महँगी चुलियो

काठमाडौं : दिनप्रतिदिन महँगी चुलिँदै छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ८.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.४२ प्रतिशत बराबर रहेको छ। यस अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि हिमाली क्षेत्रमा ११.४६ प्रतिशत बराबर रहेको छ।
त्यस्तै, काठमाडौं उपत्यकामा ८.५०, तराईमा ६.७० र पहाडमा ७.५० प्रतिशत मूल्यवृद्धि देखिएको छ। गत साउन महिनामा आयात १.६ प्रतिशतले, निर्यात ८.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ। त्यस्तै विप्रेषण आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २५.८ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ पुगेको छ।
चालू आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ बराबर रहेको छ। साउन महिनामा सरकारको खर्च ३५ अर्ब ४ करोड र राजस्व परिचालन ७८ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। यो अवधिमा विस्तृत मुद्रा प्रदाय २.४ प्रतिशतले घटेको छ। वार्षिक बिन्दुगत आधारमा भने यस्तो मुद्रा प्रदाय १०.८ प्रतिशतले बढेको छ।
साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.८ प्रतिशत रहेको छ।
प्रतिक्रिया दिनुहोस !
