३ अर्ब ५० करोड बिगो मागदाबी, ५० जना प्रतिवादी

६० केजी सुन तस्करी प्रकरण

३ अर्ब ५० करोड बिगो मागदाबी, ५० जना प्रतिवादी

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘ब्रेक सु’ लगायतका माध्यमबाट भएको सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाउन राय दिइएको छ। सीआईबीले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार पास भएर बाहिरिएको ६० केजी ७ सय १६ ग्राम सुन तस्करी प्रकरणको अनुसन्धान गरेको थियो। सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँबराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै रकम बराबरको बिगो माग दाबी गरिएको छ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले सुन तस्करी प्रकरणमा ३२ जना प्रहरी हिरासतमा रहेको जानकारी दिइन्। १८ जना फरार छन्। जसमा १४ जना विदेशी नागरिक छन्। प्रहरी हिरासतमा भएकामध्ये ९ जना विदेशी नागरिक हुन्। सीआईबी प्रमुख एआईजी बज्राचार्यका अनुसार साउन ३ गते ६० किलो सुन समातिएपछि पनि विभिन्न माध्यमबाट तस्करी भएको ३ क्विन्टल बढी सुन प्रहरीले बरामद गरेको तथ्यांक छ। ‘चिनियाँ तस्करहरूले नेपाललाई सुन तस्करीको अखडा नै बनाएको छ। सुन प्रकरणमा प्रहरीले गरेको कारबाहीले नेपालमा चिनियाँ नागरिकले फैलाएको तस्करीको जालो भत्काएको छ,’ उनले भनिन्, ‘अब यस्ता अपराधले प्रश्रय नपाउन भनेर हामी चनाखो भएका छौं।’

संगठित रूपमा फैलिएको सुन तस्करी नेपाल हुँदै भारत पुर्‍याउन लागिएको प्रहरीले जनाएको छ। प्रहरी अनुसन्धानका क्रममा बरामद भएको सुन चिनियाँ नागरिकको रहेको खुलेको छ। सीआईबी प्रमुख एआईजी भन्छिन्, यस्तो अपराधमा नेपाली नागरिक संलग्न हुनु दुखद् कुरा हो। ८ जना त सरकारी कर्मचारी नै सलग्न छन्। सुन तस्करी प्रकरणमा २९ जनालाई मुद्दा चलाउने राय सीआईबीले दिएको छ। जसमा  ९ जना विदेशी छन्। ७ जना चिनियाँ नागरिक, १ भारतीय र एक बेल्जियमका नागरिक छन्। तस्करीमा ताइवानी नागरिकसमेत सलग्न छन्। 

सातवटा ऐनअनुसारको कसुर 

सीआईबीले सरकारी वकिल कार्यालयलाई बुझाएको अनुसन्धान प्रतिवेदनमा सुन तस्करी प्रकरणमा सलग्नविरुद्ध सातवटा ऐनको दफा अनुसारको कसुरमा मुद्दा चलाउन राय दिएको छ। जसमा भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकीकृत कसुर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसुर छन्। 

३ साउनमा बरामद ६०.७१६ किलो सुनको अनुसन्धान सकेको सीआईबीले थप ३०२.०६ अर्थात् कुल ३६२ किलो ७७८ ग्राम सुन ब्रेक सुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको हो। साथै यो समूहले अरू विद्युतीय उपकरणमा पनि लुकाएर सुन तस्करी गरेको देखिएकाले पूरक अनुसन्धान गर्ने सीआईबीले बताएको छ।े रेडिट्रेड प्रालिबाट पटक–पटक गरी ३६२ किलो ७७८ ग्राम सुन नेपाल भित्रिएको प्रहरीको  दाबी गरेको छ। 

सुन तस्करका लागि ७ वटा कम्पनी खडा

सुन अवैध पैठारी गर्न खडा गरिएका अन्य पाँचवटा कम्पनीमार्फत ल्याइएको सुनको विवरणको पनि थप अनुसन्धान जारी राखिएको सीआईबीले बताएको छ। सरकारी वकिललाई बुझाएको प्रतिवेदनमा सुन तस्करका लागि तस्करले नेपालमा ७ वटा कम्पनी स्थापना गरेका छन्। विभिन्न सोझासाझा नागरिकलाई प्रलोभन दिएर उनीहरूको विवरण प्रयोग गरेर यी कम्पनी खोलिएको सीआईबीले बताएको छ। जसमा च्यांगुक इलेक्टिक सप्लायर्स, भुजेल इलेक्ट्रिक सप्लायर्स, ह्वाडा इलेक्टिक सप्लायर्स, पवाठी इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स, रेडिटे«ड प्रालि र सरिता सप्लायर्स छन्। 

यस प्रकरणमा संलग्न ५ जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता तथा राहदानीसमेत लिएको पुष्टि भएकाले ५ जना विदेशीउपर नेपाली नागरिकता ऐन र राहदानी ऐनअन्तर्गत पनि कानुनी कारबाही हुने प्रतिवेदनमा उल्लेख छ। 

गत असार ३ मा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीकको टोलीले सिनामंगलस्थित त्रिवि भन्सार कार्यालय परिसरबाहिर बा२ज २३२४ नम्बरको ट्याक्सीमा गाडीको ब्रेक प्याड १६० सेटसहित ८ कार्टुन बरामद गरेको थियो। बरामद भएको उक्त ब्रेक प्याडमा अवैध सुन भएको पुष्टि भएको थियो। ब्रेक प्याड, सेभर, स्मार्ट वाचलगायतका उपकरण प्रयोग गरेर सुन तस्करी हुने गरेको पनि अनुसन्धानमा देखिएको छ। ६०.७१६ केजी सुन, ११८० सेट ब्रेक प्याड, सुन गाल्ने मेसिन १० वटा बरामद भएको थियो।

