छैन। मुलुक भित्रभित्रै खोक्रो बनाइसकेका छन्। अहिले पनि समाजमा सामाजिक, आर्थिक र राजनीतिक वर्गीय द्वन्द्व यथावत् छ।

अब पनि नेतृत्वमा पुग्नेहरूले आफ्ना कमजोरीहरूको आत्मालोचना नगरे जनताले बढारिदिने छन्। २०७९ सालको निर्वाचनले नै संकेत गरिसकेको छ। तर यसो भन्दै गर्दा नयाँ उदाउँदै गरेका दलहरूले पनि हामी गणतन्त्रकै देन हो भन्ने बुझ्नुपर्छ। नयाँ दलहरूले सरकारको कमजोरी देखाएर गणतन्त्रको औचित्य गलत साबित गर्नु खोज्नु सहिदहरूप्रतिको अपमान हो। राजनीतिक प्रणाली फेरबदल हुन सक्छ, पात्र र प्रवृत्तिहरू खराब हुन सक्छन् तर जनताको रगत र पसिनाले ल्याएको गणतन्त्रलाई सुदृढीकरण गर्दै लैजान सक्नुपर्छ। अहिलेका शासनहरूले पनि के कुरा बुझ्नुपर्छ भने मुलुकमा गणतन्त्र आयो भन्दैमा हिजोका दिनमा पुर्खाहरूले गरेका राम्रा कामको इतिहास मेट्ने काम गर्नु हुँदैन। बरु उनीहरूले गरेको योगदानको कदर गर्नुपर्छ।

तसर्थ नवीन सोच भएका नेतृत्वहरूले मात्र राष्ट्रलाई विकास र समृद्धिको डोर्‍याउन सक्छन्। उदाहरणका लागि ली क्वान यूले सिंगापुर, महाथिरले मलेसिया, संयुक्त राज्य अमेरिकामा अब्राहम लिंकन, मन्डेलाले दक्षिण अफ्रिका र माओसेतुङले चीनमा कसरी सक्षम सरकार निर्माण गरी राष्ट्रलाई प्रगतिपथमा लैजान सफल भएका थिए। त्यसैले नेपालका नयाँ, पुराना दलका नेता कार्यकर्ताहरूले आफ्नो आचरण, कार्यशैली र कमीकमजोरीलाई आत्मालोचना गरेर नयाँ ढंगबाट सुनिनु जरुरी छ। राजनीतिक घटनाक्रमहरूमार्फत विकास र समृद्धिको मार्ग कोर्न सक्नुपर्छ। अनि मात्र मुलुकमा सुशासन, स्थिरता, विकास, समृद्धि, शान्ति र स्थायित्व सुरक्षित रूपमा रहन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.