स्वर्गकुण्ड – गोसाइँकुण्ड !

लेकाली यात्रा

स्वर्गकुण्ड – गोसाइँकुण्ड !

आहा ! तल लमतन्न सुतेको गोसाइँकुण्ड छर्लंग देख्दा माथि डाँडामै मनले ‘आहा !’ भन्यो। जतिबेला हामी ४,३८० मिटरको उचाइमा स्वर्गसरिको कुण्डको प्रत्यक्षदर्शी बनेका थियौं।

बाह्र वर्षमा खोलो फर्किन्छ’ भन्ने नेपाली उखान गोसाइँकुण्ड यात्राले पुष्टि गरिदियो। ‘साइत’ जुराउने र जुर्ने सन्दर्भ यसै गर्दैन रहेछन् पञ्चांगकारहरू। दुईवटा हवाईयात्रा (काठमाडौं–नेपालगन्ज र नेपालगन्ज–दुनै, डोल्पा) पछि तीन दिन हिँडेर काठमाडौंबाट डोल्पाको से–फोक्सुण्डो ताल पुग्ने पंक्तिकारलाई ११७ किलोमिटर दूूरीको गोसाइँकुण्ड यात्रा असम्भव वा कठिन लागेर भने १२ वर्ष लागेको होइन।

तर ‘तीर्थ पुग्न साइत जुर्नैपर्छ’ भनेर बुढापाकाले यसै भनेका होइन रहेछन्। मन भएर, प्रयास गरेर र गइहालौं न भनेर मात्र नहुँदोरहेछ यस्ता विशेष स्थानहरू। सबैका बाबजुद पनि हामी दुईलाई १२ वर्ष लाग्यो, गोसाइँकुण्ड पुग्न। भन्नु के भन्नु र खै ! विवाह भएको २० लागेथ्यो हामी दुईलाई पोखरा पुग्न ! नजुरेपछि क्वैगरी नहुने। फेरि जुरेपछि केमात्र नहुने ! मुस्ताङमा पर्ने मुक्तिनाथ मन्दिर जाने सोच पनि १२ वर्षअघि नै पलाएको थियो। संयोग नै मान्नुपर्छ, गोसाइँकुण्डबाट फर्किएको चौथो दिन मुक्तिनाथ जाने साइत पनि जुर्‍यो। हामी फर्किएकै भोलिपल्ट छोरा अञ्चित पनि कलेजको टुरमा मुक्तिनाथ पुग्न पायो।

आफूलाई मन परेको र जाने भनेको ठाउँबारे मनस्थिति बनाएपछि त्यसको भिडियो, तस्बिर र सन्दर्भ जता पनि देखिने, सुनिने र पढिने रहेछ। चारैतिरबाट चिमोटिरहे पनि गोसाइँकुण्ड पुग्ने भन्ने विषयले हाम्रो मनमस्तिष्कमा दशकभन्दा लामो समय ओहोरदोहोर गरिरह्यो। भनिन्छ, प्रतीक्षाको फल मीठो हुन्छ। भनिन्छ, सहजै पाएको विषयको मूल्य पनि कम हुन्छ। पुगेपछि लाग्यो, भगवान् शिवले निकै ठूलो परीक्षापछि मात्र हामीलाई गोसाइँकुण्ड निम्ता गर्नुभयो।

कोरोनाकालमा अचानक एउटा काम आइपर्‍यो। शिवमहापुराण संस्कृत र नेपाली भाषामा तयार पार्नुपर्ने। जीवनसंगिनीले एक हजार हाराहारीका तीन भाग टाइप गरिन् र मैले ती ग्रन्थको नेपाली भाषाको सम्पादन। पशुपति क्षेत्र विकास कोषले तिनलाई प्रकाशन गरेर इतिहास रचेको छ। लाग्दैछ, यो काम सकेपछि बाटो फुकेको हो। लागिरहेछ, दशकभन्दा लामो प्रतीक्षापछि गोसाइँकुण्ड पुगेर हामीले महँगो र मीठो फल पाएका छौं। अन्ततः २०८० जेठ ५ गते शुक्रबार गोसाइँकुण्ड यात्राका लागि साइत जुर्‍यो। साइत यसरी जुर्‍यो कि केही घण्टामै दुईबाट १० जनाको टोली तयार भयो। ‘टुरिस्ट बस’मा थानकोट, गल्छीहुँदै रसुवाको धुन्चे पुग्यौं।

