किन रोज्छन् खेलाडीले पलायनको बाटो ?

किन रोज्छन् खेलाडीले पलायनको बाटो ?

हाङचाओ (चीन) : आफ्नो सुरक्षित भविष्य खोज्दै बिदेसिने पछिल्लो खेलाडी हुन्, विमल घर्तीमगर। नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य विमल पनि राष्ट्रिय टोलीका थुप्रै खेलाडीको पदचाप पछ्याउँदै शुक्रबार अस्ट्रेलिया उडेका हुन्। केही समयअघि मात्रै विवाह बन्धनमा बाँधिएका विमल उतै बस्ने निर्णयका साथ अस्ट्रेलिया लागेका हुन्। विमल पछिल्लो पुस्ताका चर्चित स्ट्राइकर हुन्। एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलबाट १५ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। उनको कप्तानीमा सन् २०१५ मा नेपालले यू–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो। 

पछिल्लो समय राष्ट्रिय फुटबल खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम बढिरहेका बेला विमलले पनि त्यही बाटो रोजेका हुन्। विमल पछिल्लो दुई वर्षदेखि राष्ट्रिय टोलीका नियमित सदस्य थिए। सन् २०१३ को साफ च्याम्पियनसिपमा उनले १५ वर्षकै उमेरमा राष्ट्रिय टोलीबाट गोल गरेका थिए। उनी नेपालका लागि गोल गर्ने कान्छा खेलाडी हुन्। राष्ट्रिय टोलीबाट ३९ खेलमा नौ गोल गरेका विमलले गत सिजन मच्छिन्द्र क्लबबाट ‘ए’ डिभिजन लिग फुटबल खेलेका थिए। 

पछिल्लो दुई वर्षमा राष्ट्रिय टोलीका धेरै फुटबल खेलाडी अस्ट्रेलिया पुगिसकेका छन्। एउटा पछिल्लो पुस्ताका खेलाडीको पलायनले राष्ट्रिय टोलीको सन्तुलनमा पनि असर परेको छ। खेलाडीहरूले विदेश जानु पलायन हुनुमा धेरै कारण बताए पनि मुख्य कारण आर्थिक उपार्जन नै हो। नेपालमा वर्षभरि खेल्ने र खेलेरै जीविकोपार्जन गर्ने अवस्था नरहेपछि धेरै फुटबल खेलाडीले विदेशको बाटो रोजेका हुन्। 

पछिल्लो समय नेपाली फुटबल खेलाडी बिदेसिने क्रम बढ्दो छ। पछिल्लो एक वर्षमा मात्रै तीन दर्जनभन्दा बढी फुटबल खेलाडी विदेशीसकेका छन्। करिब सात वर्षअघि उत्कृष्ट फुटबल खेल्दाखेल्दै जगजित श्रेष्ठ अस्ट्रेलिया हानिएका थिए। उनलाई पछ्याउँदै शुलभ मास्के, हेमन गुरुङ, एलन न्यौपानेलगायतका खेलाडीले पनि आफ्नो गन्तव्य अस्ट्रेलियालाई रोजे। पछिल्लो समय त अस्ट्रलिया उड्नेहरूको लर्को नै लागेको छ। विमलसँगै दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिषेक रिजाल, दीपकराजसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान, रञ्जन विष्ट, गौतम श्रेष्ठ, रञ्जित धिमाल, सुजल श्रेष्ठलगायत झन्डै तीन दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया पुगेका छन्। केही खेलाडी भने खाडीका विभिन्न मुलुकमा पनि रोजगरीका लागि पुगेको पाइएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर भट्टराई (बद्री) खेलाडी पलायनलाई एन्फाले मात्रै रोक्न नसकिने बताउँछन्। ‘सबैभन्दा पहिले खेलाडी किन विदेश गए भनेर खोजी हुनुपर्छ। सरसर्ती हेर्दा अधिकांश खेलाडी नेपालको भन्दा राम्रो अवसरका लागि नै विदेश गएका हुन्’, सहायक महासचिव भट्टराई भन्छन्, ‘स्वदेशमा राम्रो भविष्य नदेखेर विदेश जानेहरूलाई एन्फाले मात्रै रोक्न सक्दैन। यसमा सरकारले पनि ध्यान दिनुपर्छ।’

