न्यायाधीश र प्रजिअसामु रोए मोरङ कारागारका महिला कैदीबन्दी
विराटनगर : जिल्ला कारागार मोरङका महिला कैदीबन्दीले न्यायाधीश, प्रजिअ (प्रमुख जिल्ला अधिकारी) र कानुन व्यवसायीलगायत सरोकारवालासामु रुँदै आफ्ना पीडा र समस्या पोखेका छन्।
उच्च अदालत विराटनगर बार एशोसिएशन महिला समितिद्वारा शुक्रबार आयोजित कैदीबन्दी महिलासँग तीजको दर खाने कार्यक्रममा उनीहरूले आँखामा आँसु छचल्काउँदै आफ्ना पीडा पोखेका हुन्। कारागारभित्रका समस्या र आफ्ना पीडा राख्ने क्रममा महिला कैदीबन्दी भक्कानिँदै एवं डाँको छाड्दै रोएका हुन्।
कार्यक्रममा उच्च अदालत विराटनगरका निमित्त कायम मुकायम मुख्य न्यायाधीश दिनेशप्रसाद यादव, न्यायाधीश किरणकुमारी गुप्ता, जिल्ला अदालत मोरङका न्यायाधीश रोमनाथ अधिकारी, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, उच्च सरकारी वकिल कार्यालय विराटनगरका प्रमुख एवं सहन्यायाधिवक्ता कोषहरि निरौला, कानुन व्यवसायी एवं सरोकारवालाको उपस्थिति थियो। त्यस क्रममा प्रजिअ यादवले महिला कैदीबन्दीलाई आआफ्ना समस्या राख्न आग्रह गरेका थए।
सुरुमा महिला कैदीबन्दीहरू आफ्ना समस्या राख्न हिचकिचाए। कुरा राख्नुअघि अप्ठेरो महसुस गरे। त्यही बीचबाट कोसी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुनले समस्या सुनाउन थालिन्।
सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेकी उनले कारागारभित्र सुत्ने ठाउँ र खानेपानीको अभाव रहेको सुनाइन्। ‘कारागारभित्र पानीको एउटा धारा छ। पानी कहिले आउँछ, कहिले आउँदैन। पानी आएका दिन पालै पाउन गाह्रो हुन्छ,’ उनले भनिन्, ‘सुत्ने र बस्ने ठाउँको अभाव छ। सुत्न पाइँदैन। यहाँभित्र त समस्या कति छन्, कति।’ खातुनले कारागार हुनेखानेका लागि साह्रै राम्रो रहेको गुनासो सुनाइन्। ‘मपूर्व जनप्रतिनिधि हुँ। बाहिर हुँदा त कारागार निक्कै राम्रो होला भन्ने लागेको थियो,’ उनले भनिन्, ‘तर, भित्र आइसकेपछि सबै कुरा थाहा भयो। कारागार हुने खानेका लागि रहेछ। नहुनेहरूका लागि धेरै गाह्रो छ।’
खातुनपछि केही महिला कैदीबन्दीले आआफ्ना गुनासा पोखे। कैदी सरीता राईले रातभर सुत्न नपाउने गरेको बताइन्। रुँदै उनले भनिन्, ‘भित्रबाट चाबी लगाएको हुन्छ। बाहिर पनि चाबी लगाइन्छ। हामीले भित्र छिर्नै पाइँदैन। रातभर खुला आकाशमुनि भुइँमा सुत्नुपर्ने अवस्था छ। राति १२ बजेपछि कारागारको अनुगमन गर्न आउनुस्। यहाँ कति दुःख र पीडा छ भन्ने सबै थाहा भइहाल्छ।’
राईले कारागारभित्र धेरै गाह्रो रहेको र खानेपानीको फिल्टर पनि नभएको सुनाइन्। ‘खानेपानीको फिल्टर छैन। बनाएको फिल्टर एक–दुई महिनामै बिग्रियो,’ भक्कानिँदै उनले भनिन्, ‘सुत्ने ठाउँ पाइँदैन। कतिपयले प्यासेज र हिँड्ने ठाउँमा रातभर सुत्नुपर्छ। म आज रातभर सुतेकै छैन।’ अनिद्राले नै होला, उनका आँखा रातारात र सुन्निएका देखिन्थे।
सवारी ज्यान मुद्दामा कारागारमा रहेकी शान्तिकुमारी मुखियाले कारागारभित्र बस्नलाई निक्कै गाह्रो भइरहेको बताइन्। घरमा बालबच्चा सानै रहेको र कारागारभित्र बस्न निक्कै मुस्किल परिरहेको उनको गुनासो छ। ‘यहाँ त बस्न मात्रै हैन, बाँच्न पनि गाह्रो छ,’ मुखियाले भनिन्, ‘सबैतिर हारगुहार गरिसकियो। यो हाम्रो समस्या कसले सुनिदिन्छ ? ’ आमाको आग्रह, ‘छोराको उद्धार होस्’