पहिलो दिन देउराली : रसुवा सदरमुकाम धुन्चे पंक्तिकारका लागि तेस्रो भ्रमण। यसअघि पहिलोपटक २०७२ सालको भूकम्पले पुर्‍याएको क्षतिको ‘न्युज रिपोर्टिङ’का क्रममा कोरला नाकासम्म र दोस्रोपटक नेपालमा आउने रेलका लागि चीनले बनाएको मुहान केरुङ जाँदा धुन्चेले स्वागत गरेको थियो। भारत–नेपाल–चीन जोड्ने त्रिदेशीय राजमार्ग बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक निर्माणको क्रममा स्थलगत भ्रमणका क्रममा भने छेवैमा पुगेर पनि धुन्चे टेक्ने अवसर जुरेको थिएन। ती दुवै यात्राको साइत सरकारी तवरबाट भएको थियो।

संसद्को तत्कालीन विकास समितिका सभापति रवीन्द्र अधिकारीले मैलुङ–स्याफ्रुबेसी भ्रमणमा नेपाली सेनासँगको सहकार्यमा ‘भीआईपी’ यात्रा गराउनु भएको थियो। दोस्रो, समितिकै अग्रसरतामा उहाँले नै नेपाली सेनाकै हेलिकप्टरमा धुन्चे र त्यसपछि पनि ‘भीआईपी’ टोलीमै केरुङ लैजानु भएको थियो। जीवनसंगिनी कमलादेवी गौतमसँगको धुन्चेयात्रा पहिलो थियो। योजनाबमोजिम धुन्चेमै सञ्चारकर्मी मित्र हेमनाथ खतिवडा भेटिनुभयो। काठमाडौंबाट गएको नौजनाको हाम्रो टोली १० जनाको भयो। मध्याह्न ३ बजे टोली धुन्चेबाट गोसाइँकुण्डतर्फ लाग्यो। मौसमले चुनौती दिइरहेको थियो। अलि अघि स–साना नानीबाबुले लामो र ठाडो उकालो यात्राको संकेत गर्दै लोरो बोक्न (किन्न) सुझाए। अक्सर पहाडी यात्रामै पनि पंक्तिकार लौरोलाई साथी बनाउन चाहँदैन।

यसै पनि यति लामो र कठिन भनिएको करिब १५ घण्टे ठाडो उकालो यो यात्रामा झन्डै १० किलोको ब्यागको भरिया बनेको थिएँ। तेर्सैतेर्सो हिँडेर तल घट्टे खोला पुग्यौं। छेवैमा ‘मिनी गोसाइँकुण्ड’ भेटियो। गोसाइँकुण्ड स्नान गर्न चाहने तर नसक्नेहरूका लागि त्यो उत्तम विकल्प रहेछ। ‘अब खास यात्रा सुरु हुन्छ, ठाडो उकालोले स्वागत गर्नेछ’, दर्जनौंपटक गोसाइँकुण्डको यात्रा गर्ने हेमले हामी सबैलाई ‘घण्टी’ बजाइदिनु भयो। लेखक प्रा.डा. तारानाथ शर्माको निबन्ध ‘घनघस्याको उकालो’ जस्तै उकालो सुरु भयो।

‘जहाँ गाह्रो त्यहाँ साह्रो’ भनेझैं त्यति नै खेर यात्रामा दर्के पानी सुरु भयो। सुरु भयो सबैको ‘स्याँ स्याँ र फ्याँ फ्याँ !’ सहरमा बस्ने सौखिनका लागि पहाडी यात्रा यसै कष्टकर, त्यसमाथि गोसाइँकुण्डको यात्रा ! सुनेको थिएँ, जोकोहीले गोसाइँकुण्ड पुग्न नचिताए हुन्छ। यो यात्रा सुनेजस्तो कठिन पनि होइन तर सहज पनि रैनछ। घट्टेखोला पुग्दा एक घण्टा र त्यसपछिको उकालो एक घण्टा हिँडेपछि धुम्मिएको मौसमले पनि सायद झमक्क परेजस्तो भयो। आकाशबाट पानी खनिएको खनिएकै छ।

