सुनसरीमा प्रहरीमाथि आक्रमण गरेर लुटियो हतियार र गोली

सुनसरीमा प्रहरीमाथि आक्रमण गरेर लुटियो हतियार र गोली
सांकेतिक तस्बिर।

विराटनगर : सुनसरीमा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर एउटा समूहले हतियार र गोली लुटेको छ। चोरी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएका प्रहरीमाथि बर्जु गाउँपालिका–१ मा शुक्रबार बिहानका राति आक्रमण भएको हो।

घटनास्थल बर्जु–१ शुक्रबारे र विराटनगर महानगरपालिका–५ को सिमानास्थित सुनसरीतर्फ पर्छ। घटनास्थल आसपासका स्थानमा अत्यधिक चोरी र लुटपाट भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो। 

उक्त एरियामा मोटरसाइकलमा यात्रा गर्नेलाई नियन्त्रणमा लिँदै हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको प्रहरीको भनाइ छ। त्यस सम्बन्धित सूचना संकलन गर्न र घटनालाई नियन्त्रणमा लिन प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई सादा पोसाकमा खटाइएको थियो। परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। 

उनका अनुसार सुरुमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाइयो। ‘पछाडिबाट टाउकोमा चिर्पट प्रहार गरियो। त्यस क्रममा दुई पक्षबीच केहीबेर घम्साघम्सीसमेत भयो,’ एसपी रेग्मीले भने,‘आक्रमणकारीको समूह ठूलो थियो। प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था भएन।’ उनका अनुसार आक्रमण गरेर प्रहरीलाई घाइते बनाएपछि हतियार र गोली लुटेर उक्त समूह फरार बनेको हो। 

आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको एसपी रेग्मीले बताए। आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको जानकारी उनले दिए। 

घटनाको जानकारी पाउनसाथ उक्त गिरोहको खोजीका लागि विभिन्न प्रहरी युनिटबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा टोली परिचालन गरिएको थियो। अपराधिक गिरोहको खोजीका लागि इन्सपेक्टरहरु जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गजेन्द्र राया, इलाका प्रहरी कार्यालय दुहवीबाट मोहन पोखरेल र इलाका प्रहरी कार्यालय इटहरीबाट कैलाश चौधरीको नेतृत्वमा अलगअलग टोली परिचालन गरिएको हो। 

प्रहरीले घटनास्थल नजिकबाट लुटिएको पेस्तोलको छ राउण्ड गोली, म्यागजिन, गोलीको खाली खोका र कटुवा पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरेको छ। पेस्तोल भने अहिलेसम्म फेला परेको छैन। घटनाको अनुसन्धान एवं सोधपुछका लागि शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिइएको एसपी रेग्मीले बताए। प्रहरी नियन्त्रणमा रहेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन। घटना विगतमा विभिन्न अपराधमा संलग्न समूहले गराएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ। 

घटनालगत्तै कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले हतियारसहित सादा पोसाकमा एक्लै–दोक्लै प्रहरी परिचालन नगर्न निर्देशन दिएका छन्। डीआईजी बास्तोलाले अपराध नियन्त्रणका क्रममा हुनसक्ने सम्भावित घटनालाई ध्यान दिएर काम गर्न प्रदेशका सबै प्रहरी युनिटलाई निर्देशन पनि दिए।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.