सुनको अवैध पैठारी अन्तरदेशीय आपराधिक संगठित सञ्जाल नै सक्रिय सीआईबीको दाबी छ। यस अपराधमा अवैध कारोबारका लागि अन्तर्राष्ट्रिय स्तरका भुक्तानी प्रणालीको समेत प्रयोग भएर्का निष्कर्ष सीआईबीले निकालेको छ। रकम भुक्तानीका लागि किप्टोकरेन्सी, अलिपे, एन्टपे, ग्लोवपे, वीन पेलगायतका प्रणाली प्रयोग भएका छन्। सुनको भुक्तानी र विदेशी मुद्राको अवैध कारोबारमा समेत यो सञ्जाल सक्रिय रहेकाले यो विषयमा नेपाल राष्ट्र बैंकसमेतको सहयोगमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। 

प्रहरीका अनुसार सुनको कारोबारको मुख्य डिल हङकङमा हुने गथ्र्यो। सुन किन्ने बेच्ने मानिससित गोप्य कोडको माध्यमबाट कुराकानी हुने गरेको तथ्य सीआईबीले जनाएको छ। सुन पगालेर बिस्कुट आकारमा तयार गरी बेच्ने गरिएको, सुन गाल्नका लागि काठमाडौंको टोखा र लाजिम्पाटमा कारखाना नै खोलिएको थियो। 

सीआईबीले करिब ६१ केजी सुन प्रकरणमा एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पुर्‍याउने मुख्य ‘व्यवस्थापक’ को रूपमा किटान गरेको छ। यस अपराधमा संलग्नविरुद्ध संगठित अपराध, राजस्व÷भन्सार छली र नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष सीआईबीको छ। चिनियाँ नागरिकले काभ्रे र काठमाडौंबाट नक्कली नेपाली नागरिकता पनि लिएको अनुसन्धानका क्रममा भेटिएको छ।

सीआईबीका एसएसपी दिनेश आचार्यका अनुसार केही मुख्य योजनाकार फरार रहेकाले यस प्रकरणमा पूरक अनुसन्धान गरिने जानकारी दिए। आर्चाय भन्छन्, ‘तस्करीमा संलग्नता देखिए पनि कतिपय पक्राउ नपरेका कारण उनीहरूको हकमा पछि अनुसन्धानबाट खुलेबमोजिम हुने गरी अभियोजन गर्नुपर्ने देखिन्छ। फरार आरोपितको खोजी भइरहेकाले नाम सार्वजनिक नगरिएको आर्चायले बताए। दावाकी श्रीमती अमला रोक्कासहित १८ जना फरार छन्। 

सुन तस्करी आरोपमा तिब्बती मूलका भारतीय नागरिक छिरिङ थुप्तिन, चिनियाँहरू नेङकाई ली, सेग फा दिङ, एलेक्स भनिने याओ फुचेङ, अली भनिने वेन सुङ ली, जिक्वाङ लिन, तियान मी र वेन योङ बेल्जियन नागरिक दावा छिरिङको संलग्नता देखिएको छ। अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका एजेन्टहरू राजेन्द्रकुमार राई, यादव पराजुली, रुक्मिना सुब्बा र सुदर्शन गौतम, विमानस्थल भन्सारका तीन अधिकृत सन्तोष चन्द, पुष्पा जोशी र गणेश पौडेल, तीन जना नासु कमल परियार, वीरेन्द्र नेपाली र सरोज श्रेष्ठ तथा खरिदार कुमार ढकाल पनि पक्राउ परेका छन। 

तस्करीको सुन बोक्ने भरिया÷ट्याक्सी ड्राइभर अशोक लामा, ब्रेक सुमा सुन ल्याउने कम्पनी रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, सुन तस्करका सहयोगीहरू हर्कराज राई र नरेश तामाङ, हङकङबाट सुनसहितका सामान ल्याउने कार्गो कम्पनी ट्रान्स ग्लोबलका सञ्चालकद्वय कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्ट, एलिस ट्रान्स ग्रुपका सञ्चालक राजनकुमार श्रेष्ठ, दावा छिरिङका साझेदार किशोर बस्नेत, तस्करीको सुन व्यापारी र भारतसम्म पुर्‍याउने सुमन खरेल तथा सुनचाँदी व्यवसायी शिव सर्राफ पनि प्रहरी हिरासतमा छन्। यस्तै सुमन खरेललाई पनि प्रहरीले पक्राउ गरेको छ। 

भन्सारका कर्मचारीले सुन तस्करीमा सहयोग गरेको सीआईबीको दाबी छ। भन्सार एजेन्टले सुन छुटाउनका लागि भूमिका खेलेको प्रहरी प्रतिवेदनमा उल्लेख छ। पक्राउ परेका चिनियाँ नागरिक एलेक्स मुख्य कारोबारी भएको सीर्आबीको दाबी छ। प्रहरीका अनुसार नेपालबाट भारतसम्म सुन पुर्‍याउनका लागि उनकै योजना थियो। बेल्जियम नागरिक दावाले सुन तस्करीलाई संरक्षण गर्ने र राजनीतिक पहुँच विस्तार गरी अपराध गरेको प्रहरीको निष्कर्ष छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.