विकल पौडेलको ६२ करोड अकुत सम्पत्ति

विकल पौडेलको ६२ करोड अकुत सम्पत्ति

काठमाडौं : सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलको ६२ करोड १९ लाख १८ हजार अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुन सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा २० को उपदफा २ बमोजिम २ वर्ष कैद तथा बिगोबमोजिम सजायको माग गरिएको छ।

त्यस्तै आफू राष्ट्रसेवक रहेको बखत पेस गरेको सम्पत्ति विवरणमा उल्लेखित विवरणहरू उल्लेख नगरी वास्तविक भए रहेको सम्पत्ति लुकाइ छिपाइ झुट्टा विवरण पेस गरेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाइ छिपाइ राखिएको सम्पत्ति जफत हुन गर्नसमेत मागदाबी गरिएको छ।

साथै, पौडेलविरुद्ध नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षण मुद्रण विकास समिति, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक समेतमा नियुक्त भएको पदाधिकारी भएकाले प्रतिवादी विकल पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजायसम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लेखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा प्रतिवादी विकल पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायसमेत हुन मागदाबी गरिएको छ। पौडेलले स्रोत नखुलेको गैरकानरनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो। 

अनुसन्धानका क्रममा पौडेलको घरकोठाबाट बरामद भएका विद्युतीय उपकरणहरूबाट प्राप्त प्रमाणहरू र स्वदेश तथा विदेशका विभिन्न निकायबाट प्राप्त प्रमाणहरूलाई विश्लेषण गरेको अख्तियारले जनाएको छ। अनुसन्धानमा पौडेलले आफू कार्यकारी पदमा रहेको निकायमा आपूर्ति हुने सामग्री खरिदबापत स्वदेशी तथा विदेशी आपूर्तिकर्ता कम्पनीहरूबाट कमिसन रकम प्राप्त गर्ने गरेको देखिएको छ। यो कमिसन रकम परिचालन गर्ने क्रममा उनको विभिन्न व्यक्ति तथा निकायसँग सम्पर्क रहेको देखिन्छ। प्राप्त कमिसन रकम लिई सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक र संयुक्त राज्य अमेरिकास्थित बैंक अफ अमेरिकामा रकम जम्मा गर्ने गरेको र सोमध्ये केही रकम विदेशमा नै परिचालन गर्ने गरेको तथ्य प्रमाणहरूबाट देखिएको अख्तियारले बताएको छ। 

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएको २०७४/०७५ देखि २०७९/०८० को अवधिमा उनले आफैंले टेन्डरहरूको कोटेसन बनाई योजनाबद्ध ढंगले आफैंले चाहेको स्वदेशी आपूर्तिकर्ता डब्ल्यूडीएन, ओबिसीआई, म्याक्स, नेक्स्टजेन सेलुसन लगायतका कम्पनीहरूसँग ठेक्का सम्झौता गरेको अनुसन्धानमा देखिएको छ। यी स्वदेशी आपूर्तिकर्ताहरूले सोही अवधिमा विदेशी आपूर्तिकर्ता इन्स्टासेफ आईएनसी/ब्याकोटेक प्रालिजस्ता कम्पनीहरूसँग साझेदारी गरी सूचना प्रविधिसँग सम्बन्धित सामानहरू स्वदेशमा आपूर्ति गर्ने गरेको पाइएको छ। यो साझेदारीबापत विदेशी कम्पनीहरूले कमिसनबापत विकल पौडेलको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक र संयुक्त राज्य अमेरिकास्थित बैंक अफ अमेरिकामा २८ करोड ९५ लाख ७५ हजार ६ सय ८९ जम्मा गरेको देखिएको छ।

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएको बखत नेपाल सरकारको कुनै स्वीकृति सहमति नलिई सिंगापुरको ब्याकोटेक प्रालि र इन्स्टासेफ आइएनसी नामक कम्पनीमा आफू नेपाल सरकारको कर्मचारी भएको बेहोरा लुकाएर अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा नियुक्ति लिएको र बिक्री एजेन्टका रूपमा काम गरेको अनुसन्धानमा देखिएको अख्तियारका प्रवक्ता एवं सहसचिव नरहरी घिमिरेले जानकारी दिए । अख्तियारका अनुसार सन् २०१९ देखि सन् २०२२ सम्ममा ब्याकोटेक प्रालिबाट मात्र बिक्री कमिसनबापत ९ हजार ९ सय ४४१.६६ अमेरिकी डलर लिएको देखिन्छ। 

