नवलपरासीमा कुष्ठरोग र क्षयरोगका बिरामी बढ्दै, नियन्त्रणमा चुनौती

परासी : नवलपरासीमा कुष्ठरोग र क्षयरोगका बिरामीको संख्या बढ्दै गएको छ । नेपालमा कुष्ठरोग निवारण घोषणा भएको एक दशकबढी भइसकेको छ। सरकारले सन् २०५० सम्म क्षयरोग निवारण घोषणको लक्ष्य लिएर क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यक्रमलाई अगाडि बढाएको छ। तर, नवलपरासीमा भने कुष्ठरोग र क्षयरोगका बिरामीको संख्या बढ्दै गएको छ । केही पालिकाहरूले यी रोग पहिचानका लागि बजेट नछुट्टाउँदा रोगीको संख्या यकिन गर्न समेत समस्या भएको पालिकास्तरका स्वास्थ्य शाखाहरुले जनाएका छन् ।
गत आर्थिक वर्ष २०७९/०८० मा ७० जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन्। पहिचान हुन नसकेका अझै धेरै बिरामी रहेको अनुमान गरिएको स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत बजरंगी चौधरीले बताए । गत वर्ष केही पालिकामा बजेट अभावमा रोग पहिचानको काम प्रभावकारी नहुँदा अघिल्लो वर्षको तुलनामा संख्या कम देखिएपनि कुष्ठरोगका बिरामी बढ्दै गएको चौधरीले बताए ।
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ७७ जना कुष्ठरोगका बिरामी भेटिएका थिए। सबैभन्दा बढी बर्दघाटमा १७ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका थिए। त्यहाँ अघिल्लो आर्थिक वर्षमा जम्मा ६ जना मात्र कुष्ठरोगका बिरामी भेटिएकोमा गत आर्थिक वर्षमा यो संख्या ह्वात्तै बढेको हो। यसैगरी सुनवलमा १५, रामग्राममा ११, पाल्हीनन्दन र सरावलमा १०÷१०, सुस्तामा ५ र प्रतापपुरमा २ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् । १४ वर्ष मुनिका एक जना बालकमा पनि कुष्ठरोग देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कुष्ठरोग पहिचानका लागि स्थानीय तहबाट प्रभावकारी रूपमा अझै पनि काम हुन नसकेको सरोकारवालाहरूको भनाइ छ। प्रभावकारी कार्यक्रम बनाएर स्थानीय तहले अभियानको रूपमा कुष्ठरोग पहिचानको काम गर्नुपर्नेमा स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले बताए । कुष्ठरोग भएको थाहा पाउँदा पाउँदै पनि उपचारमा नआउनेको संख्या धेरै भएकाले पालिकास्तरमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए ।
‘गाउँमा कुष्ठरोग भएको थाहा पाएपछि सम्झाइ बुझाइ गर्दा समेत उपचारका लागि कोही जान मान्दैनन्,किन जानु उपचार गर्न ? भन्ने धेरै छन् ,'बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले भने ।
पछिल्लो पटक पहिचान गरी उपचारको दायरामा ल्याउनु नै मुख्य चुनौति भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । बारा जिल्लापछि सबैभन्दा बढी नवलपरासीमा कुष्ठरोगका बिरामी भेटिएको स्वास्थ्य कार्यालय प्रमुख पन्थीले बताए । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो। निवारण घोषणा भएसँगै नेपालमा कुष्ठरोगीको संख्यामा कम हुने, कुष्ठ प्रभावित व्यक्तिले नियमित उपचार सेवा पाउने सबैको विश्वास भएपनि त्यसो हुन नसक्दा रोगका बिरामीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
क्षयरोगी पनि बढ्दै
कुष्ठरोगसँगै नवलपरासीमा क्षयरोग पनि गम्भीर स्वास्थ्य समस्याको रूपमा देखिएको छ। क्षयरोगको पहिचान र निवारणका कार्यक्रम प्रभावकारी काम हुन नसक्दा अहिले क्षयरोगका बिरामीको संख्या बढ्दै गएको हो। स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार हाल जिल्लामा ४७० जना क्षयरोगका बिरामी छन् ।
गत आर्थिक वर्षमा १९ जना क्षयरोगका बिरामीको मृत्यु भएको छ। गतवर्ष सुस्ता, पाल्हीनन्दन र प्रतापपुरमा क्षयरोगका बिरामी पत्ता लगाउन शिविर नै सञ्चालन गरिएको थियो।
क्षयरोगका बिरामीहरु पनि समयमै अस्पताल नआउने र अन्तिम समयमा मात्रै अस्पताल आउने गरेका कारण कतिपयको रोग निधानमा समस्या हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। सरकारले सन् २०५० सम्ममा क्षयरोग निवारण घोषणको लक्ष्य लिएर क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यक्रमलाई अगाडि बढाएको छ।
प्रतिक्रिया दिनुहोस !
