लोकमार्ग विस्तार गर्न भत्काइँदै घरटहरा
बागलुङ : मध्यपहाडी लोकमार्गलार्ई विस्तार गर्ने क्रममा मापदण्डमा पर्ने बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरास्थित अक्षेते बजारका केही घरटहरा भत्काइने भएको छ।
लोकमार्गले तोकिएको मापदण्डविपरीत बनेका घर टहरालार्ई हटाउनको लागि अक्षेतेका मापदण्डविपरीतका घरहरूलार्ई संकेत गर्ने, कच्ची वा पक्की छुट्याउने र क्षतिपूर्ति दिने रकम मूल्यांकन गर्ने कार्य अगाडि बढाइएको छ। यसअघि गत असार १९ गतेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले क्षतिपूर्ति दिएर घरटहरा भत्काउने निर्णय गरेको थियो।
सडक चौडा पार्न घरटहरा भत्काउनुअघि क्षतिपूर्ति दिनका लागि मूल्यांकन भइरहेको वडाअध्यक्ष विद्यापति शर्माले बताए। उनले अक्षेतेमा पाँच परिवारका आठवटा घरटहरा भत्काउनु पर्नेगरी लोकमार्गको प्राविधिक टोलीले रेखांकन गरेको बताए।
‘लोकमार्ग विस्तारमा घरटहरा परेमा मात्रै क्षतिपूर्ति दिने व्यवस्था छ, मन्त्रिपरिषद्को निर्णयपछि लोकमार्ग, जिल्ला प्रशासन कार्यालय, काठेखोला गाउँपालिका र जनप्रतिनिधिको बैठक बसेको थियो,’ वडाअध्यक्ष शर्माले भने, ‘भत्काउने घरहरूलार्ई संकेत गर्ने, कच्ची वा पक्की छुट्याउने र क्षतिपूर्ति दिने रकम मूल्यांकन गरिरहेका छौं।’