मधेसमा जितियाको रौनक
![मधेसमा जितियाको रौनक](https://annapurnapost.prixacdn.net/media/albums/jitiya1_NZTFXNFTYO_a0uJr14mCr.jpg)
विराटनगर : ‘जितिया पावनि बड भारी, धियापुता केँ ठोकि सुतेलनि अपने खएलनि भर थारी’ मैथिली भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय छ। यसको अर्थ ‘जितिया पर्व गर्न एकदमै गाह्रो छ, बाल बच्चाहरूलार्ई सुताएर ब्रतालुले थालभरी खान्छन्।’
जितिया पर्वसँग जोडिएको यो कथनबाट दुईवटा भाव आउँछ। एउटा यो पर्व एकदमै गाह्रो छ र अर्को ब्रतालुले थाल भरी खान्छन्, यो कथनको जितिया पर्वसँग ठूलै सम्बन्ध रहेको छ। जितिया पर्वको बारेमा भविष्य पुराणमा वर्णन पाइन्छ।
आश्विन कृष्णपक्ष अष्टमी तिथिमा उपवास बस्ने र तिथि परिवर्तन भएपछि ‘पारणा’ अर्थात ब्रतलार्ई विधिवत् समापन गरिन्छ। मिथिलाञ्चलमा यो ब्रत गर्नेहरू एकदिन अघिदेखि ‘सधवा’ अर्थात (श्रीमान् जीवितै रहेको महिला)ले ‘माछ–मडुवा’ (माछा र कोदो) खाने चलन छ भने विधवाले ‘अर्बा–अर्बाइन’ खाने चलन छ। जितिया ब्रतको सुरुवात हुनुअघि र अष्टमी तिथिको सुरुवातभन्दा पहिले चिउरा दही खाने चलन छ जसलार्ई मैथिलीमा ‘ओठगन’ भनिन्छ। पानीसम्म नखाई निराहार ब्रत बस्नुपर्ने भएकोले जितिया पर्व गाह्रो छ। दुई दिनसम्म उपवास बस्नु पर्ने भएकोले अष्टमी तिथिको सुरुवात हुनुअघि दही चिउरा टन्न खानुलार्ई मैथिली कथनले जोडेको छ। प्रायः अष्टमी तिथिको सुरुवात बिहान ३–४ बजे पछि हुने गर्छ र त्यती बेला बाल बच्चाहरू सुतिरहेका हुन्छन्। त्यसैले मैथिलीमा भनिएको हो ‘जितिया पावनि बड भारी, धियापुता केँ ठोकि सुतेलनि अपने खएलनि भर थारी।’
निराहार बस्ने यो ब्रतमा अष्टमी तिथिको सुरुवातसँगै ब्रतालुहरू पोखरी, नदी तथा जलाशयमा स्नान गरि पूर्वतिर फर्केर तामाको अर्घामा अर्घ लिएर भगवान् सूर्यलार्ई अर्घ दिन्छन् र तेल तथा पिना पनि चढाउँछन्। सँगै त्यो तेल र पिना आफ्नो पुत्रको टाउकोमा लगाइ दिने प्रचलन छ।
पुत्रको दीर्घायुको कामनाका साथ महिलाहरूले गाईको गोबरले आँगन लिपेर पवित्र पारी शालिबाहन राजाका पुत्र जिमुतवाहनको कुशको प्रतिमा बनाएर कलशको जलमा स्थापना गरी कलशको चारैतिर सुसज्ज्ति पारेर पोखरीको निर्माण गर्छन्।
त्यसपछि ‘पाकैर’ अर्थात पाकरी रुखको हाँगा ल्याई त्यसलार्ई रुखको रूपमा रोपेर सो माथि माटोको ‘चिल्होरी’ अर्थात बाझको आकृति बनाएर राखि अनि तल ‘गिदरनी’ को आकृति बनाएर राखी दुबैको टाउकोमा सिन्दुर लगाई फूलमाला, अक्षता, धुपदीप, नैवेद्य (जसमा केराउ र खिरा अनिवार्य राखिन्छ) सहित बाँसको पात राखि पूजा गर्नाले वंशको वृद्धि हुन्छ र पुत्रको जे जस्तो ग्रह, चक्र भए पनि त्यसबाट मुक्ति मिल्ने विश्वास छ। यसैगरी जितिया ब्रतको पहिलो दिन ब्रतालु महिलाहरूले जिमुतबाहनको कथा सुन्ने र कथा बाचन गर्नेलार्ई दक्षिणा दिने चलने छ।
यस वर्षको जितिया आउँदो शुक्रबारदेखि हुने भएको छ। बिहीबार नदीमा स्नान गरी राति ओटघन गर्ने तिथि छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)