शारीरिक दुःखले अन्ततः शरीरलाई स्वास्थ्य बनाउनेमा म भने ढुक्क थिएँ। ‘सुख, शान्ति र समृद्धि’को नारा दिएर हरेक नागरिकलाई शारीरिक एवं मानसिक रूपमा स्वस्थ्य बनाउने आध्यात्मिक संस्था ‘जीवन विज्ञान’मा गुरुदेवद्वय रमेश नेपाल र एलपी भानु शर्मा भन्नुहुन्थ्यो, ‘शरीरलाई दुःख दिए, मान्छेले सुख पाउँछ। शरीरलाई सुख दिनेले आफू दुःख पाउँछ।’ यो गहिरो जीवनदर्शन ‘सहरवासी भर्सेस गाउँवासी’ जस्तै छ। करिब चारघण्टे यात्रापछि त्यो साँझ/रात देउरालीले स्वागत गर्‍यो।

दोस्रो दिन दिनभर उकालो : सहरमा सवारीमै यत्रतत्र सर्वत्र पुग्नेले पैदल खासै थाहा पाउँदैन। बिहानैदेखि ८ घण्टाको काठमाडौं–धुन्चे बसयात्रा र त्यसपछि ४/५ घण्टाको पैदलयात्राले थकित शरीर बिहान उठ्न सकस मान्नु स्वाभाविकै थियो। ‘गन्तव्य’ले सुतिराखेरै पनि सुख दिनेवाला थिएन। यसै पनि हिजो राति होटलमा केही खाट लस्करै खप्ट्याएर हामी १० लाई उकुसमुकुस हुनेगरी होटलवालाले सुताएको थियो। कच्पल्टिएको निद्रा मुसार्दै बिहानै ५ बजे पुनः अझ ठाडो उकालो उक्लिन थाल्यौं। बेलाबेला लाग्थ्यो– गोसाइँकुण्ड हाम्रा लागि सगरमाथा हो भने यो उकालो मानौं आधारशिविर। तलै त्यस्तो हविगत भएपछि उहाँलाई कसरी ‘गन्तव्य’ चुमाउनु ? कसो कसो गरेर दिम्सा पुर्‍याउनुभयो उहाँका श्रीमान् हरिहरले। दिम्साको दर्शन, चियापान र चारैतिर हरियाली अनि हिमालले हामीलाई ‘रिचार्ज’ गराइदियो।

हाम्रो गन्तव्य थियो– गोसाइँकुण्ड। जुन ४,३८० मिटर अर्थात् १४,३६६ फिट उचाइमा थियो। यति उचाइचुमाइ हामी दुवैका लागि पहिलो थियो। यसअघि ३,६११ मिटर अग्लो सुदूरपश्चिम कर्णाली प्रदेशको डोल्पाको से–फोक्सुण्डो पुगेको थिएँ। छोरा अञ्चितसहित सुदूरपूर्वी पहाडी जिल्ला ताप्लेजुङमा अवस्थित पाथीभारा ३,७९४ मिटर अग्लो तीर्थ हामी तीनैजना पुगेका थियौं। दिम्साबाट चन्दनबारीहुँदै चोलाङपाटी पुगेर खानपिनमा जुट्यौं। त्यसपछि लौरीबिना पुगेर ठाडो उकालो, बुद्ध मन्दिर पुगेपछि पनि फेरि उकालैउकालो निरन्तर उक्लिइरह्यौं।

धेरैबाट कुरो उठेथ्यो– लौरीबिनाको उकालो ! हामीले दिम्सा पुग्नुअघिको ठाडो उकालो पचाएकाले सायद लौरीबिनाको उकालोले त्यसरी तर्साउन सकेन। हुन त क्रमशः ‘हाई अल्टिच्युड’ले जिस्क्याइरहेको ‘फिल’ हुन्थ्यो नै। गोसाइँकुण्ड पुगेर फर्किएका प्रायःलाई सोध्थ्यौं– यात्रा कस्तो भयो ? के कस्ता अप्ठ्यारा छन् ? अब कति समय लाग्ला ? आदि। कुण्डमै रात बिताएकाले भने– ‘तपाईंहरू त कुण्डमा बास नबस्नु होला है। हामी त सास फेर्न नसकेर झन्डै...! दुईजना त बेहोस नै भए।’

