छ वर्षदेखि पुल निर्माण अलपत्रः निर्माण कम्पनी सम्पर्कविहीन

छ वर्षदेखि पुल निर्माण अलपत्रः निर्माण कम्पनी सम्पर्कविहीन
सुन्नुहोस्

टीकापुर : कैलालीको लम्कीचुहा नगरपालिका र जोशीपुर गाउँपालिका जोड्ने पथरैया नदीमा पुल निर्माणको ठेक्का लिएको एक निर्माण कम्पनी सम्पर्कविहीन भएपछि विगत छ वर्षदेखि निर्माण कार्य अलपत्र छ। 

लम्कीचुहा नगरपालिका-९, सोनपुर र जोशीपुर गाउँपालिकाको सिमराना जोड्ने पथरैया नदीमा पुल निर्माणको ठेक्का पाएको एडभेञ्चर कन्स्टक्सन प्रालि निर्माण सुरु नहुँदै सम्पर्कविहीन भएपछि निर्माण कार्य अलपत्र परेको हो। 

कम्पनीले पुल बनाउनका लागि छ वर्षअघि नै एकतर्फ खाल्डो खनेर सम्पर्कविहीन भएको स्थानीयबासी बताउँछन्। ‘२०७४ को चुनावकै बेला हो, ठेकेदारले एकतर्फ पुलको पिल्लरका लागि खाल्डो खनेको’ सोनपुरका अविराम चौधरीले भने ‘त्यसयता ठेकेदार आउँछु भन्छन्, अहिलेसम्म आएका छैनन्, पुलबाट वारपार गर्ने हाम्रो धोको अधूरो छ।’

सोनपुर हुँदै सिमरी र जोशीपुरसम्म जानका लागि छोटो बाटो भए पनि नदीमा पुल नहुँदा स्थानीयले सास्ती भोग्दै आएको अर्का स्थानीय रमेश विश्वकर्मा बताउँछन्। ‘५० मिटरको पुल नहुँदा हामीले झण्डै ३ घण्टाको बाटो हिँडेर वारपार गर्नुपर्छ, हाम्रा खेतबारी नै वारिपारि छन्, निकै सास्ती छ’ विश्वकर्माले भने ‘अरू बेला नदीमा पानी कम हुँदा समस्या नभए पनि वर्षायाममा तीन घण्टाको बाटो हिँडेर आउनु पर्छ।’

संघीय सरकारको लगानीमा पथरैया नदीमा पुल निर्माणका लागि २०७४ सालमा ठेक्का सम्झौता भएको थियो। झण्डै ५२ मिटर लामो पुल बनाउन कम्पनीले ६ करोड ७३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

पुल निर्माण अवधि नै सकि सक्दा समेत निर्माण कम्पनी सम्पर्कमा नआएको कैलाली क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले बताए। ‘स्थानीयले पटक पटक निर्माण कम्पनीलाई दवाव दिँदै आएका छन्’ चौधरीले भने ‘पुल निर्माणको विषय संघीय सदनमै आवाज उठाएको छु, तर पनि निर्माण कम्पनीले काम शुरु गरेको छैन।’ 

सदस्य चौधरीले उक्त निर्माण कम्पनीसँग ठेक्का सम्झौता तोडेर भए पनि अलपत्र पुल निर्माण गर्न पहल भइरहेको बताए। यता निर्माण कम्पनीका प्रबन्ध निर्देशक चन्द्रशेखर मल्ल भने चालु आर्थिक वर्षको असार मसान्तसम्म पुल बनाइसक्ने दाबी गर्छन्। ‘विविध कारणले विगतमा पुल बनाउन नसकेको हो’ उनले भने ‘यो आर्थिक वर्षभित्र पुल निर्माण हुन्छ। विगतमा जे भयो भयो तर अब पुल बन्छ।’

उक्त नदीमा पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ३४ लाख रुपैयाँ बजेट विनियोजन भएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। छ वर्षसम्म पुल निर्माण कार्य अलपत्र पारेको ठेकेदार सम्पर्कमा आएकाले यो वर्ष पुल निर्माण हुनेमा आशावादी रहेको रहेको डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.