अख्तियारको आरोप पत्रअनुसार इन्स्टासेफ आईएनसीबाट बिक्री कमिसनबापत अमरिकी डलर लाख ३९ हजार ९६४.४० लिएको बेहोरा सोही कम्पनीहरूबाट प्राप्त पत्रबाट खुल्न आएको छ। अनुसन्धानमा पौडेलले पटक–पटक गरी ३ करोड ७७ लाख ९१ हजार १ सय रकम सायद ताहिर साह, अकबर हुसेन, मनोज कार्की, ऋचा खनाल समेतलाई ट्रान्सफर गरेको पाइएकोे छ। उनले विभिन्न मितिमा सिंगापुरस्थित प्रोसुडियन्सल एसुरेन्स कम्पनीमा २ करोड ४४ लाख ६३ हजार ८२२.२७ बराबरको प्रिमियम भुक्तानी गरी जीवन बिमासमेत गरेको देखिएको छ। 

त्यस्तै सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंकको वेल्थ एक्युमुलेसन प्लानअन्तर्गतको एउटा स्किम स्ट्रक्चर नोटमा अमेरिकी डलर २ लाख लगानी गरेको प्रमाण पौडलले प्रयोग गरिरहेको हटमेल इमेलबाट खुल्न आएको छ। 

सुरक्षण मुद्रण केन्द्रमा कार्यरत भएको समयमा पौडेलले प्रसान्थ जी भन्ने विदेशी व्यक्तिसँग गरेको सञ्चार संवादमा पटक–पटक गरी २ लाख १४ हजार ३ सय अमेरिकी डलर कमिसन रकम संयुक्त राज्य अमेरिकास्थित बैंक अफ अमेरिकाको खातामा जम्मा गरेको खुल्न आएको छ। उनले कमिसनबापत बुझेको रकमबाट संयुक्त राज्य अमेरिकास्थित रोबिनहुड सेक्युरिटिस एलएलसीमा ८ करोड ४७ लाख ६० हजार ४४६.८८ र रोबिनहुड मार्केटसको विभिन्न सेयरहरूमा ४ करोड ६२ लाख ३६ हजार ८२९.२२ गरी जम्मा १३ करोड ९ लाख ९७ हजार २७६.१० बराबरको लगानी गरेको नेपाल राष्ट्र बैंक तथा निजको साथबाट बरामद भएको विद्युतीय उपकरणहरूबाट खुल्न आएको पनि अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

अनुसन्धानमा प्राप्त सम्पत्ति लुकाउन छिपाउनका लागि नाटकीय रूपमा परिवारसँग २०७५ मंसिर १३ गते अंश बुझेको लिखित भरपाइ गरेको देखिएको छ। हालसम्म विकल पौडेल आफ्नै आमा, बुबा र भाउजूसँग नै बस्दै आएको पाइएको छ तर उनको आमाले आफ्नो दुई छोरामध्ये विकल पौडेललाई मात्र शेषपछिको बकस दिएको र विकल पौडेलको गैर कानुनी सम्पत्तिको अनुसन्धान गरिरहेको बखतमा निजको आमाले सो शेषपछिको बकसपत्र रद्द गरेको पनि खुल्न आएको छ। पौडेलले कमिसनबापत बुझेको रकमबाट अंशबन्डापश्चात् पनि बुबा र आमाको नाममा घर जग्गा, सेयर तथा सवारी साधन खरिद गरेको देखिन्छ। उनकी आमा र दाइसँगको संयुक्त लगानीमा काठमाडौं साविक महांकाल–८ मा क्षेत्रफल २९०.२५ वर्गमिटरको जग्गा खरिद गरेको देखिएको छ। 

उनकी आमा र दाइको संयुक्त नाममा भक्तपुरको छालिङमा क्षेत्रफल ५ रोपनी ७ आनाको जग्गा खरिद गरेको देखिएको छ। पौडेलले भ्रष्टाचार गरी आर्जेको रकमले २४ सेप्टेम्बर २०२१ मा संयुक्त राज्य अमेरिकामा रहेकी श्रीमती एलिना बस्नेतको नाममा ‘६३७० टुल्लिपहुड लेन, जेम्सभीले एनवाई १३०७८’ नाम गरेको स्थानमा अमेरिकी डलर ५ लाख १५ हजार लगानी गरी घर खरिद गरेको पारस्पारिक कानुनी सहायतामार्फत विवरण प्राप्त विवरणबाट देखिएको छ। 