मलाई डर एउटै कुराको थियो। कतै जीवनसंगिनीले अबर त पार्दिनन् ? हिँडेदेखि हामी आठैजनाले खाना दुई छाक, खाजाहरू र लेक नलागोस् भनेर सातु, अदुवा, तातोपानी, चकलेट आदि खाइरहेका थियौं। बिहानै अबर पारिसकेकी दिदी र मेरी साथी खाना नखाने। संगिनीले भनेकी थिइन्– म त सातु र फलफूलबाहेक केही नखाई गोसाइँकुण्ड पुग्ने। भयो... अब। न अस्पताल न केही उपचार ! बेहोस भएर ढलिन् भने ? यसै पनि दुईपटक दुवै खुट्टा लेगामेन्ट टियर भएकी उनी तिनै खुट्टाले हिँडेर कसरी गोसाइँकुण्ड पुग्लिन् ? मनभरि समस्याका पोका पनि थिएँ।

लेकतिर जाँदाको यस्तो यात्रामा फटाफट हिँड्न नसकिने, हिँडिहाले पनि लेक लाग्ने, रोकिएर बस्दा पनि गोडामा कौंडा लाग्ने, थकान बढ्दै जाने, गन्तव्यका कारण भनेका ठाउँमा बस्न पनि नमिल्ने अर्थात् पुग्नैपर्ने बाध्यता, जे पायो त्यही खान पनि नमिल्ने, मिले पनि सबै बोकेर साथमा पुर्‍याउन पनि नसकिने। चौतर्फी सोच्नुपर्ने ! सम्भावित खतराबाट बच्न बुद्धिको बिर्को यात्रा तय गर्नुअघि नै खोल्नुपर्ने ! मन डरैडरले भरिएको हुन्छ, नयाँ ठाउँ पुग्दाको उमंग र उत्साह पनि सँगै हुने। घण्टौंको यात्राले पाइला सार्न पनि नसकिने, नसारेर पनि केही विकल्प नभेटिने। बडो गजब हुन्छ लेकको गन्तव्य।

अब पुगियो, अब आइपुग्यो भन्दाभन्दै पनि झन्डै दुई घण्टा हिडिँयो। डोल्पामा बरु उकालो–ओरालो पालैपालो हिँड्न पाइयो। गोसाइँकुण्ड जानु भनेकै उकालै मात्र हिँड्ने भनेर बुझे हुनेरहेछ। हिउँ नै हिउँ देखिन थालेपछि त्यसकै बीचमा गोसाइँकुण्ड देखाउँदा मन ढक्क फुल्थ्यो। त्यहाँ कसरी पुग्ने होला ? मनमा प्रश्न सल्बलाउँथे। आकाश मडारिन थालेको थियो। मौसम बदलिँदै गर्दा गन्तव्यमा थुप्रै चुनौती सामना गर्नुपर्ने हो कि ? भन्ने भइरहेको थियो।
आकाशबाट अचानक ससाना सेता दाना झर्न थाले। मलाई त हिउँ पर्न थालेजस्तै भयो। हामी लौरीबिना र गोसाइँकुण्डको बीचभागतिर थियौं सायद। दर्जनौं चुचुरा पहाडहरू छिचोलिसकेका हामी लखतरान थियौं। एउटै जोशले तानिरहेको थियो, त्यो हो गोसाइँकुण्ड पुग्ने, हेर्ने र डुबुल्की मार्ने। अग्ला पहाडहरूको कम्मरमा पेटी बाँधेजस्तो गोरेटो बाटोमा थियौं। माथि हेर्दा टोपी झर्ने तल हेर्दा आँखाले ठम्याउन नसक्ने दृश्यले मन तरंगित थियो। कनिका जस्तो झर्ने हिउँका ती दाना हिउँ पर्नुअघिको संकेत रहेछ। त्यसलाई ‘खेस्रे’ भन्दा रहेछन्। खेस्रेसँगै बटारिएको हावा। त्यो हावाले तलबाट माथि हुत्याएको खेस्रेले आँखामा झ्यापझ्यापी हान्थ्यो। हिँड्न सजिलो हुने रेनकोटले पनि आधामात्र धान्न थाल्यो। जेनतेन साढे तीन बजे गोसाइँकुण्ड पुग्यौं।