नेपाली फुटबलको मेरुदण्ड मानिएको ‘ए’ डिभिजन लिग समयमा नहुनु, नेपाल सुपर लिग (एनएसएल) जस्ता फ्रेन्चाइज प्रतियोगिताहरू समयमा नहुँदा खेलाडी पलायन बढेको हो। ‘नेपालमा कुन प्रतियोगिता कहिले हुन्छ भन्ने ग्यारेन्टी नै छैन। ‘ए’ डिभिजन लिग पनि तीन महिनाभन्दा बढी हुँदैन। यस्तो अवस्थामा हामीलाई जीवन निर्वाह गर्न नै गाह्रो भयो। तीन महिना खेलेर कसरी जीविका चलाउन सकिन्छ ? त्यही भएर अस्ट्रेलियाको बाटो रोजेका हौं’, अस्ट्रेलिया पुगेका एक खेलाडीले भने, ‘नियमति रूपमा फुटबल भइरहेको भए नेपालमै बस्थ्यौं। उतै खेल्थ्यौं। हामी रहरले यहाँ आएका होइनौं। अस्ट्रेलियामा पनि सजिलो छैन। तर, नेपालमा भन्दा चाहिँ राम्रो हुन्छ भनेर आएका हौं।’ 

एन्फा सहायक महासचिव भट्टराई पछिल्लो समय सहिद स्मारक ‘ए’ डिभिजन डबल लिग सुरु भइसकेको, नेपाल सुपर लिग (एनएसएल) को पनि तयारी पूरा भएको र मोफसलका प्रतियोगिताहरू पनि सुरु हुन लागेको बताउँछन्। ‘कोरोना महामारीलगायतका कारणले केही वर्ष घरेलु प्रतियोगिताहरू नियमित हुन नसकेको हो। तर, अब यो अवस्था छैन। घरेलु प्रतियोगिताहरू नियमित रूपमा हुन थालिसकेका छन्। नेपाली फुटबल पुरानै लयमा फर्किन थालेको छ’, उनी भन्छन्, ‘हामीले गर्ने भनेको नियमित रूपमा प्रतियोगिता गर्ने र खेलाडीलाई खेलमै केन्द्रित हुने वातावरण बनाउने हो। यति हुँदाहुँदै पनि बिदेसिन्छन् भने हामीले चाहेर पनि रोक्न सक्दैनौं।’ उनी खेलाडीलाई खेलकुदमै टिकाइराख्नका लागि सरकारले रोजगारीलगायतका सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताउँछन्। ‘खेलाडीलाई स्वदेशमै टिकाइराख्न सरकार पनि गम्भीर हुनुपर्छ। खेलाडीको जीविकोपार्जनका विषयमा सोच्नुपर्छ। कर्पोरेट हाउससँगको सहकार्यमा अन्य पेसा र क्षेत्रमा पनि रोजगारीको अवसर दिनुपर्छ’, उनी भन्छन्, ‘अनि मात्रै खेलाडी पलायनलाई कम गर्न सक्छौं। रोक्नै भने त सकिँदैन।’

अरू खेलमा पनि उस्तै समस्या

पछिल्लो समय फुटबल खेलाडी विदेश जाने लर्को लागिरहँदा अन्य खेलमा पनि यस्तै समस्या देखिएको छ। चार वर्षअघि नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण विजेता फुटबलसँगै कराते, तेक्वान्दो, बक्सिङलगायतका खेलका अधिकांश खेलाडी विदेश पलायन भइसकेका छन्। करातेका निर्मला तामाङ, लक्ष्मण तामाङ, सरु कार्की, कुसुम खड्का, नवीन रसाइली, सुनिता महर्जन, संगीता मगरलगायतका खेलाडी विदेश पलायन भइसकेका छन्। यस्तै तेक्वान्दोका भूपेन श्रेष्ठ, संगीता बस्याल, सञ्जिला तिमल्सिना, सागर गुभाजु, रेजिना कार्की, निशा रावल, सक्षम कार्की, सुशीला राई र सिना मादेनलगायतका खेलाडी विदेश पलायन भइसकेका छन्। यस्तै १३औं सागका स्वर्ण विजेता बक्सिङका सनिल शाहीले पनि विदेश पलायनको बाटो रोजिसकेका छन्।

