संघीय निजामती ऐनको विरोधमा बरेङ गाउँपालिकाका कर्मचारीद्वारा पेनडाउन
बागलुङ : बागलुङको बरेङ गाउँपालिकामा स्थानीय सेवामा कार्यरत कर्मचारीले शुक्रबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तयार भई मन्त्रिपरिषदबाट संघीय संसदमा पेस हुने तयारीमा रहेको संघीय निजामती ऐन विरुद्ध असहमति जनाउँदै बरेङ गाउँपालिकाका कर्मचारीले आन्दोलन सुरु गरेको बताएका छन्।
बरेङ गाउँपालिका स्थानीय संघर्ष समितिका संयोजक सूर्यप्रसाद शर्माले स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिद्वारा जारी दवावमूलक कार्यक्रममा एक्यबद्धता जनाउँदै शुक्रबारदेखि पेन डाउन सुरु गरेको बताए।
उनले गाउँपालिका अन्तरगतका सबै कार्यलयमा अत्यावस्यक सेवा बाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने निर्णय गरेको बताए।
संयोजक शर्माले आन्दोलनका बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानालाई ऐक्यबद्धता, सहजीकरण र जानकारी सम्बन्धी पत्र बिहिबार नै बुझाइएको बताए।
राज्यले स्थानीय सेवामा कार्यरत कर्मचारीलाई विभेदपूर्ण रूपमा हक अधिकार कुण्ठित हुने गरी निजामती विधेयक ल्याउन खोजेको भन्दै देशभरका स्थानीय तहमा कार्यरत कर्मचारीहरूले विरोध गरेका छन्।