बाराको पचरौतामा एक युवकको हत्या
वीरगन्ज : बाराको पचरौता नगरपालिकामा फेरि एक जनाको हत्या गरिएको छ। पचरौता नगरपालिका-६ पकडियास्थित लक्ष्मीनिया पोखरीको डिलमा मंगलबार साँझ अन्दाजी २०/२२ वर्षका एक युवकको हत्या गरिएको अवस्थामा शव भेटिएको हो। मृतकको पहिचान खुल्न सकेको छैन।
प्रत्यक्ष दर्शीका अनुसार मंगलबार साँझ ६ बजेतिर मोटरसइकलमा सवार भई आएका अपरिचत व्याक्तिहरूले पोखरीको डिलमा रहेका ती युवकलाई गोली हानेर फरार भएका थिए। कन्चटमा गोली लागेका युवकको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्।
मृतकको अहिलेसम्म पहिचान खुल्न नसकेको पचरौता नगरपालिकाका मेयर जलन्धर सिंहले बताए। घटनाको जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको सिंहले जानकारी दिए।
घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले भने मृतकको कानभित्रबाट रगत बगेको अवस्थामा शव भेटिएको बताए। उनले गोली हानेर मारिएको हो वा होइन भन्ने यकीन भइनसकेको बताए।
यसअघि सोमबार पचरौता नगरपालिका-१ मा पर्ने नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सशस्त्र प्रहरीका एक पूर्व जवानको शव फेला परेको थियो।