चिकित्सकको डायरी
घटना १ : कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा आठ दिनकी सुत्केरीको मृत्यु भयो। सोही रात अस्पताल परिवार तनावपूर्ण बनेको थियो। अस्पतालको आईसीयूमा उपचाररत मोरङको रंगेली नगरपालिका–३ की १८ वर्षीया सुलेखा मण्डल कामतलाई राति ८ बजेतिर चिकित्सकले मृत घोषित गरेका थिए। सुलेखाले साउन २४ गते रंगेली अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन्।
घटना २ : गर्भवती महिलाको मृत्यु भएपछि जिल्ला अस्पताल सिन्धुली पनि तनावग्रस्त बन्यो। चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतक महिलाका आफन्त आक्रोशित बनेपछि सिन्धुली अस्पताल तनावग्रस्त बनेको हो। कमलामाई नगरपालिका–५ की गंगा गुरुङको केही दिनअघि उपचारको क्रममा मृत्यु भयो।
घटना ३ : पोखरा महानगरपालिका–१६, बाटुलेचौरमा रहेको मातृृशिशु मितेरी अस्पतालमा सुत्केरीको मृत्यु भएपछि परिवारजनले अस्पतालप्रति प्रश्न उठाएका छन्।
मृत्यु हुनेमा म्याग्दी घर भई हाल पोखरा १६ बस्दै आएकी २४ वर्षीया नीलम पुनमगर छन्। साउन २९ गते अस्पताल पु¥याइएकी मगरको ३० गते अपरेसनबाट छोरी जन्माएकी थिइन्। मृतकका आफन्तले अस्पतालले सुत्केरीको उपचारमा लापरबाहीको जिम्मेवारी लिनुपर्ने र घटनाबारे प्रस्ट खुलाउनुपर्ने जस्ता माग राखेका छन्।
अस्पतालमै प्रसव गरेर पनि मृत्युवरण भएपछि भएका यी घटना समाचारमा प्रकाशित केही प्रतिनिधिमूलक हुन्। मृत्युको कारण जे भए पनि लाग्ने ‘ट्याग’ चाहिँ ‘चिकित्सकको लापरबाही’ हो। र, माग क्षतिपूर्ति तथा रोजगार नै हो। यस अवस्थामा साउन महिनाको अन्तिम दिन ३२ गते मोरङ रतुवामाईबाट ३० हप्ताको गर्भ लिएर संगीता सिंह (नाम परिवर्तन) मोरङ सहकारी अस्पताल विराटनगर आइन्। उनको यो पहिलो गर्भ थियो। अस्पताल आउँदा उनको रक्तचाप उच्च (१७०÷११०) थियो र मूच्र्छा पर्ने समस्या पनि थियो। चिकित्सकीय भाषामा गर्भवतीको उच्च रक्तचापले आएको यस जटिलतालाई इक्लेम्पसिया भनिन्छ। यो एउटा गम्भीर अवस्था हो।
इक्लेम्पसिया र प्रिइक्लेम्पसियाले विश्वव्यापी रूपमा वार्षिक लगभग ६३ हजार मातृमृत्यु हुने गरेको तथ्यांकले देखाएको छ। संयुक्त राज्य अमेरिका र ग्रेट ब्रिटेनमा इक्लेम्पसियाका कारण कुल मातृमृत्युको क्रमश: ५ दशमलव ६ प्रतिशत र ११.८ प्रतिशत छ। भारतमा इक्लेम्पसियाका कारण २३ प्रतिशतसम्म मातृमृत्यु हुने गरेको तथ्यांकले देखाउँछ। इक्लेम्पसिया तथा प्रिइक्लेम्पसिया गर्भावस्थामा हुने उच्च रक्तचापका जटिलता हो। गर्भको अवधि २० हप्ता (५ महिना) पुगिसके पछि सालनाल (प्लासेन्टा) का कारण कुनै कुनै गर्भवतीहरूमा उच्च रक्तचाप देखिने हुन्छन्। नेपाल मातृमृत्य अध्ययन २०७८ ले कुल मातृमृत्युको १२ प्रतिशतका मृत्युुका कारण उच्च रक्तचाप तथा यसका जटिलता (इक्लाम्पसिया) पाइएको तथ्यांक छ।
