नेम्वाङ मेरा लागि पार्टीको उपाध्यक्षमात्र होइन, हितैषी र साथी : अध्यक्ष ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक संविधान निर्माण गर्न सुवासचन्द्र नेम्वाङले पुर्याएको योगदान सधैं सम्झिरहने बताएका छन्। मंगलबार बिहान १:४० बजे संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन भएपश्चात उनले यस्तो बताएका हुन्।
ओलीले नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्षमात्र नभएर हितैषी मित्र र सुखदुःखको साथी भएको बताएका छन्।
नेम्वाङ हितैषी मित्र र सुख दुःखको साथी रहेको ओलीको भनाइ छ। ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौं।’ पूर्वप्रधानमन्त्री ओलीले फेसबुकमार्फत भनेका छन्, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !’
एमाले संसदीय दलको उपनेता नेम्वाङको निधन भएको जानकारी पाएलगत्तै अध्यक्ष ओली अस्पतालमा पुगेका थिए।