कुण्ड पुग्दा निस्केको ‘आहा !’ : गन्तव्य अर्थात् गोसाइँकुण्ड ! न लेक लाग्यो, न त कुनै समस्या नै भयो। सर्लक्कै कुण्ड पुगियो। यति लामो यात्रामा थाक्नु र स्याँस्याँ हुनु स्वाभाविकै हो। जीवनसंगिनी नखाएरै गोसाइँकुण्ड पुग्नुले मलाई अर्को आश्चार्य थपेको थियो। त्यो इच्छाशक्ति देखेर म दंगदास थिएँ। शिवकै आशीर्वाद ठानें। अहिले सम्झेर ल्याउँदा मलाई पनि त्यो शक्ति प्राप्त भएको हुनुपर्छ– मानौं म वल्लो डाँडोबाट पल्लो डाँडो पुगेको हुँजस्तै गरी धुन्चेबाट कुण्ड पुगें।

आहा ! तल लमतन्न सुतेको गोसाइँकुण्ड छर्लंग देख्दा माथि डाँडामै मनले आहा ! भन्यो। हामी ४,३८० मिटरको उचाइमा स्वर्गसरिको कुण्डको प्रत्यक्षदर्शी बनेका थियौं। संगिनी कमलाले भनेकी थिइन्, ‘देउरालीमा सबै निदाउनु भयो, मलाई जतिबेला पनि गोसाइँकुण्ड आँखाभरि आइरह्यो। जे देखेको थिएँ, आखिर त्यही दर्शन भयो।’ उनले बाटोमा सुनाएकी थिइन्, ‘बाटोको मौसम देख्नु, भोग्नु भएको छ नि। हामी कुण्ड पुग्दा यो सबै हराउने छ अनि मजाले घाम लाग्नेछन्।’ नभन्दै भयो त्यही। उनले पाएको दिव्य ज्ञानले म पुनः चकित बनें।

झन्डै पौने ४ मा गोसाइँकुण्डमा डुबुल्की मार्‍यौं। भनाइ नै छ, धर्मात्माले कुण्डमा शिवजीको स्वरूप देख्छ रे। कमलाले देखें भनिन्। त्यसपछि शिवले त्रिशूल हानेर निकालेको धारामा पुगेर पूजापाठ गर्‍र्यौं। स्नान सक्नेबित्तिकै मौसमले फेरि उस्तैगरी निहुँ खोज्यो। हेर्दाहेर्दै ‘खेस्रे’ले दपेट्न थाल्यो। आकाश कालोमैलो भयो। हामी कुण्डमै बस्ने ‘मुड’मा थिएनौं। सुनेका थियौं, रातभर सास फेर्न नसकेर...! हो पनि रहेछ– हिउँ नै हिउँ न रूखबुट्यान केही छैनन्। हिँड्न पनि हिउँ परिहाले कठिन हुने।

शिवसँग शक्ति लिएर फर्किन थाल्यौं। हिउँले स्वागत गर्‍यो। झन्डै चार घण्टा हिउँमा हिँडेको अनुभव पनि पायौं। २०५९ सालमा बेहुली लिएर फर्कंदा पाँचथरमा पहिलोपटक हिउँ समातेको थिएँ। गोसाइँकुण्डको यात्रामा आँखाभरि हिउँ, भुइँभरि हिउँ, हिउँ नै हिउँ। लौरीबिना पुगेर बास बसेपछि भोलिपल्ट बिहान हिउँको बेग्लै संसारमा रमायौं। रातभर हिउँ परेछ। बिहानको घाम अनि भुइँभरि हिउँ। लौरीबिना आइपुग्ने बेलाको हावाहुरी र हिउँसँगको पानीको चुटाइ बिर्सिनसक्नु रह्यो। मान्छे उडाउने गरीको हुण्डरीबाट बचियो। खचाखच होटल, जे पायौं खायौं अनि सुत्यौं तर सास अक्सिजन कम भएर उकुसमुकुस !

