आज विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा, कोसी प्रदेशमा सार्वजनिक बिदा

आज विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा, कोसी प्रदेशमा सार्वजनिक बिदा
विराटनगरमा यसअघि निकालिएको रथयात्रा।

विराटनगर : विराटनगरमा ऐतिहासिक गौरवको राधाकृष्ण रथयात्रा आज (बिहीबार) निकालिँदै छ। रथयात्रालाई मध्यनजर गर्दै कोसी प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ। 

विराटनगरको धार्मिक एवं सांस्कृतिक पहिचानसँग जोडिएको रथयात्रा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट निकाल्ने परम्परा छ। हजारौं भक्तजनको उपस्थितिमा राधा र कृष्णको युगल जोडीसहितको रथलाई विराटनगर बजार परिक्रम गराउने चलन छ। विराटनगर महानगरपालिका– १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो ३ बजे रथ निकालिने छ। 

रथयात्रालाई भव्य, सभ्य र व्यवस्थित बनाउन प्रदेश तथा स्थानीय सरकार, सुरक्षा निकायलगायतका सरोकारवालाले आआफ्नो जिम्मेवारी निर्वाह गरेका छन्। रथयात्राका लागि ५ सयभन्दा बढी स्वयंसेवक परिचालन हुने छन्। 

राधाकृष्ण रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले सबै तयारी पूरा भएकाले रथयात्रा प्रारम्भ गर्न मात्रै बाँकी रहेको जानकारी दिए। रथयात्राका लागि २२ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट उचाइको रथ तयार पारिएको छ। भक्तजनलाई रथ तान्नका लागि रथको अग्रभागबाट ७५–७५ फिट लम्बाइको दुईवटा डोरी राखिने छ। दायाँतर्फबाट पुरुष तथा बायाँतर्फबाट महिलाले रथ तान्ने जानकारी रेग्मीले दिए। 

विराटनगरको मेनरोड हुँदै गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष  चोक, बसपार्क, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर रथयात्रा समापन गरिने छ। विभिन्न ६० वटा झाँकीसहित निकालिने रथलाई ४३ स्थानमा विश्राम दिइने उनले बताए। विभिन्न जातजाति, धर्म र समुदायका झाँकीसहित भक्तजनको उपस्थितिले रथयात्रा भव्य हुने छ। रथयात्रालाई थप उल्लासमय बनाउन सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। 

रथयात्रामा नेपाल र भारतका करिब ६ लाख श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा आयोजकले गरेको छ। रथयात्रा कोरोना महामारीका कारण यसअघि २ वर्ष ‘खटयात्रा’मा सीमित भएको थियो। गत वर्षदेखि पुनः भव्य हिसाबले मनाउन थालिएको हो। 

विक्रम संवत १९८८ सालदेखि ‘खटयात्रा’बाट प्रारम्भ भएको रथयात्रालाई विराटनगरको एउटा उत्सव एवं पहिचानसँग समेत जोडेर हेर्ने गरिएको छ। ‘खटयात्रा’लाई २०२५ सालदेखि रथयात्रामा रूपान्तरण गरिएको हो। 

रथयात्रालाई लक्षित गरेर विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ। ठाउँठाउँमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। रथयात्रा मूल समारोह समितिले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई अनुरोध गरेको छ। 

nullझाँकी प्रदर्शनसहितको रथयात्राका क्रममा ट्राफिक व्यवस्थापन मिलाउन ठूलो संख्यामा ट्राफिक प्रहरी परिचालन गरिने छ। रथयात्रामा हुनसक्ने अवञ्छित एवं अपराधिक गतिविधि नियन्त्रणमा लिएर सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा अधिकारीले सक्रियता बढाएका छन्। मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बुधबार प्रहरीलाई ‘विशेष बिफ्रिङ’ गर्दै रथयात्राको सुरक्षामा कुनै पनि कमजोरी हुन दिन नहुने स्पष्ट पारेका थिए। रथयात्राका लागि मजवुत र भरपर्दो सुरक्षा व्यवस्था मिलाउन एसपी पोखरेलसहित डीएसपीहरु रन्जनकुमार दाहाल, विजय श्रेष्ठ, छेदीलाल कामतीलगायतका प्रहरी अधिकारी आफैं फिल्डमा खटिने छन्। 

सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने छ। भक्तजनलाई विभिन्न सुझाव दिएर सचेत गराउँदै प्रहरीले शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएको छ। कुनै अवाञ्छित गतिविधि गर्नेलाई तत्काल पक्राउ गरेर कारबाही गर्ने प्रहरीको तयारी छ। राधाकृष्ण मन्दिर परिसरदेखि विराटनगरका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरेर सुरक्षा निगरानी गर्न थालिएको छ। रथयात्राको अवलोकनमा धेरै भक्तजनहरुको उपस्थिति हुने हुँदा भीडभाडको फाइदा उठाउँदै चोरी, लुटपाट, पाकेटमारीलगायतका घटना हुनसक्नेतर्फ प्रहरीले सबैलाई सचेत गराएको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले अपराधिक घटना र अपराधिक प्रवृत्तिका मानिसबाट जोगिन सबै सचेत हुनुपर्ने बताए। ‘रथयात्राको सुरक्षा व्यवस्था मजवुत एवं कडा बनाइएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने, ‘सुरक्षामा कुनै कमजोरी हुने छैन। तर, भक्तजन आफैं सचेत भइदिँदा सम्भावित घटना हुन पाउँदैन।’ 

डीएसपी दाहालले रथयात्राका क्रममा भागदौड मच्चिएर मानवीय दुर्घटना हुनसक्ने, बालबालिकाहरु हराउनसक्ने तथा वृद्धवृद्धा र महिला एवं बालबालिका घाइते हुनसक्ने जोखिम रहेको उल्लेख गरे। ‘सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै सजग हुन भक्तजनहरुलाई आग्रह गरिएको छ,’ उनले भने, ‘सुरक्षामा कुनै कमजोरी नरहेकाले ढुक्क भएर सबैले रथयात्राको अवलोकन गर्न सक्नु हुनेछ।’ 

प्रहरीले रथयात्रामा बहुमूल्य गहना लगाएर, बहुमूल्य सामान तथा अधिक नगद बोकेर सहभागी नहुन, रथयात्राको रुट निर्धारण भएको स्थानमा सवारीसाधन पार्किङ नगरिदिन, सीसी क्यामेरा र मानिसको निगरानी भएका ठाउँमा सवारीसाधनको सुरक्षित पार्किङ गर्न, बालिका लिएर रथयात्रामा सहभागी नहुन, वृद्धवृद्धालाई सहयोगीका साथमा मात्रै पठाउन, महिला तथा बालबालिकामाथि हुनसक्ने दुर्व्यवहारप्रति सजग रहन सबैमा आग्रह गरेको छ। 

त्यस्तै, चोरी हुनसक्ने जोखिमका कारण घर खाली गरेर परिवारका सबै सदस्य एकैपटक बाहिर ननिस्किन, घरको ढोका बलियोसँग बन्द गरेर मात्रै निस्किन, शंकास्पद व्यक्तिप्रति चनाखो रहन, कुनै घटना भएमा वा कसैले शंकास्पद गतिविधि देखाएमा तत्काल प्रहरी कन्ट्रोलको नम्बर १०० मा जानकारी गराउन अनुरोध गरिएको डीएसपी दाहालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.