प्रधानमन्त्रीलाई रास्वपाको सुझाव : चीनलाई नेपालको नक्साबारे जानकारी गराउनुहोस्
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई सात बुँदे लिखित सुझाव दिएको छ। अमेरिका र चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले आइतबार बिहान बोलाएको बैठकपछि रास्वपा सांसदहरूले सात बुँदे लिखित जवाफ दिएको पार्टीका उपसभापति एवं सांसद डोरप्रसाद अर्यालले जानकारी दिए।
उनले नक्साको विषयमा जनताले थाहा पाउनेगरी चीनसँग धारणा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।
केही समयअघि चीनले आफ्नो नक्सामा छिमिकी मुलुकको नक्सा सार्वजनिक गर्दा नेपालको पुरानै नक्सा नै राखेको थियो। सो विषयलाई लिएर पछिल्लो समय आलोचना हुँदै आएको छ।
'पछिल्लो समय चीनले सार्वजनिक गरेको नेपालको नक्साको विषयमा जनताले थाहा पाउने लेभलमा देशको धारणा राख्नुपर्यो भन्ने सुझाव दिएका छौं,'उनले भने,' बोर्डर खुला गर्ने विषयमा पनि छलफल गर्न भनेका छौं। अर्को कुरा भारत भ्रमणमा अनुशासन र जम्बो टोलीका विषयमा कुरा उठेकाले यस विषयमा पनि सचेत हुन आग्रह गरेका छौं।'
बैठकमा प्रधानमन्त्री दाहालले निकै महत्वपूर्ण सुझावहरू प्राप्त भएकाले आसन्न चीन भ्रमणलाई बढिभन्दा बढी फलदायी बनाउने प्रयास गर्ने बताएका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बसेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू,परराष्ट्र मन्त्री,पूर्वपरराष्ट्र मन्त्रीहरू सहभागी थिए।
प्रधानमन्त्री दाहाल आगामी भदौ ३० गते संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जाँदै छन्। त्यहाँ असोज ४ गते महासभालाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री दाहाल त्यहीबाटै चीन भ्रमणमा जाने कार्यतालिका रहेको छ।
प्रतिक्रिया दिनुहोस !