पौडेलले २०७४/०७५ देखि २०७९/०८० को अवधिलाई जाँच अवधि कायम गरी आयव्ययको विश्लेषण गर्दा आयतर्फ २ करोड १ लाख ४३ हजार ८८८.६८ रुपैयाँ देखिन्छ। व्ययतर्फ विदेशी बैंकमा मौज्दात, लगानीका लागि विभिन्न व्यक्तिहरूलाई दिएको रकम, स्वदेशी तथा विदेशका बैंक खातामार्फत विद्युतीय माध्यममार्फत गरेको खर्च लगायतको ६४ करोड २० लाख ६२ हजार ५७२ रुपैयाँ देखिन्छ। आमदानी र खर्च तथा लगानीमा ठूलो अन्तर देखिएको छ। 

पत्नी, बाबु र आमा पनि प्रतिवादी 

अख्तियारले विकल पौडेलकी श्रीमती एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेल, आमा शीतल पौडेललाई प्रतिवादी बनाएको छ। तर, उनीहरूलाई विकलको गैरकानुनी सम्पत्ति आर्जन गर्ने कार्यमा नै सहयोग गरेको अवस्था नदेखिएको पनि भनेको छ। उनले गैरकानुनी रूपले आर्जन गरेको सम्पत्ति कहाँ, के, कुन कार्य गरी आर्जन गरेको हो भन्ने विवरण थाहा हुन सक्ने अवस्थासमेत हालसम्मको अनुसन्धानबाट खुल्न नसकेको देखिन्छ। 

विकल पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति आफ्नो नाममा नगद, जिन्सी, सवारीसाधन, घरजग्गा खरिद गरी राखेको सम्म देखिँदा प्रतिवादीहरू एलिना बस्नेत, धर्मप्रसाद शर्मा पौडेल र शीतल पौडेललाई सम्पत्ति भ्रष्टाचार निवारण ऐन बमोजिम जफत तथा असुलउपर गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गर्ने गरी माग दाबी गरिएको छ।

विदेशी बैंकमा २८ करोड ९५ लाख ७५ हजार ६८९

प्रतिवादीहरू विकल पौडेल र एलिना बस्नेतको नाममा युनाइटेड ओभरसिज बैंक, सिंगापुर र बैंक अफ अमेरिका नेसनल एसोसिएसन, संयुक्त राज्य अमेरिकामा २८ करोड ९५ लाख ७५ हजार ६८९ रुपैयाँ जम्मा रहेको देखिन्छ।

प्रतिवादी एलिना बस्नेतको नाममा जम्मा रहेको रकमसमेत संयुक्त राज्य अमेरिकामा रहेको बैंक अफ अमेरिका नेसनल एसोसिएसनमा र एलिना बस्नेत तथा विकल पौडेलको संयुक्त खातामा सिंगापुरमा रहेको बैंकोटेक प्रालिबाट सिधै रकम दाखिला भएको देखिन्छ। यो रकम कानुनी व्यवस्थाबमोजिम बिगो जफत तथा असुलउपर गर्न माग दाबी लिइएको छ।

अमेरिकामा घर 

विकल पौडेलले अमरिकामा घर खरिद गरेको देखिन्छ। प्रतिवादीहरू विकल पौडेल र एलिना बस्नेत एकाघर सगोलका पति–पत्नी हुन्। एलिना बस्नेतको नामको अमेरिकाको घर खरिद गर्न प्रतिवादी विकल पौडेलले अमेरिकी डलर १ लाख २९ हजार तत्कालीन समयको विनिमयदरअनुसार १ करोड ५२ लाख ७० हजार ७४० रकम गिफ्टको नामबाट दिएको देखिन्छ। यो घर सम्पत्ति विवरणमा सुुरुदेखि नै नदेखाइ लुकाइ छिपाइ राखेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

प्रतिवादी एलिना बस्नेत आयोगले गरेको तामेली म्यादमा अनुपस्थित रहन गएको र घर खरिद गर्दाको बाँकी रकम ४ करोड ५२ लाख ६२ हजार ३६० रुपैयाँको सम्बन्धमा कुनै स्रोत खुलाउन नसकेको देखिन्छ। यो घरको बाँकी रकम प्रतिवादी विकल पौडेलले गैरकानुनी रूपमा आर्जित रकम नै प्रयोग भएको अवस्था देखिन्छ। खरिद मूल्य तत्कालीन विनिमयदरअनुसार ६ करोड ५ लाख ३३ हजार १ सयसमेत घर/जग्गा खरिद गरेको देखिन्छ। एलिना बस्नेतको नाममा रहेको ६ करोड ५ लाख ३३ हजार १ सय घरबाट माथि उल्लेखित कानुनी व्यवस्थाबमोजिम बिगो जफत तथा असुलउपर गर्न माग दाबी गरिएको छ।