धरान घर भएकी कैदी गंगाकुमारी खड्काले आफ्नो नाबालक छोराको उद्धार गरिदिन आग्रह गरिन्। मानव बेचबिखन मुद्दाकी कैदी उनले आफ्नो साथमा ५ बर्से छोरा रहेको सुनाइन्।
श्रीमान केदार खड्का झुम्का कारागारमा छन्। उनी केदारकी कान्छी श्रीमती हुन्। ‘मेरो साथमा ५ वर्षको छोरा छ। उसको स्कुल जाने उमेर भइसक्यो। तर, जिम्मा लिएर लैजाने मान्छे छैनन्,’ रुँदै हारगुहार गर्ने क्रममा खड्काले भनिन्, ‘जन्मदर्ता पनि बनेको छैन। कारागारमा हुँदा छोरो बिग्रिने भयो। उद्धार गरेर छोरालाई बाहिर लगिदिनुस्।’
नाबालक छोरालाई अरु कैदीबन्दीले कुटपिट गर्ने गरेको कारुणिक व्यथा उनले सुनाइन्। ‘सानो केटाकेटी हो। भनेको कुरा बुझ्दैन। चकचक गर्छ। केटाकेटी चञ्चले हुन्छन् नै,’ उनले भनिन्, ‘अरुले कुट्छन्, पिट्छन्। छेउमै बसेर चुरोट खाइदिन्छन्। चुरोटले पोलिदिन्छन् पनि। यो छोरामाथिको अत्याचार कसरी हेरेर र सहेर बस्नु म ?’ परिवारले छोरा नलग्दा आफूलाई ठूलो पीडा भइरहेको गुनासो उनले रुँदै राखेकी थिइन्। ‘मेरो बिन्ती छ। लगेर आश्रममै भए पनि राखिदिनु होला। हामीलाई त कुटपिट गरिन्छ। यातना दिइन्छ। बच्चालाई समेत कुटपिट गरेर निर्दयी व्यवहार देखाइन्छ,’ कैदीबन्दीको भीडबाट रुँदै र बिलौना गर्दै उनले भनिन्, ‘सानाले त कुरा नबुझेर चकचक गर्छ। ठूलाहरूले ममाथिको रिस पनि यही छोरालाई पोख्छन्। कति सहेर बस्नु ?’
छोराका लागि हात जोडेर खड्काले बिन्ती बिसाइरहँदा उनका नाबालक छोरा छेउमै थिए। छोराको अगाडि अरुले चुरोट खाइदिँदा उसले पनि सिक्ने डर भएको गुनासो उनले गरिन्। खड्कालगायतका महिला कैदीबन्दीहरूको भनाइबाट कारागारभित्र कैदीबन्दीलाई चरम यातना दिने, कुटपिट गर्ने र नाबालक माथिसमेत निर्दयी व्यवहार भइरहेको प्रष्ट हुन्छ।
प्रजिअ यादवले कैदीबन्दीका समस्या आफूले ‘नोटिस’ गरेको सुनाए। ‘तपाईंहरू (कैदीबन्दी)का कुरा सुनियो। समस्या ‘नोटिस’ गरियो,’ उनले भने। तर, उच्च अधिकारी कारागार पुगेका बेला समस्याको समाधान हुन्छ भन्ने अपेक्षासहित महिला कैदीबन्दीले खुलेर समस्या सुनाएका थिए। प्रजिअ यादवले भने ‘नोटिस’मा राखिएको मात्रै भनेर टारिदिए।
चौकीदारको समूहको धम्की, डर र त्रासका कारण यसरी कैदीबन्दीले खुलेर कुरा राख्न सक्दैनन्। विरोध गर्नेलाई रातभर कुटपिट गर्ने र यातना दिने काम हुने स्रोतले बतायो। मोरङको महिला कारागारभित्र चुरोट र खैनी लैजान प्रतिबन्ध छ। तर, कारागारभित्र चौकीदार, नाइके, भाइनाइके र उनीहरूका आसेपासेलाई लैजान तथा खान छुट छ। अरुले पनि खान त पाउँछन्। तर, महँगो मूल्य तिर्नुपर्ने हुन्छ। त्यसको विरोध गरेमा चौकीदारको समूहबाट कैदीबन्दीमाथि आक्रमण गर्ने र यातना दिने काम हुन्छ।
कारागारभित्र चौकीदारको हालीमुहाली र एकाधिपत्य चल्छ। पुरुष कारागारमा मात्रै यस्तो विकृति रहेको कुरा यसअघि बाहिर आएको थियो। तर, महिला कैदीबन्दीले खुलेर कुरा राख्ने क्रममा महिला कारागारभित्र पनि अनैतिक र गैरकानुनी कामहरू हुने गरेको खुलाएका छन्। महिला कारागारको चौकीदार मञ्जु सरदार छिन्।
