बलात्कारका घटना गाउँमै मिलाउन खोज्नेलाई खोज्दै प्रहरी
![बलात्कारका घटना गाउँमै मिलाउन खोज्नेलाई खोज्दै प्रहरी](https://annapurnapost.prixacdn.net/media/albums/APO-Kalyanpur-1_EaJ6guxVn0_JfHbguH7TW.jpg)
राजविराज : बलात्कारको घटना मिलापत्र गराउन खोज्ने पञ्चसहित बलात्कार आरोपितविरुद्ध सप्तरीमा उजुरी दर्ता भएको छ । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डाक्नेश्वरी नगरपालिका–३ हटेलका २४ वर्षीय महेशकुमार साह र घटना ढाकछोप गर्न मिलापत्र गराउन खोज्ने ४० वर्षीय चन्द्रशेखर साह विरुद्ध उजुरी दर्ता भएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी ढुण्डिराज नेउपानेका अनुसार घटनाका आरोपित दुबैजनाविरुद्ध उजुरी दर्ता भइ खोजी भइरहेको छ । कारबाही प्रक्रिया अगाडि बढाउँदै अनुसन्धानमा जुटेको प्रहरी बिहीबार घटनास्थल पुगेको छ ।
समाजबाट अपहेलित हुनुपर्ने डर,पीडकले दिने धम्की, प्रलोभन र प्रहरीमा उजुरी दर्ता नहुने गरेकाले सप्तरीमा बलात्कारलगायत संवेदनशील घटनाहरू मिलापत्रमै टुङ्ग्याउने गरिएको थियो।
डाक्नेश्वरी नगरपालिकामा भएको बलात्कार घटनामा पीडितलाई उजुरी गर्नबाट रोक लगाउने प्रयास गरिएको भनेर नै जाहेरी परेको छ । पीडितकी आमाले बताएको घटनाअनुसार घरमा सुतिरहेकी बालिकालाई जबरजस्ती आफ्नो घरमा रहेको गुहालीमा ल्याएर गत असोज ३ गते राति महेशले बलात्कार गरेको पीडित पक्षले बताएका थिए।
बलात्कार घटनामा उजुरी गर्न रोक लगाउँदै आरोपितसँग क्षतिपूर्ति लिएर मिल्न स्थानीय चन्द्रशेखर साहले दबाब दिएको बताइएको छ। घटनापछि चार दिनसम्म घरबाट बाहिर निक्लिन नदिई चन्द्रशेखरले मेलमिलापका लागि लोभ र दबाब दिएको पीडित परिवारले बताएका छन् ।
आरोपितलाई कानुनअनुसार कारबाही हुनुपर्ने भन्दै पीडित र उनको परिवार सोमबार इलाका प्रहरी कार्यालय कल्याणपुर पुगेर प्रहरीसमक्ष घटना विवरण सुनाए । त्यसपछि राजविराजमा पीडितको स्वास्थ्य परीक्षण गराई पीडितकी आमाले दिएको उजुरी इलाका प्रहरी कार्यालय कल्याणपुरले मंगलबार दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी ढुण्डिराज नेउपानेले बताए ।
यसअघि पनि डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरमा भएको बलात्कारको घटनामा पञ्चहरुले मेलमिलाप गराउन दबाब दिँदा १७ वर्षीया किशोरीले २०७७ भदौ २९ गते आत्महत्या गरेकी थिइन् । उक्त घटनामा बलात्कारीलाई १३ वर्ष कैदका साथै पञ्चलाई समेत मतियार ठहर गर्दै सजाय भएको थियो ।
बलात्कारीलाई उन्मुक्ति दिन लगाउने र प्रहरीमा उजुरी गर्न रोक लगाउने पञ्चहरू धर्मानन्द मण्डललाई साढे ६ वर्ष कैद तथा शत्रुघ्न मण्डल र उचितलाल मण्डललाई जिल्ला अदालतले एक वर्ष कैद सजाय गरेको थियो । शत्रुघ्न नगरपालिकाका वडा अध्यक्ष हुन् ।
पञ्चायतमा सहभागी अन्य आरोपित शत्रुघ्नका दाजु जयकान्त मण्डल,भाइ देबु मण्डल, बिन्देश्वर मण्डल, बंशराज मण्डल, सत्यनारायण मण्डल, बासुदेव मण्डललाई समेत जरिवाना र क्षतिपूर्ति भराउने फैसला भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)