काठमाडौं महानगरपालिका र ईःबीच चार बुँदे सहमति, १९९ घन्टादेखिको आन्दोलन स्थगित
काठमाडौं : काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच चार बुँदे सहमति भएको छ। बुधबार साँझ उनीहरूबीच चार बुँदे सहमति भएको राष्ट्रियसभा गृहमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। यससँगै अभियन्ता ईःले १९९ घन्टादेखिको आन्दोलन स्थगित गरेका छन्।
दुई पक्षबीच फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई फिर्ता गर्ने, अनौपचारिक क्षेत्रमार्फत् हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्ने निर्णय भएको छ।
त्यसका लागि दुई पक्षबीच समिति गठन गर्ने निर्णय भएको छ। जसमा काठमाडौं महानगरपालिकाले तोकेका ३ जना, अभियान्ता ई:को तर्फबाट तोकिएका दुई जना, भौतिक तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीको तर्फबाट एक एक जना प्रतिनिधि रहनेछन्।
त्यस्तै साविकमा फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्न महानगरपालिकाले एक हप्ताभित्र पहल गर्ने निर्णय भएको छ।