विदेश पलायन हुनेमा १३औं सागका स्वर्ण विजेता मात्रै छैनन्, पारा तेक्वान्दो खेलाडी राम अधिकारी र सिर्जना घिसिङ पनि छन्। सिर्जनाले गत मंसिरमा साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्डपिक्समा स्वर्ण पदक जितेकी थिइन्। सिर्जना र राम अस्ट्रेलियाको बिजब्रेनमा गत जुलाईमा आयोजना भएको ओसिनिया पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अस्ट्रेलिया पुगेका उनीहरू उतै बसेका छन्। यसैगरी ब्याड्मिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, दीपेश धामी, टेनिसका प्रेरणा कोइराला, संरक्षकभूषण बज्राचार्य, क्रिकेटका किशोर महतोलगायतका चर्चित खेलाडी पनि विदेशमै छन्। उनीहरू कोही अध्ययन गरिरहेका छन् भने कोही फुलटाइम काम गरिरहेका छन्। 

१३ सागका स्वर्ण विजेतामध्ये करातेका आधाभन्दा बढी खेलाडी पलायन भइसकेका छन्। त्यसबेला १४ खेलाडीले १० वटा स्वर्ण पदक जितेकोमा दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ, अनु अधिकारी, महसुस मोक्तान, अनुपमा मगर र प्रवीण मानन्धर मात्रै स्वदेशमा रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं कराते प्रशिक्षक दीपक श्रेष्ठ बताउँछन्। ‘१३औं सागमा स्वर्ण जितेकामध्ये मुस्किलले ५÷६ जना खेलाडी मात्रै स्वदेशमा छन्। नेपालमा भएकाहरू पनि अधिकांश विभागीय टोलीमा आबद्ध छन्’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘पहिले पदक विजेता खेलाडीलाई रोजगारी दिएर स्वदेशमै बस्ने वातावरण सरकारले बनाउँथ्यो। तर, अहिले त्यो अवस्था छैन। पदक जितेपछि केही दिन हाईहाई हुन्छ। त्यसपछि कसैले कसैको मतलब नै गर्दैनन्।’

उनी विभागीय टोलीका कारण पनि अधिकांश खेलाडी स्वदेशमा टिकेको दाबी गर्छन्। ‘विभागीय टोली नभएको भए खेलाडी पायनका अवस्था अझै विकराल बन्थ्यो। विभागी टोलीमा भएका कारण पनि धेरै खेलाडी नेपालमै बसिरहेका छन्। उनीहरूलाई पनि यहाँ कहिलेसम्म टिकाउन सकिन्छ भन्न सकिने अवस्था छैन’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘जबसम्म सरकारले नै स्पष्ट नीति बनाउँदैन, तबसम्म खेलाडी पलायनलाई रोक्न सकिँदैन।

एन्फाका सहायक महासचिव भट्टराई अन्य खेलका भन्दा फुटबल खेलाडीलाई सबैले चिन्ने भएकाले फुटबल खेलाडी पलायनको चर्चा धेरै हुने गरेको बताउँछन्। ‘अन्य खेलका खेलाडीभन्दा फुटबल खेलाडीलाई धेरैले चिन्छन्। उनीहरूको चर्चा पनि धेरै हुन्छ’, सहायक महासचिव भट्टराई भन्छन्, ‘अन्य थुप्रै खेलका खेलाडी पनि बिदेसिरहेका छन्। उनीहरूको चर्चा भने हुँदैन।’

खेलाडी पलायन रोक्न सम्भव छ ?