कारागारभित्र प्रतिबन्धित वस्तु लैजाँदा पनि चेकजाँच गर्ने र त्यसलाई रोक्ने काम नभएको पाइएको छ। कारागारको सुरक्षाका लागि सशस्त्र प्रहरीका डीएसपी र नेपाल प्रहरीका सइको नेतृत्वमा टोली परिचालित छ। गेटबाट भित्र छिर्नेबित्तिकै सशस्त्र प्रहरीले केरकार र चेकजाँच गर्छन्। तर, प्रतिबन्धित वस्तु भने उनीहरूकै सहयोगमा कारागारभित्र छिर्ने गरेको छ।
सशस्त्रका डीएसपीको भूमिका शंकास्पद
महिला कारागारभित्र प्रतिबन्धित सूर्तिजन्य वस्तु लैजान सहजीकरण गरिदिने गरेको आरोप सशस्त्र प्रहरीका डीएसपी दिलबहादुर रायमाझीमाथि लागेको छ। गत वैशाख १८ गते उनी कारागारमा कार्यरत छन्। कारागारमा उनको नेतृत्वमा सशस्त्र प्रहरी छ। चौकीदारसँग साँठगाँठ गरेर रायमाझीले प्रतिबन्धित वस्तु लैजान दिने गरेको गुनासो आएपछि कारागारभित्र उनको भूमिका शंकास्पद देखिएको हो।
डीएसपी रायमाझी भने कारागारभित्र चुरोट र खैनीमा रोक नलगाइएको बताउँछन्। ‘लैजान दिएन भने हामीले सेवन गर्ने कुरा ल्याउन दिएनन् भनेर कैदीबन्दीले विरोध गर्छन्। उनीहरूको मानवअधिकारको पनि कुरा होला। यहाँ पहिलेदेखि नै चुरोट र खैनी लैजान दिने गरिएको रहेछ,’ उनले भने, ‘रोक्न कोशिष गर्ने गरिएको छ। हामी त कारागार प्रशासनको निर्देशन मान्ने हो। अरु कुरा हाम्रो प्रवक्तालाई सोध्नुहोला।’
कारागार व्यवस्थापन विभागका प्रवक्ता कमलप्रसाद पाण्डेले सूर्तिजन्य पदार्थको विषयमा कारागार ऐनले स्पष्ट नपारेको बताए। ‘कतिपय कारागारले प्रयोगको अवस्था हेरेर सूर्तिजन्य पदार्थ लैजान दिने किन, नदिने भन्ने आन्तरिक निर्णय गर्छन्,’ उनले भने, ‘कुनैले लैजान दिन्छन्। कुनैले दिँदैनन्।’ सूर्तिजन्य पदार्थको विषयमा कारागारको आन्तरिक निर्णय लागू हुने पाण्डेको भनाइ छ। तर, स्वास्थ्यको दृष्टिकोणले पनि भरसक लैजान नपाउन् र कडाइ गर्नु भनेर कारागारहरूलाई निर्देशन दिने गरिएको उनले बताए।
क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी
जिल्ला कारागार मोरङमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ। कारागार ५० महिला र २ सय ५० जना पुरुष गरेर ३ सय जना क्षमताको हो। महिला १ सय २ र पुरुष ९ सय ४८ गरेर १ हजार ५५ जना कैदीबन्दी छन्। महिला कैदीबन्दीसँग ५ जना नाबालक पनि छन्।
क्षमताभन्दा तीन गुणा बढी राखिएपछि कैदीबन्दी कोचाकोच गरेर बस्नु पर्ने अवस्था छ। उनीहरूलाई खान, बस्न र सुत्नकै समस्या छ। पालो गर्दै सुत्नुपर्ने बाध्यता रहेको गुनासो कैदीबन्दीको छ।
कारागारका निमित्त जेलर तुलसी पौडेलले कारागार पुरानो र साँघुरो हुँदा कैदीबन्दी समस्यामा परिरहेको बताए। नयाँ भवन निर्माणधीन अवस्थामा रहेका कारण बनिसकेपछि सहज हुने उनको भनाइ छ। पौडेलका अनुसार महिला कैदीबन्दीको समस्या सुनेपछि केहीका आफन्तलाई कारागारमा बोलाइएको छ।
नाबालक जिम्मा लगाउने विषयमा परिवारसँग छलफल गरिएको उनले बताए। विद्यालय जाने उमेर भएका नाबालकलाई आफन्तको जिम्मा लगाउन पहल भइरहेको पौडेल बताउँछन्। उनले महिला कारागारभित्र सूर्तिजन्य वस्तु प्रतिबन्धित नै रहेको बताए।
प्रतिक्रिया दिनुहोस !