यो र यस्ता तथ्य जान्दाजान्दै संगीताको उपचार कसरी गर्ने होला ? यस्तो जटिल अवस्थामा कुन चिकित्सकले उपचारको कम्मर कस्न खोज्ने होला ? हरेक मृत्युुमा लापरबाही देख्ने र हरेक मृत्युका पछाडि क्षतिपूर्ति माग्ने परम्परा रहेको वर्तमान परिस्थितिमा उपचार गर्न खोज्नु भनेको जानीजानी ‘मौतके कुवा मे कुद्ना’ जस्तो पो हुने हो कि ? मेरो मनमा पनि डर हुनु स्वाभाविक थियो। मेरो मनमा केवल दुई प्रश्न थियो। पहिलो दक्षता र क्षमताले उपचारको प्रयास गर्ने। र अर्को उपचारको सफलता शतप्रतिशत छैन, असफल भए लाग्ने सामाजिक लाञ्छना र क्षतिपूर्ति कसरी भर्नु ? त्यसैले उपचारका लागि अन्य अस्पताल रिफर गर्ने।
एकातिर ‘विज्ञता’ अनि अर्कोतिर बिरामी मृत्युको भयले कर्तव्यबाट बिमुख हँुदै बिमारीलाई ‘रिफर’। अझ मृत्युको भयभन्दा पनि समाजले दिने लापर्बाहीको ‘ट्याग’। फेरि आफ्नो विज्ञतासँग कसरी भाग्नु ? भने जस्तो सजिलो अवस्था पक्कै होइन। मनभित्रको यो अन्तरद्वन्द्वको अन्तमा उपचार गर्ने दायित्वको जित भयो। उपचार सुरु गरे अनि शल्यक्रिया पनि गरे। शल्यक्रिया सफल रह्यो। उनले १४ सय ग्रामको छोरा पाइन्। उनको रक्तचापमा पनि केही सुधार आयोे। करिब ५ वजे शल्यक्रिया सकिएको थियो। अवस्था पूर्ण नियन्त्रणमा नभए पनि अब राम्रो होला भन्ने आशा जाग्यो। उनका श्रीमान्, उनको देवर खुसी भए। म नि आनन्दको श्वास लिएर घर आएँ।
राति करिब १० बजे अस्पतालबाट फोन आयो। संगीताको रक्तस्राव भइरहेको सूचना आयो। यो सूचनामात्र थिएन। ठूलो आँधीतुफान थियो। मेरै शरीर पनि काम्यो। मन निकै डरायो। बिरामीका कुरा श्रीमतीसँग सेयर गरेको हुदिनँ। तर यो बताउन बाध्य भएँ। उनी पनि डराइन्। म जति नै डराए पनि उपचारमा संलग्न नर्स, मेडिकल अधिकृत डाक्टर अगाडि डराउनु हुँदैन, हिम्मतका साथ काम गर्न उचित निर्देशन दिनुपर्छ भनी सोचें। त्यही गरें। संगीताको रक्तस्रावसँगै रक्तचाप पनि बढेको रहेछ। तुरुन्त रगत मगाउन लगाएँ, उच्च रक्तचाप र रक्तस्रावका लागि आवश्यक औषधिहरू चलाएँ। उनका परिवार पनि राति नभनी भनेको औषधि र रगत लिएर आएँ।
तर रक्तस्राव सजिलै रोकिएन। दुई पोका रगत पनि राति नै दियौं। बिमारीलाई रगत र औषधि चल्दै थियो अनि उपचार टोलीमा संलग्न नर्स र डाक्टरका बीचमा तनाव। कोही सुत्न वा आराम गर्न पाएका थिएनन्। रातको ३ बजेपछि बल्ल अवस्थामा सुधार भयो। उनको रक्तस्राव रोकियो। रक्तचाप पनि सामान्य भयो। मनमा शान्ति भयो। थकित नर्सले पानी खान भ्याए। सोचें, ‘धन्न भोलि अस्पताल तोडफोड नहुने भयो’। धन्य अखबारमा ‘चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु’ भन्ने समाचार छापिएन। क्षतिपूर्तिस्वरूप लाखौं रकम तिर्नु नपर्ने भयो। अनि अस्पतालले कसैलाई जागिरको वाचा गर्नु नपर्ने भयो। सबैलाई धन्यवाद दिँदै केही घण्टा सुतें।