पहिले पहिले विदेशमा खेल्न गएका खेलाडीहरू उतै लुकेर बस्थे। कोही खेल खेलेपछि लुक्थे भने कोही खेल्दै नखेली लुक्थे। अहिले भने खेलाडीहरूको लर्को बिदेसिनकै लागि लाग्ने गरेको छ। उनीहरू खेल्नका लागि भन्दा पनि विदेशमा बस्नकै लागि जान थालेका छन्। एयरपोर्टमा हाम्रा खेलाडी विदेश जान लागेको तस्बिर देख्नासाथ खेलाडी पलायनलाई रोक्नुपर्ने माग जोडतोडले उठ्ने गरेको छ। खेलाडी पलायनलाई रोक्न सम्भव छ त ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ देशमा विद्यमान अस्थिरता, रोजगारीको अभाव र अनिश्चित भविष्यका कारण अधिकांश खेलाडीहरू बिदेसिन बाध्य भएको बताउँछन्। ‘देशको अस्थिर राजनीतिक अवस्थाको प्रभाव अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्रमा पनि परेको छ। सरकार आफैं अस्थिर छ। देशमा युवालाई कसरी टिकाउने भन्ने चिन्ता हाम्रा नेताहरूलाई छैन’, श्रेष्ठ भन्छन्, ‘देशको विद्यमान अवस्था राम्रो नभएपछि बाध्यताले नै उनीहरूले बिदेसिने बाटो रोजेका हुन्। यस्तो अवस्थामा हामीले चाहेर पनि खेलाडी पलायनलाई रोक्न सक्दैनौं।’

खेलाडीको आर्थिक सवलतासँगै मानसम्मान र इज्जत भयो भने कोही खेलाडी बिदेसिनुपर्ने अवस्था नआउने एक खेलाडी बताउँछन्। ‘घरेलु खेलकुदको संरचना बलियो बनाउनुपर्छ। खेलाडीहरू खेलेर आर्थिक रूपमा स्वाबलम्बी हुन र समाजमा मानसम्मान र प्रतिष्ठा पाउने वातावरण आउँदैन, तबसम्म खेलाडी पलायन रोकिँदैन’, ती खेलाडी भन्छन्, यसका लागि विभिन्न संघसँगै सरकार पनि गम्भीर हुनु जरुरी छ।’ एन्फाका सहायक महासचिव भट्टराई खेलाडीको जीवन यही सुरक्षित भएमा विदेशिने अवस्था नआउने बताउँछन्। ‘हाम्रा खेलाडी रहरले कोही पनि विदेश पलायन भएका होइनन्। उनीहरू करले गएका हुन्। स्वदेशमा जीविकोपार्जनको उपाय नदेखेपछि बिदेसिनुको विकल्प पनि त रहँदैन’, उनी भन्छन्, ‘सरकार, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न संघहरू गम्भीर भएमा मात्रै खेलाडी पलायनलाई रोक्न सकिन्छ।’ उनी ‘रिटायर्ड फेज’का खेलाडी विदेश जानुलाई स्वभाविकै भए पनि उमेर समूहका खेलाडीसमेत विदेश जाँदा आश्चर्य लागेको बताउँछन्। सरकारले खेलाडीलाई राज्यको गहना भन्दै आएको छ। तर, उनीहरूको जीवनयापन र भविष्य सुरक्षित गर्न भने खासै ध्यान दिन सकेको छैन। त्यसैले पनि खेलाडी अनिश्चित भविष्यको डरले पलायनजस्तो कठिन निर्णय लिन बाध्य हुने गरेका छन्। यस विषयमा सरोकारवाला निकाय गम्भीर हुन जरुरी छ। 

बिदेसिएका नेपाली फुटबलर

​​​​​​​विमल बस्नेत
सविन्द्र गुरुङ 
हेमन गुरुङ 
एनल न्यौपाने 
सुमन लामा 
अमिर श्रेष्ठ 
विमल राना 
शिव गुरुङ 
राजन गुरुङ
नवीन गुरुङ
आकाश बुढामगर
रुमेश बर्तौला 
रोशन खड्का 
राजेन्द्र रावल 
विश्व अधिकारी
रवि थापा 
अजित प्रजापति
प्रवीण शैजु
दिलेन लोक्तान
रोहित कार्की
विवेक बस्नेत 
सरोज कोइराला
सूर्य अधिकारी
निरज बस्नेत
रुपक लामा
अमृत चौधरी

टेनिस

अभिषेक बास्तोला

कराते

​​​​​​​संगीता मगर

तेक्वान्दो

सुशीला राई


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.