गुल्मीमा पुरुष र महिला भलिबल प्रतियोगिता हुने
गुल्मी : जिल्ला भलिबल संघ गुल्मीको आयोजनामा प्रथम पालिकास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता हुने भएको छ। आगामी कात्तिक १५ गतेदेखि १८ गतेसम्म प्रथम गुल्मी भलिबल कप २०८० आयोजना गरिने आयोजकले जनाएको छ।
जिल्लामा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि दसैं र तिहार पर्वको अवसरमा नेपालको राष्ट्रिय खेल भलिबलको आयोजना गरिएको गुल्मी भलिबल संघका महासचिव नारायण आचार्यले जानकारी दिए। चार दिन चल्ने खेलमा जिल्लामा १२ वटा स्थानीय तहका खेलाडी सहभागी हुनेछन्।
पुरुष भलिबल खेलमा प्रथम हुनेले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ कप, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै द्वितीय ५५ हजार ५ सय ५५ रुपैयाँ, तृतीया ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वनाले नगद ११ हजार १ सय ११ रुपैयाँ ,कप, मेडल र प्रमाणपत्र पाउने छन्।
त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले ३५ हजार रुपैयाँ, द्वितीय हुनेले २५ हजार रुपैयाँ, तृतीय हुनेले १५ हजार रुपैयाँ र सान्त्वनाले हुने नगद १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
खेलमा राष्ट्रिय स्तरमा खेलेका खेलाडी सहभागी हुन पाउने छैनन्। शनिबार पत्रकार सम्मेलनमा गुल्मी भलिबल संघका अध्यक्ष राजन कुँवर पछिल्लो समय गाउँ शहरमा देशको राष्ट्रिय खेल भलिबल हराउँदै गएकाले यसको संरक्षण र खेलाडी उत्पादन गर्न भलिबल कपले थप टेवा पुग्ने बताए।
कार्यक्रममा आयोजकले पूर्व खेलाडी सम्मान गर्ने भएको छ। भलिबल कपका लागि गुल्मी जिल्लाकै पुरानो तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी प्रेम कुँवरले मुख्य प्रायोजक गरेका छन्। हाल उनी अमेरिकामा बसोवास गर्दै आएका छन्।