गोसाइँकुण्ड/शिवकुण्ड/कार्पु छोकर: हिन्दु धर्मशास्त्रमा गोसाइँकुण्डको उत्पत्ति कथा शिवजीसँग जोडिएको छ। यो हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल रहेछ। पशुपतिनाथ पनि यी दुवै जोडिएको १२ मध्येको मुख्य ज्योतिर्लिंग हो। गोसाइँकुण्ड शिवकुण्डका नामले पनि परिचित छ। हिन्दुहरू विशेषत जनैपूर्णिमामा कुण्ड स्नानमा पुग्छन्। अर्को महŒवपूर्ण यात्रा गंगा दशहरा। हामीले २०८० को गंगा दशहराको पहिलो दिन डुबुल्की मार्ने सौभाग्य प्राप्त गरेछौं। तामाङ भाषीले यो कुण्डलाई ‘कार्पु छोकर’ भन्दा रहेछन्। कुण्डको नजिक सूचना स्तम्भ भेट्यौं।

लेखिए रहेछ– गोसाइँकुण्डको सतहको क्षेत्रफल १३.८० हेक्टर, लम्बाइ ६२५.५५ मिटर, चौडाइ ३०२ मिटर र पानीको आयातन १४,७२,००० घनमिटर। सूचना अनुसार १०० भन्दा बढी प्रजातिका फूल फुल्दा रहेछन् त्यस क्षेत्रमा। २०६४ असोज ६ गते उक्त क्षेत्रसहित ९ स्थानलाई रामसारमा सूचीकृत गरिएको रहेछ। जसकारण दुर्लभ, संकटाभिमुख र संकटापन्न जीवजन्तुको संरक्षण र संवद्र्धन भएको छ। आसपासमा दर्जनौं कुण्ड रहेछन्।

जिउँदो सिंहको जलसमाधि: अमरसिंह थापा (१८०८ साउन १२) बडाकाजीमात्र होइन नेपालका एकमात्र ‘जिउँदो सिंह’ (लिभिङ लायन अफ नेपाल) को उपाधिले पनि चिनिन्छन्। उनी राष्ट्रिय विभूति पनि हुन्। सुगौली सन्धिको अन्तिम ड्राफ्टमा उनी थिए। त्यसअघि युद्ध लडेर नियन्त्रणमा लिएका कैयौं भूभागका सम्बन्धमा सन्धिमा बडाकाजीले सोचेजस्तो भएन। तत्कालीन नेपाल दरबारका राजा, भारदारहरूले अंग्रेजसँग सुगौली सन्धि गरे। जसमा अखण्ड नेपालका केही भूभाग गुम्न पुगे।

मेचीपूर्व टिष्टासम्मको हिस्सा र पश्चिममा महाकाली नदीपारिका केही भूमाग गुम्नेगरी सन्धि गरियो। उक्त कार्यमा चित्त नबुझेपछि बडाकाजीले गोसाइँकुण्ड पुगेर जलसमाधि लिएको पाइन्छ। बडाकाजी दम्पतीले छेवैको चट्टानी ओढारमा बास बसेको १६औं दिनमा (१८७३ साउन १६ गते) तान्त्रिक विधि पूरा गरी गोसाइँकुण्डमा एकसाथ जल समाधि (जलयोग) लिएको इतिहास छ।

तीन दिने जोश र होश: ‘बर्बादै भयो। हरे राम। लौन एउटी बुढीआमै लेक लागेर बाटोमै ढलिन्। एक्लै छन्। कोही त फर्किनोस्। ज्यान बचाइदिनोस्...!’ अर्की आमै हस्याङफस्याङ गर्दै सकिनसकी दौडिँदै अघि बढिन्। कुण्ड स्नानपछि हिउँको स्वागतमा ओरालो झर्दै थियौं। हिउँले आँखा उघार्नसमेत मुस्किल हुँदै जाडोमा स्युँ स्युँको यात्रा। आफैंलाई कसैले बोकेर धुन्चे पुर्‍याइदिए हुने भन्ने अवस्था छ। के गर्ने त ? छरप्रस्ट हाम्रो टोलीका भेटिए जति मुखामुख गर्‍यौं।

