तल्कोटमा आगलागी हुँदा पाँच पसल जलेर नष्ट
बझाङ : बझाङको तल्कोटमा लागेको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको छ। आगलागीबाट जस्ताले छाएका पाँच पसल जलेर नष्ट भएका छन् भने एक पसलमा आंशिक क्षति पुगेको छ।
बझाङको तल्कोट गाउँपालिका-५ खौला बजारमा आज दिउँसो सोलार तार सर्ट भइ सल्केको आगोले ६ पसलमा क्षति पुगेको हो। आज दिउँसो करिब २:३० बजे उत्तम चँदाराले सञ्चालन गरिरहेको मोबाइल ग्यालरी तथा कम्प्युटर टेर्निङ सेन्टरबाट सोलारको तार सर्ट भइ सल्केको आगो ५ बजेपछि मात्रै नियन्त्रमा आएको थियो।
आगलागीबाट उत्तम चँदाराले सञ्चालन गरिरहेको मोबाइल ग्यालरी तथा कम्प्युटर टेर्निङ सेन्टर, अनिस सुनारले सञ्चालन गरिरहेको सुनचाँदी पसल, पार्वतीदेवी सिंहले सञ्चालन गरिरहेको हाते होजियारी उद्योग, मिनबहादुर गुरुङले सञ्चालन गरिरहेको होटेल तथा किराना पसल, अन्जली शाह सिंहले सञ्चालन गरिरहेको शृङ्गार तथा फेन्सी पसलमा पूर्ण क्षति पुगेको छ भने बिष्णु बुढाले सञ्चालन गरिरहेको मोबाइल ग्यालरीको आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्रहरीका अनुसार अनुसार केही पसल सञ्चालक घटनास्थलमा नभएकाले अझै क्षतिको यकिन विवरण आउन बाँकी छ। आगो नियन्त्रण गर्न स्थानीय र प्रहरी खटिएका थिए।
प्रतिक्रिया दिनुहोस !