म्याग्दीको दरवाङमा आधारभूत अस्पताल सञ्चालनमा
![म्याग्दीको दरवाङमा आधारभूत अस्पताल सञ्चालनमा](https://annapurnapost.prixacdn.net/media/albums/Darbang-aadharbhut-aaspatal-3_ZPzborRtyg_f6CemcKkMr.jpg)
बेनी : म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल सञ्चालन भएको छ । मालिका गाउँपालिकाले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच शैया क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गरेको हो ।
गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गत असारको गाउँसभा र साउन १० गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार आधारभूत अस्पतालको सेवा सञ्चालन गरिएको जानकारी दिए । ‘प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापन गरेर पाँच शैयाको आधारभूत अस्पताल सञ्चालन गरेका छौं,’उनले भने, ‘अस्पतालबाट मालिका,धवलागिरी र मंगला गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।’
आधारभूत अस्पताल सञ्चालन गर्न निक साइमन इन्टीच्युटले एकजना चिकित्सक, एकजना रेडियोग्राफर र एकजना स्टाफ नर्सको जनशक्ति सहयोग गरेको छ । एक जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा छात्रवृत्तिमा अध्ययन गरेका थप एक जना चिकित्सक आएका छन् ।
यसअघि एकजना चिकित्सकसहित १६ जना स्वास्थ्यकर्मी र कर्मचारीको दरबन्दी थियो । आधारभूत अस्पतालका लागि गाउँपालिकाले थप पाँच लाख रुपैयाँको औषधिसहित ३२ लाख रुपैयाँ अनुदान दिएको अध्यक्ष गर्बुजाले बताए । निक साइमन इन्टिच्युटले दश लाख रुपैयाँ मूल्य बराबरको उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको गुुणस्तर सुुधार गरी अस्पताल बनाउन विस २०७८ देखिनै प्रक्रिया सुरु भएको थियो । शुरुमा कोरोना अस्पताल र त्यसैलाई विस्तार गरी आधारभूत अस्पताल बनाइएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रबाट यसअघि आकस्मिक र कार्यालय समयमा स्वास्थ्य परीक्षण सेवा दिँदै आएको थियो । अस्पतालमा रुपान्तरण भएपछि चौबीसै घन्टा बिरामीलाई भर्ना गरेर सेवा दिन थालिएको छ ।
अस्पताल सञ्चालनपछि उपचार गर्न बेनी,बागलुङ,पोखरा,काठमाडौंलगायत सहरमा पुग्नुपर्ने बाध्यता हट्ने स्थानीयबासी समेत रहेकी गण्डकी प्रदेशका पुर्व सामाजिक मन्त्री नरदेवी पुनले बताइन् ।
‘कोही बिरामी परेमा डराउनुपर्ने अवस्था थियो,अब आफ्नै क्षेत्रमा दक्ष डाक्टरसहितको अस्पताल सुरु भएपछि बिरामी जनताको समयमै उपचार पाउने छन्,’उनले भनिन्,'म मन्त्री भएको समयमा केही सुगम स्थानमा कार्यक्रम गर्न लागेको थाहा पाएपछि कम्तीमा पनि दुर्गम स्थानमा यो सुविधा दिनुपर्छ भन्ने आग्रह बमोजिम यहाँ निक साइमन दरवाङ आएको हो ।’
सदरमुकाम बेनीदेखि २४ किलोमिटर पश्चिममा रहेको सो केन्द्र २०७३ सम्म हेल्थ असिस्टेन्ट,अहेब,अनमी र नर्सको भरमा सञ्चालन हुँदै आएको थियो । हाल प्रयोगशाला,एक्सरे,अल्ट्रासाउन्ड, मुटुको ईसीजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधी पसल सञ्चालन गरेको छ ।
भवन बनाइएकाले शव परीक्षणको काम पनि दरवाङमै गर्ने तयारी भएको छ । दरवाङमा शवगृह नहुँदा दुर्घटना र आत्महत्या गरेर ज्यान गुमाएकाको शव परीक्षण गर्न बेनी ल्याउनुपर्ने समस्या छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)