उपाय र अवस्था अनुकूल थिएन। पर्दा गर्नुपर्ने सहयोग हो त्यो सकेनौं। मन कुँड्याएर पाइला सार्दै थियौं। आमैकै टोलीका केही कुण्डतिर दौडिए। मन अलिकति शान्त भयो। केहीबेरमै झोलीतुम्लामा चार/पाँच जनाले ती आमैलाई ओरालोतिर अघि बढाए। जाँदा बेलाबखतको भेटमा बोल्ने आमैले कुण्ड पुगेपछि चुरोट तानिछन्। सायद सास बढ्यो अनि लेक पनि लाग्यो 

होला। ‘आमैको अवस्था नाजुक छ, उपाय खासै छैन...!’ एकजनाले भने। न एक/दुई घण्टामा स्वास्थ्य चौकी छ न सवारीसाधन। घोडा पनि लौरीबिनाको उकालो र बुद्ध मन्दिरसम्ममात्र। त्यसमाथि फाट्टफुट्ट आए पनि आमै चढ्ने र अडिन सक्ने उपाय कहाँ हुनु र ?

रातभर लौरीबिनामा राखेछन्। भोलिबिहान पुनः दौडाउँदै चोलाङपाटीतिर दौडाए। ‘रातभर लगभग माया मार्‍यौं। हेलिकोप्टर बोलाएका छौं’, कसैले सुनायो। चोलाङपाटी नेपाली सेना आएछ, प्राथमिक उपचार गरेपछि अथवा भइन् आमै। त्यसपछि भाडामा बोक्ने स्थानीयले सकिनसकी देउरालीतिर ओराल्दै थिए। लाग्यो, तामाङ्नी आमैले पुनर्जीवन पाइन्। लाग्यो, सरकारले तीर्थयात्रीका लागि यस्ता आपतविपतका उपाय ठाउँठाउँमा निकाल्नै पर्छ। नत्र ज्यान जाने खतरा धेरैको देखियो।

कुण्डबाट हुर्रिएरै हिउँ र हुन्डरीका कारण लौरीबिना आयौं र बास बस्यौं। भोलिपल्ट त पाइला चाल्नै गाह्रो भो मलाई। बिहान चारैतिरको हिउँ। हिँड्न नजानेर दुई/चार ठाउँमा हिउँमा चिप्लेटी खेलिहालियो। त्यसपछि त पाइला गन्दै, एउटा होइन दुईवटा लौरा टेक्दै, साथीसंगीको हात समाउँदै कछुवा गतिमा देउराली आइपुग्यौं। दिम्सापछिको ओरालोमा साली यमुनालाई पनि घुँडाकै समस्या भयो। साडुभाइ प्रह्लाद नेपाल, उहाँका भतिज सन्तोष नेपाल र बुहारी सुनिता सत्याल नेपालको यात्रा सहज रह्यो। दिम्साको उकालो चढ्दा अघिल्लो दिन कठिन परिस्थिति सामना गर्ने रेग्मीजोडी सबिता–हरिहर र रोशन खत्रीले यात्रा गजब बनाउनु भयो।

लगभग सबैको हालत भइसकेको थियो थाकेर। घुँडाले पाइलै चाल्न समस्या भएको बुझेपछि हेमजीले फोन गर्नुभएछ। कुण्ड उक्लिँदा बिदाइ गर्ने राससका ज्ञानेन्द्रनाथ न्यौपाने दाइले स्कोरपियो लिएर वरसम्म आउनुभएछ। झन्डै एक घण्टा हिँड्न नपर्दाको खुसी हामीले अनुभूति गर्‍यौं। धुन्चेमा काठमाडौं आउने अर्को स्कोरपियो भेटियो रिजर्भमा। पहिलो दिन काठमाडौं–धुन्चेहुँदै देउराली बसेर दोस्रो दिन कुण्ड पुगेर लौरीबिना पुगेका हामी तेस्रो दिन त धुन्चे हुँदै काठमाडौं !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.