स्रोत नखुलेको १० लाख भारुसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ
विराटनगर : अवैध भारतीय रकमसहित विराटनगरबाट प्रहरीले आइतबार एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी सीमाको टोलीले भारत बिहारको खगडीया गाउँ पञ्चायत महेशखुटका ३२ वर्षीय चन्दनकुमार यादवलाई पक्राउ गरेको हो ।
यादवलाई विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट बिहान १०:२० बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाको साथबाट १० लाख ५० हजार भारतीय रूपैयाँ बरामद भएको छ ।
पैदल रहेका यादवले बोकेको झोलाबाट ५ सय दरका भारतीय नोट बरामद गरिएको दाहालले बताए । नेपालमा प्रयोगमा प्रतिबन्ध रहेको नोटसहित पक्राउ परेका यादवमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बरामद भएको नोटसहित यादवलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी प्रहरीले गरेको छ ।
प्रतिक्रिया दिनुहोस !