कालोपत्र सडक ३ महिनामै हिलाम्य

कालोपत्र सडक ३ महिनामै हिलाम्य
भोजपुर नगरपालिका–५ बोखिमस्थित ३ महिनामा साढे १० करोड लागतमा कालोपत्र गरिएको सडकको अवस्था । तस्बिर : प्रदीपचन्द्र राई
सुन्नुहोस्

भोजपुर : कालोपत्र गरिएको तीन महिना बित्न नपाउँदै बोखिम–पिप्ले–खाल्डे–आहाले दधिपुर सल्लेनी सडकखण्ड हिलाम्मे सडकमा परिणत भएको छ। ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण कालोपत्र सडकको दुर्दशा बढेपछि स्थानीय आक्रोशित बनेका छन्।

कालोपत्र सडकखण्ड भत्किएपछि स्थानीयवासीलाई आवतजावतमा पनि समस्या भएको छ। साढे ४ किलोमिटर दूरीको उक्त सडकखण्डको कालोपत्र काम रौताहा रामसागर बिल्डर्स जेभीले जिम्मा लिएको थियो। गुणस्तरहिन कालोपत्र बनाएपछि सडकखण्ड हिलाम्मे बनेको हो। कालोपत्र निर्माणका ठेकेदार राम पौडलेले काममा चरम लापरबाही गरेको स्थानीयको आरोप छ। गुणस्तरहीन नागरिकलाई सास्ती दिने काम गर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई कारबाहीको मागसमेत गरिएको छ।

कालोपत्र सडक भत्किएर आवतजावतमा समस्या भएपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुखसहित सरोकारवाला पक्षले स्थलगत अनुगमन पनि गरेको थियो। अनुगमनका क्रममा सडक मापदण्डअनुसार निर्माण भएको नपाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए। कम गुणस्तरका कच्चापदार्थ र मापदण्डविपरीत काम भएकै कारण कालोपत्र सडक भत्किएर खाल्डाखुल्डी परेको उनले बताए। 

‘स्थानीयको गुनासो बढेपछि हामीले स्थलगत अनुगमन गर्‍यौं, निर्माण कार्यमा चरम लापारबाही भएको पायौँ’, प्रजिअ घिमिरेले भने, ‘सडकखण्ड कालोपत्र भएको छोटो समयमा नै भत्किएर हिलो भएको दुर्दशा छ, सडक तोकिएको मापदण्डअनुसार बनेको छैन, सडकको अवस्थाका बारेमा मैले सडक हेर्ने कार्यालयलाई जानकारी गराएको छु।’

सडकलाई गुणस्तरीय रूपले बनाउन पटक–पटक ताकेता गरे पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीय बासिन्दाको गुनासो छ। सडक निर्माणमा ठेकेदार र ठेकेदार कम्पनीले चरम लापरबाही गरेको भोजपुर नगरपालिका–५, बोखिमका वडासदस्य निरकुमार फुयाँलले बताए। भने, ‘सडक कालोपत्र भएको तीन महिना मै भत्कियो, सडक बिग्रिएर, भत्किएर आउजाउमा एकदमै समस्या छ, सडकको यो दुर्दशा देख्न नसकेरै सरोकारवाला निकायसंग अनुगमन गर्‍यौँ, राज्यको पैसाको चरम दुरुपयोग भएको छ, गलत काम गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याईनुपर्छ।’

उक्त सडकखण्डको कालोपत्र काम ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गत नेपाल सरकारको भ्याटसहित साढे १० करोड लागतमा निर्माण भएको कार्यान्वयन एकाइका कामु आयोजना व्यवस्थापक वीरबहादुर रावलले जानकारी दिए। यो सडक बिग्रिएको खण्डमा एक वर्षसम्म ठेकेदारले मर्मत गर्नुपर्ने उनको भनाइ छ। सडकलाई तत्काल मर्मत गर्नका लागि पत्रचार गर्ने उनले जनाए। 

‘सडक भत्किएको विषयमा हामीलाई पनि जानकारी आएको छ’, उनले भने, ‘एक वर्षसम्म सडकको मर्मतसम्भारको जिम्मा ठेकेदारलाई हुन्छ, त्यहाँ भएका त्रुटिलाई सच्याएर पुनः मर्मतका लागि ठेकेदारलाई पत्राचार गर्छौँ।’ 

सडकखण्डमा बिच्छ्याइएको सबबेसमा गुणस्तरहीन सामग्री प्रयोग गरेर कालोपत्र गरिएको छ। समस्याको समाधानमा लाग्नुभन्दा पनि निर्माण कम्पनीका प्रतिनिधि पनि सम्पर्कविहीन बनेको स्थानीयले बताए। कालोपत्र निर्माणको तीन महिना बितिसक्दा पनि कालोपत्र गर्ने क्रममा बिच्छ्याइएको गिट्टी नउठाउँदा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीय धनबहादुर थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.