सेयर र बैंक मौज्दातको सम्पत्तिको जफत/असुलउपर तथा रोक्का निरन्तरता सम्बन्धमा प्रतिवादी विकल पौडेलको नाममा क्रमशः नेपालमा रहेको सेयर र नेपालको बैंक तथा वित्तीय संस्था मौज्जात गरी जम्मा ३८ लाख २७ हजार ४६२ रुपैयाँ गरेको पाइएको छ। यो रकम कानुनी व्यवस्थाबमोजिम जफत तथा असुलउपर गर्न माग दाबी लिइएको छ।

आमा र बाबुको नाममा खरिद गरेको सम्पत्तिको सम्बन्धमा
प्रतिवादी विकल पौडेलले गैरकानुनी तवरले आर्जन गरेको गैरकानुनी सम्पत्तिबाट नै आमा शीतल पौडेलको नाममा घर जग्गा र बाबु धर्मप्रसाद शर्मा पौडेलको नाममा विभिन्न कम्पनीको सेयर तथा सवारी साधनमा लगानी गरेको देखिएको छ। यसमा उनले ७ करोड ३१ लाख ८८ हजार ९ सय लगानी गरेको देखिन्छ।

यो रकम कानुनी व्यवस्थाबमोजिम जफत तथा असुलउपर गर्न माग दाबी लिइएको छ। प्रतिवादी विकल पौडेल समेतको लगानी रहेको तथा पत्नी एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेलको नाममा स्वदेशमा रहेको बैंक तथा वित्तीय संस्थामा रहेको बैंक मौज्दात ११ लाख ६५ हजार ९१२।९२ रुपैयाँ कानुनी व्यवस्था बमोजिम असुल गर्न माग दाबी लिइएको छ।

अपुग बिगो जफत/असुलउपर गर्ने सम्बन्धमा
अनुसन्धानबाट संकलित आधार प्रमाणहरूबाट प्रतिवादी विकल पौडेलले ६२ करोड १९ लाख १८ हजार ६८४ गैरकानुनी रूपमा आर्जन गरेको देखिन्छ। जसमा हा सम्मको अनुसन्धानबाट खुलेको निजको जफत/असुलउपर गर्ने सम्पत्ति ४४ करोड ५२ लाख ९१ हजार ०६४ रुपैयाँ बराबर रहेको छ।

हालसम्मको अनुसन्धानबाट जफत/असुलउपर गर्न १७ करोड ६६ लाख २७ हजार ६१९ बराबरको सम्पत्ति अपुग हुन आएको देखिन्छ। यो बाँकी अपुगको विगो जफत/असुलउपर गर्ने सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), ऐ. ऐनको दफा १६ को उपदफा (२), ऐ. ऐनको दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) र पारस्परिक कानुनी सहायता ऐन, २०७० को दफा १२, कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा १० र ११ समेतको प्रचलित कानुनबमोजिम जफत/असुलउपर हुन माग दाबी लिइएको छ।

प्रतिवादी विकल पौडेलले शेषपछिको बकसपत्र प्राप्त सम्बन्धमा

प्रतिवादीहरू शीतल पौडेल र धर्मप्रसाद शर्मा पौडेल (दुई सन्तान विकल पौडेल र विवेक पौडेल) का नाममा रहेको सम्पत्ति निजहरूको अंशबन्डाअघि नै खरिद गरेको देखिएको छ। प्रतिवादी विकल पौडेलले मात्र आफ्नो नाममा २०७९ भदौ २९ मा निजको आमा शीतल पौडेलले अंशबन्डापश्चात एकल छोरालाई मात्र शेषपछिको बकसपत्र गरी दिएको देखिएको छ।

प्रतिवादीहरू शीतल पौडेलसमेतले बयान गर्दा दाजुभाइमा आफूले गरेको कमाइको विषयमा पछि समस्या नहोस् भनेर शेषपछिको बकसपत्र गरेको भनी खुलाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.